लुम्बिनीका मुख्यमन्त्रीले मध्यराति दाङ सारे मन्त्रालय – Nepal Press

लुम्बिनीका मुख्यमन्त्रीले मध्यराति दाङ सारे मन्त्रालय

रूपन्देही । स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सामान रातारात दाङ लगिएको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा मध्यरातमा तीनवटा ट्रकमा सामान लोड गरी दाङ पुर्‍याइएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्माले राति १२:४० मा दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालय सार्न सकेको फेसबुकमा लेखेका छन् ।

लुम्बिनी सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको बताए । उनका अनुसार अबदेखि मुख्यमन्त्री कार्यालयको काम दाङबाटै हुनेछ ।

‘अब मुख्यमन्त्री कार्यालय बुटवलमा खुल्दैन, सामान र कार्यालय व्यवस्थापन भएपछि दाङमै खुल्छ,’ शर्माले नेपाल प्रेससँग भने ।

यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पुर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालय नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो । नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित चार सांसद लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले संयुक्त प्रेस विज्ञप्तिमार्फत नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालय सार्ने कार्य तत्काल रोक्न माग गरेको थियो ।

यसअघि नै गृहमन्त्री बालकृष्ण खाणले जबर्जस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर ल्याउने चेतावनी दिएका थिए । गृहमन्त्री खाणले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर सचेतसमेत गराएका थिए ।

मध्यराति सुटुक्क मन्त्रालय सार्ने मुख्यमन्त्रीको कदमले प्रदेशमा राजनीतिक द्वन्द्व बढाउने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर