मकालु आधार शिविरमा नियमित ओहोरदोहोर गर्दा खर्च होइन उल्टै आम्दानी गर्छन् गणेश – Nepal Press

मकालु आधार शिविरमा नियमित ओहोरदोहोर गर्दा खर्च होइन उल्टै आम्दानी गर्छन् गणेश

इटहरी । संखुवासभाको मकालु आधार शिविरमा निरन्तर ओहोरदोहोर गर्ने गणेश गुरुङ ट्रेकिङ गाइड हैनन् ।  पोर्टर पनि हैनन् न त हुन् मकालु क्षेत्रका टिहाउस सञ्चालक । मकालु क्षेत्रमा सयौं पटक ओहोरदोहोर गर्ने उनी नै हुन् घुमन्ते । असोजदेखि मंसिरसम्मको यो वर्षको मकालु ट्रेकिङ सिजनमै उनी चारपटक आधार शिविर पुगे । भदौ र असोजमा मात्रै दुईदुई पटक पुगे ।

विश्वको पाँचौं अग्लो चुली मकालु क्षेत्रको ट्रेकिङ रुटमा नियमित ओहोरदोहोर गर्ने गुरुङ मकालु गाउँपालिका वडा नम्बर २ को नागा गाउँका रैथाने हुन् । सोलार प्राविधिक उनी सोलार जडान र मर्मत गर्न मकालु आधार शिविर क्षेत्रका विभिन्न भागमा पुगिरहेका हुन्छन् । नेपालप्रेससँग मकालु आधार शिविर यात्राको रमाइलो पक्षको प्रश्नमा गुरुङ हाँस्दै भन्छन्, ‘अरु खर्च गर्न जान्छन्, म कमाउन ।’

संखुवासभाको सदरमुकाम खाँदबारीबाट नुमसम्म सडक छ । बिजुली छ । त्यहाँभन्दा माथि सोलारकै प्रयोग हुन्छ । मकालु वरुण राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सेदुवा, पदयात्राको क्रममा आउने डाँडाखर्क, खोङ्मा, ठूलो डाँडा (सिप्टोन ला पास), दोबाटो, फेमाताङ, याङ्लेखर्क, टाडोसा, लाङ्माले हुँदै आधार शिविरमा बनेका टिहाउसहरुमा सोलारकै सहारा छ । पर्यटकहरुको मोबाइल चार्ज गर्न र बत्ती बाल्न सोलारकै प्रयोग हुन्छ ।

मकालु क्षेत्र सोलार ऊर्जाले नै उज्यालिएको छ भन्दा हुन्छ । ‘ट्रेकिङ गर्दा टासी गाउँमा मात्रै पेल्ट्रिक सेट छ राति बिजुली आउँछ’, मकालु क्षेत्रको सोलार बिजुलीको आधारबारे गुरुङ भन्छन्, ‘अन्त सबैतिर सोलारमात्रै छ ।’

सोलारले उज्यालिएको मकालु क्षेत्रमा मोबाइल नेटवर्क धेरै स्थानमा टिप्दैन । खोङ्मासम्म दुःखसुख टावर आउँछ । त्यहाँभन्दा माथि करिब एक हप्ता पर्यटकलाई ओहोरदोहोर समय लाग्ने क्षेत्रमा टावर नटिप्ने गुरुङ बताउँछन् । टावर नटिप्दा पर्यटकलाई मात्रै हैन व्यवसायीलाई पनि हैरान छ । ‘माथि माथिको त सोलार बिग्रियो भने मलाई बोलाउन मान्छे नै पठाउँछ’, गुरुङ भन्छन्, ‘मान्छे आएपछि म पनि उनीहरुसँगै जाने हो ।’

३४ वर्षका गुरुङले सोलार क्षेत्रमा हात हालेको १४ वर्ष भयो । उनलाई संखुवासभाकै धुपु क्षेत्रका हीरामणि खड्काले सोलार प्रविधिका टाकनटुकन सीप सिकाएका थिए । आधा वर्षमै उनले सोलारका सबै प्रविधिबारेमा पोख्त हुन पाए । सोलार प्राविधिक भएको झन्डै डेढ दशकको अवधिमा मकालु क्षेत्रमात्रै हैन संखुवासभामै सोलारको प्रयोगमा पृथकता आएको अनुभव छ गुरुङको ।

‘मैले सोलार सिक्दा खाँदबारीबाट नुमसम्म गाडी थिएन, नुममा पनि सोलार प्रयोग हुन्थ्यो’, गुरुङ भन्छन्, ‘अहिले नुममै गाडी आउँछ । केन्द्रीय लाइन आएपछि सोलार प्रयोग हुँदैन ।’

इटहरीबाट होलसेलमा खरिद गरिएका सोलार प्यानल र अरु आवश्यक सामग्री खाँदबारीको धौलागिरी सोलारमा पुग्छ । त्यहाँबाट लिएर गुरुङले गाउँगाउँमा पुर्‍याउँछन् । उनलाई मकालु क्षेत्रका कसको टिहासउमा कत्ति क्षमताको सोलार छ भन्ने सबै जानकारी छ ।

‘बेस क्याम्पका याङ्जी शेर्पाकोमा ४० वाटको, लाङ्मालेका रेन्जी शेर्पाकोमा पनि ४० वाटकै छ’, गुरुङ भन्छन्, ‘लाङ्मालेका दोर्जी शेर्पाकोमा ३१५ वाटको, फोमाताङका दाबा शेर्पाकोमा ८० वाटको, खोङ्माको शिवधारा भ्यूमा १०० वाटको र डाँडाखर्कमा किपा शेर्पाकोमा २० वाटको छ ।’

डाँडाखर्कमा सबैभन्दा सस्तो १४ हजार र याङ्लेखर्कमा सबैभन्दा महँगो डेढ लाखको सोलार जोडेको गुरुङको अनुभव छ । सस्तो सोलारमा बत्तीमात्रै पुग्ने र महँगोमा फ्रिजदेखि टीभी अनि मोबाइल चार्ज सबै पुग्ने गुरुङ बताउँछन् । तर, घाम नलागेका दिनहरुमा भने सोलारले पूरा क्षमतामा काम गर्न नसक्ने उनको भनाइ छ ।

सेदुवाबाट आधार शिविर पुग्न पर्यटकलाई ६ दिन हाराहारी लाग्छ । गुरुङ भने साढे दुई दिनमै पुग्छन् । उनलाई सबै टिहाउस सञ्चालकले चिन्छन् । पैसा पर्यटकको दरमा लिँदैनन् । ‘मलाई खाको सुतेको चार पाँच सयमात्रै लिन्छ’, गुरुङ भन्छन्, ‘कतिले त पैसा पनि लिँदैन ।’

गुरुङ सोलार मर्मत गर्न आधार शिविर जाँदा दिनको २५ सय भत्ता लिन्छन् । मर्मत गरेको ३ हजार लिन्छन् । यति रकम सोलारवालाहरुले सहजै तिर्छन् । कारण उनी अरु प्राविधिकहरुभन्दा सस्ता छन् । सहज छन् । ‘हाम्रोमा १४ जना जतिलाई सोलारको काम गर्न आउँछ । तर, दामै धेरै भन्छ’, गुरुङ भन्छन्, ‘त्यै भएर मलाई नै धेरैले बोलाउँछन् ।’

डेढ दशक लामो सोलार क्षेत्रको अनुभव भएका गुरुङको सोलार नै हो भातभान्साको माध्यम । तर, गुरुङ अब गाउँमा केन्द्रीय लाइनकै बिजुली आउनुपर्छ भन्ने पक्षमा छन् । आफ्नो सेदुवा गाउँमै अहिलेसम्म केन्द्रीय बिजुली नआउँदा गुरुङलाई आफ्नो व्यापार राम्रो भयो भनेर आनन्द आएको छैन । बरु, गाउँमा सोलारको मात्रै भर पर्नुपरेकोमा तनाव छ ।

‘गाउँमा केन्द्रीय लाइन नहुँदा मलाई फाइदा नै फाइदा छ किनभने मेरो व्यापार चल्छ’, सेदुवा बजारमा सोलार पसल राखेका गुरुङ भन्छन्, ‘गाउँमा केन्द्रीय बिजुली आउँदा सबैलाई फाइदा छ । म सबैको फाइदाको पक्षमा छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *