रामसार क्षेत्रमा जलवायु परिवर्तन : सङ्कटापन्न चरा लोपोन्मुख, सकसमा आगन्तुक – Nepal Press

रामसार क्षेत्रमा जलवायु परिवर्तन : सङ्कटापन्न चरा लोपोन्मुख, सकसमा आगन्तुक

कैलाली । विश्वमै लोपोन्मुख र संवेदनशील अवस्थाका १३ प्रजातिका चरा पाइने घोडाघोडी ताल क्षेत्र पछिल्लो समय जलवायु परिवर्तनको चपेटामा परिरहेको छ । कैले टाउके हाँस, राज धनेश, राज लाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचीललगायतका दुर्लभ चराहरूको बासस्थलमा समस्या आउँदा तिनीहरू यहाँबाटै लोप हुने खतरामा परेका छन् ।

२००७ सम्म घोडाघोडीमा देखिएको भुरीफोर गरुड त्यसयता देखिएको छैन । बासस्थलमा परेको प्रभावका कारण ती चराहरू घोडाघोडीमा नदेखिएको संरक्षणकर्मीहरूको बुझाइ छ ।

चराविद् हेमसागर बरालका अनुसार केही वर्षदेखि कपिलवस्तुभन्दा पश्चिममा भुरीफोर गरुडले प्रजनन गरेको पाइँदैन । यसकारण पनि भुरीफोर गरुड लोप हुँदै गइरहेको उनको बुझाइ छ ।

‘घोडाघोडीमा पानीको स्रोत सुक्नु नै चराहरूका लागि सबैभन्दा ठूलो समस्या हो’, उनी भन्छन्, ‘जलवायु परिवर्तनको असर यहाँको पानीका स्रोतहरूमा देखिएको छ । त्यसको प्रत्यक्ष असर यहाँका चराहरूमा देखिएका छन् ।’

राज धनेश, राज लाहाँचेलगायतका चराहरू ठूला प्रजातिका सालका रुखहरूका बस्ने गर्छन् । तीव्र वन विनाशका कारण यी चराहरूले पनि आफ्नो बसाइ सारेका छन् ।

केही वर्षअघि वैज्ञानिक वन व्यवस्थापनका नाममा सालका रुखहरू मासिँदा यी चराहरूको बासस्थलसमेत नष्ट भएको पाइएको छ । सीताकुण्ड सामुदायिक वन, लठुवा सामुदायिक वनमा बस्दै आएका राज धनेश र राज लाहाँचे अहिले त्यहाँ पाइँदैनन् ।

उसो त तापक्रममा भएको हेरफेरले केही नयाँ चराहरू पनि पनि देखिन थालेको छ । पहाडी क्षेत्रमा देखिने काँडे भ्याकुर चुरेको फेदीसम्म देखिएको चरा संरक्षण नेटवर्कका अध्यक्ष डीआर चौधरी बताउँछन् । ‘पहिले घोडाघोडी क्षेत्रमा यो चरो देखिएको थिएन । अहिले हामीले देख्यौं । नयाँ बासस्थलको खोजी वा तापक्रममा भएको फेरबदलले यस्तो भएको हुनसक्छ’, उनी भन्छन् ।

नेपालमा अहिले ८८६ प्रजातिका चरा पाइन्छन् । तीमध्ये घोडाघोडीमा मात्रै ३६० प्रजातिका चरा रहेका छन् । माथि उल्लेख गरिएका लोपोन्मुख भनिएका १३ प्रजातिका चरा विश्वमै सङ्कटमा रहेका ४३ मध्येका हुन् । राष्ट्रियस्तरमै सङ्कटापन्न सूचीमा रहेका ५८ प्रजातिका चराको वासस्थान पनि घोडाघोडीमा रहेको छ ।

जलवायु परिवर्तनको असर यहाँका रैथानेभन्दा बढी आगन्तुक चराहरूमा देखिन थालेको छ । ‘यहाँ साइबेरिया र मङ्गोलियाबाट पाहुना चरा आउँछन् । केही वर्षअघि सम्म ती चराहरू अक्टोबरको अन्तिम सातादेखि मार्चसम्म रोकिन्थे । अहिले फेब्रुअरीतिरै फर्किन थालेका छन्’, चौधरी भन्छन्, ‘साइबेरिया र मङ्गोलियामा अत्यधिक चिसो भएपछि ती चराहरू चिसो छल्न घोडाघोडीसम्म पुग्ने गरेका थिए । तर, पछिल्लो समय भइरहेको तापक्रम वृद्धिले उनीहरूको बसाइ छोट्याएको हो ।’

उनको अनुभवमा आगन्तुक चराको बसाइमात्रै छोटिएको नभई उनीहरू आउने संख्या र प्रजातिमा पनि कमी आएको छ, जुन चिन्ताजनक विषय हो ।

मध्य एसिया उडान मार्गसँगै पूर्वी एसिया, अस्ट्रेलिया उडान मार्ग हुँदै पनि यहाँ आउने आगन्तुक चराहरू वर्षाैं पहिले जस्तो लामो समय घोडाघोडीमा बस्न छाड्दै गएको उनले सुनाए । १९ प्रजातिका आगन्तुक चराहरू पहिले २ हजारको संख्यासम्म आएको गरेको तथ्याङ्क भेटिए पनि अघिल्लो वर्ष प्रजाति र चराहरूको संख्या दुइटैमा कमी आएको छ ।

घोडाघोडीमा आगन्तुक चराको संख्यामा मात्रै होइन प्रजातिमा पनि कमी आएको छ । ‘मङ्गोलियाबाट करिब ३ हजार किलोमिटर र रसियाबाट ५ हजार किलोमिटरको यात्रा तय गरेर आउने चराहरूको बसाइ छोटो हुनुमा बढ्दो शहरीकरण, तापक्रम वृद्धि, जलवायु परिवर्तन नै कारक देखिन्छ’, चौधरीले थपे ।

बासस्थल, आहारा र तापक्रममा परिवर्तन आउँदा आगन्तुक चराहरूले आफ्नो गन्तव्य फेरिरहेको बरालको अध्ययनले पनि देखाएको छ । साइबेरिया र मङ्गोलियाबाट मात्र होइन दक्षिण भारत, श्रीलङ्का, बङ्गलादेश, थाइल्यान्ड, माल्दिभ्सलगायतका देशबाट कोइली प्रजातिका चराहरू घोडाघोडीमा प्रजनन गर्न आउँछन् । हिरुलालका अनुसार भने यी देशहरूबाट आउने चराहरूको बासस्थल पनि परिवर्तन हुन लागेको छ ।

संसारमा चराका ९ वटा उडान मार्ग रहेको बताइन्छ । आगन्तुक चराहरूको नेपालमा दुई वटा उडान मार्ग पर्दछ । मध्य एसिया उडान मार्ग हुँदै ३ सय प्रजातिका चराहरू घोडाघोडी पुग्छन् । त्यसमा फिस्टे चराहरू, हाँस प्रजातिका चराहरू, सामुन्द्रिक चराहरू पर्छन् । कहिलेकाहीं खोया हाँस पनि यहाँ देखिने गरेको छ ।

बासस्थलमा प्रभाव

सन् २००० बाट घोडाघोडी ताल क्षेत्रमा चरा गणना सुरु भएको थियो । त्यो वेला यहाँ एक हजारको संख्यामा हरिहाँस रहेको तथ्याङ्क पाइन्छ । त्यही आधारमा २००३ मा घोडाघोडीलाई रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो । तर, सन् २००९ मा हरिहाँस गणना गर्दा यसको संख्या जम्मा १४५ पाइयो ।

‘यहाँ अहिले चराको बासस्थलमा सबैभन्दा धेरै समस्या भएको छ’, पक्षी संरक्षण सङ्घका हिरुलाल चौधरी भन्छन्, ‘मानवीय गतिविधिले तिनीहरूलाई अवरोध भएको छ । तिनीहरूको प्रजननस्थलको संरक्षण हुन नसक्दा हरि हाँसको संख्या एकाएक घटेको हुनसक्छ ।’

सन् २००३ देखि २००९ सम्म यहाँ सबैभन्दा धेरै चरा लोप भएको तथ्याङ्क पाइन्छ । सन् २००३ मा २० हजारको संख्यामा जलपंक्षी भेटिएको घोडाघोडीमा त्यसको ६ वर्षपछि सन् २००९ मा ७५२ मा झरेको थियो । चरा संरक्षणमा थुप्रै काम हुँदा पनि अहिलेसम्म सन् २००३ मा देखिएको संख्यामा यहाँ जलपंक्षी देखिएको छैन । अघिल्लो वर्ष यहाँ २ हजार ५८ वटामात्रै जलपंक्षी देखियो ।

जलवायुका कारणबाहेक चराहरूको शिकार हुने र संरक्षण नहुने हुँदा पनि धेरै संख्यामा चरा लोप भएको बताइन्छ । हरिहाँसको कुरा गर्दा नेपाल पक्षी संरक्षण संघको अघिल्लो वर्षको तथ्याङ्कअनुसार यहाँ ४०० को हाराहारीमा हरिहाँस फेला परेको थियो । यो संख्या सन् २००३ को तुलनामा आधाभन्दा पनि कम हो । सन् २००३ को गणनामा घोडाघोडीमा १ हजारको संख्यामा हरिहाँस फेला परेको थियो ।

सन् २००३ देखि २००९ सम्म सामुदायिक वन बनाउने भन्दै स्थानीयस्तरमा वनजङ्गल हस्तान्तरण गर्दा हरिहाँसलाई प्रजनन गर्न आवश्यक पर्ने रुखहरू नोक्सान भएको संरक्षणकर्मीहरूको बुझाइ छ । हरिहाँसले ठूला, सुकेका रुखहरूमा अण्डा पार्ने र त्यही बच्चा कोरल्ने गर्दछ । पछिल्लो समय यस्ता रुखहरू कटान भएका कारण बच्चा कोरल्ने ठाउँको अभाव भएको छ ।

‘अन्डा पार्ने स्थान नपाउनु र अन्डाहरू जोगाउन नसक्नु नै हरिहाँस घट्नुको कारण हो’, चौधरीले भने । घोडाघोडीमा प्रजनन गर्ने वातावरण खल्बलिँदै गएपछि यहाँ प्रजनन गर्ने रैथाने चराहरूले पनि प्रजनन स्थान परिवर्तन गरेको पाइएको छ ।

घोडाघोडी ताल क्षेत्रमा साना-ठूला गरी २४ ताल छन् । तीमध्ये वर्षभरि घोडाघोडी र नकरोड तालमा मात्रै पानी रहन्छ । अन्य केही तालमा माछा मार्ने उद्देश्यले स्थानीयले पानी सुकाउने गर्छन् भने केही अहिले गौचरमा परिणत भइसकेका छन् ।

घोडाघोडी जनजागरण मञ्चका अध्यक्ष हेम बम भन्छन्, ‘यहाँका अधिकांश तालहरूमा अहिले पानी छैन । तालमा पानी नहुँदा जलपंक्षीहरु लोप भएका छन् । पहिले निरन्तर पानी परिरहेको हुन्थ्यो । अहिले त्यस्तो छैन । पानी नपर्दा डँढेलो लागिरहेको छ । यसले पनि यहाँका चराहरूको विनाश भइरहेको छ । नदीमा पानीको सतह घटेको छ, तालमा पानीको अभाव हुन थालेको छ ।’

पछिल्लो समय घोडाघोडी तालको पानीमा अम्लीय तत्त्व पनि बढिरहेको पानीमा खोज अनुसन्धान गर्नेहरू बताउँछन् । मानवीय गतिविधि बढ्नु, पानीको स्रोत कम हुँदै जानु, विषादीको मात्रा बढ्नुले पनि घोडाघोडी तालको पानीमा अम्लीय तत्त्व बढेको पानीमा खोज तथा अनुसन्धान गरिरहेकी डा. रामदेवी तचामो शाह बताउँछिन् ।

यसले जैविक विविधतालाई असर गर्ने र जैविक विविधतामा असर पुग्दा सबै क्षेत्रलाई प्रभाव पार्ने उनको भनाइ छ ।

तालमा पानीको सतह कम भएपछि यहाँ चराको बासस्थलसमेत नष्ट भएको पक्षी संरक्षण सङ्घ नेपालकी कार्यकारी निर्देशन इसाना थापा बताउँछिन् । बासस्थल, आहारा र तापक्रममा आएको परिवर्तनका कारण घोडाघोडीमा आउने चराहरूको संख्यामा कमी आएको र यो संवेदनशील विषय भएको उनको भनाइ छ ।

‘पछिल्लो समय त्यहाँ पानीको सतह कम भएको छ । त्यसले चराहरूको बासस्थलमा मात्रै प्रभाव परेको हैन आहाराको पनि कमी भइरहेको छ । त्यही कारण घोडाघोडीमा आउने चराहरूको संख्या कम भएको छ, यो चिन्ताजनक विषय हो’, उनले भनिन् ।

हाँस प्रजातिका जलपंक्षीले १० अण्डा पार्दा ९० प्रतिशतबाट बच्चा हुने गरेको थियो । तर, अहिले ४० प्रतिशतबाट बच्चा नहुने गरेको तथ्याङ्क छ ।

अण्डाबाट बच्चा नहुनुमा तापक्रममा मात्र नभई विषादीको बढी प्रयोग पनि कारक हुन सक्ने पानी विशेषज्ञ छत्रमणि शर्मा बताउँछन् । उनका अनुसार क्याल्सियमको मात्रामा कमी आउँदा यस्तो समस्या आउनसक्छ ।

‘अण्डाबाट बच्चा नहुने क्रम बढ्नुको कारण अध्ययन गरेरमात्र भन्न सकिन्छ’, उनले भने, ‘यसमा तापक्रममा भएको परिर्वनसँगै विषादीको बढ्दो प्रयोग पनि हुनसक्छ । ’

घोडाघोडीलाई अघिल्लो वर्ष फागुन २७ गते नेपालकै पहिलो वर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषित गरिएको थियो । यसपछि संरक्षणका केही आयामहरू थपिने अपेक्षा गरिएको थियो । तर, अहिलेसम्म त्यसको ठोस कदम नचाल्दा चरा अभय आरण्य घोषणा भए पनि सङ्कटापन्न तथा आगन्तुक चराहरूको संख्यामा वृद्धि हुने आशाभन्दा आशङ्का बढी छ ।

तस्बिरहरु : हिरुलाल चौधरी र हरि तिवारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर