‘एक्काइसौं शताब्दीलाई सुकुमबासी भ्रुणको गाली’
‘सुकुमबासी समस्या’ भन्ने फ्रेजसँग मलाई आपत्ति छ : कवि विनोदविक्रम केसी
काठमाडौं । ‘भूईंमान्छेका कवि’ को रुपमा परिचित छन् विनोदविक्रम केसी । उनका अधिकांश कविताले समाजका उपेक्षित र उत्पीडित तप्काको समर्थनमा आगो ओकल्छन् ।
यतिवेला काठमाडौं महानगरपालिका र काठमाडौंका सुकुमबासीबीच टकराव चलिरहेको छ । केही दिनअघि महानगरपालिकाले डोजर ल्याएर थापाथलीको सुकुमबासी बस्ती भत्काउने प्रयास गर्यो । यसयता देशभरका सुकुमबासीहरु आन्दोलित छन् । अनि, विनोदविक्रम जस्ता कवि उनीहरुको पक्षमा नउभिइरहन कसरी सक्थे ।
प्रायः अखबारका पानामा आफ्ना कवितात्मक आक्रोश पोख्ने विनोदविक्रम हिजो सामाजिक सञ्जालमै पोखिए । त्यो पनि भिडियोमा । उनले सुकुमबासीको समर्थन र सहानुभूतिमा आफ्नो कविता वाचन गरेर सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । उनले सुनाएको ‘एक्काइसौं शताब्दीलाई सुकुमबासी भ्रुणको गाली’ शीर्षकको कविताले गरिबका झुपडीमा डोजर लगाउने महानगरको प्रयासलाई कठोर प्रहार गरेको छ ।
समाजको ठूलो तप्का सुकुमबासीको नाममा हुकुमबासीले सरकारी जग्गा कब्जा गरेको विश्वास गर्छन् र अहिले महानगरको कदमलाई समर्थन गरिरहेका छन् । यस्तोमा कवि केसीले खुलेर सुकुमबासीको पक्षमा कलम चलाउने साहस किन गरे ?
कवि केसी महानगरका मेयर बालेन्द्र शाहप्रति कटाक्ष गर्दै भन्छन्, ‘दक्षिण भारतीय स्टाइलको ‘हिरोइजम’ हानिकारक हुन्छ । फिल्ममा यस्तो स्टारडमले काम गर्ला, यथार्थ दुनियाँमा काम गर्दैन ।’
उनलाई सबैभन्दा पहिले त ‘सुकुमबासी समस्या’ भन्ने ‘फ्रेज’सँग नै आपत्ति छ ।
‘हामी को हौं, सुकुमबासीलाई समस्या भन्ने ? यो शासकीय दृष्टिकोण हो । कोही दुःखी देख्नासाथ हामीलाई शासककै भाषा बोल्नुपर्ने ?’ केसी आक्रोश पोख्छन् ।
उनले थपे, ‘प्रथमतः सुकुमबासी मान्छे हुन् । मान्छे भनेका प्लास्टिकका पुतला होइनन् । हाडमासुले बनेको मान्छे यो धर्तीमा जन्मिनासाथ नैसर्गिक अधिकार लिएर आएको हुन्छ । त्यो भनेको सम्मानसाथ बाँच्न पाउने अधिकार हो ।’
यो कविता प्रकाशित भएपछि केहीले उनलाई फोन गरेर भने, ‘छद्मभेषी सुकुमबासी, नक्कली सुकुमबासीका बारेमा त कविताले केही पनि बोलेन नि ?’
उनले उत्तर दिए, ‘ए भाइ, मैले जानेअनुसार यो दुनियाँमा ९० करोडभन्दा बढी सुकुमबासी छन् । अब यिनमा को-को छद्मभेषी हुन्, त्यो खोज्दै हिँड्ने काम कविको होइन । कविले त बेठीक भएकोलाई बेठीक भन्ने हो, अन्यायलाई अन्याय भन्ने हो ।’
आफूले बालेनको विरोध भन्दा पनि सत्ताको नृशंस चरित्रको विरोध गरेको केसी बताउँछन् ।
‘म थुप्रै सुकुमबासी बस्ती घुमेको छु । यस्ता बस्तीको जिन्दगीका अनेक आयाम देखेको छु । तपाईं जब दृश्यहरुसँग साक्षात्कार हुनुहुन्छ, त्यसपछि तपाईंको दृष्टिकोण बन्छ । सुकुमबासी बस्तीमा गएर हेर्नुहोस् न, सुँगुरका विष्ठा र कुखुराको सुलीमा लडिबुडी गरेर बालबच्चा हुर्किरहेका छन् । के यो एक्काइसौं शताब्दीका लागि सरमको विषय होइन ? डोजर लिएर बस्ती भत्काउन आएको सत्तासँग ज्यान जोगाउन एउटी सुत्केरी महिला २० दिनको नवजात शिशुलाई बोकेर भागिरहेकी थिइन् । बालेनको हाई हाई गरिरहेका ‘सबै’ले मानवताका खातिर पनि लज्जा मान्नुपर्ने विषय होइन यो ?’
‘शहर सबैको हो । शहर मात्रै किन ? देश अनि धर्ती नै सबैको बराबर होइन र ? सुकुमबासी विवश मान्छे हुन्, जो ओत लाग्ने ठाउँको खोजीमा शहरको कुनै एउटा हिस्सामा बसेका छन् । जमिन कब्जा गरेर ‘बिजनेस मल’ बनाउने तिनको उद्देश्य हुन्छ र ? भारी बोकेर, डकर्मी काम गरेर, फोहोर उठाउने काम गरेर एक छाक जुटाउने मजदुरहरुलाई अपराधीसरह व्यवहार गर्नेहरु ‘जिनोसाइड’ मच्चाउनेहरुभन्दा कम क्रूर छैनन् ।’
अब, पढ्नुहोस् कवि केसीको कविता
एक्काइसौं शताब्दीलाई सुकुमबासी भ्रुणको गाली
– विनोदविक्रम केसी
अब मलाई जन्मिन हतार भइसक्यो
जन्मनासाथ सात पाइला हिंडेका थिए रे सिद्धार्थ गौतम
त्यसरी मस्त हिँड्नलाई मसँग जमिनै कहाँ छ र ?
त्यसैले
जन्मिनेबित्तिकै
म एक्काइसौं शताब्दीलाई सात गाली दिनेछु
र, हेर्नेछु– मेरा आदिशब्दहरूमा
कसले चलाउँदो रहेछ डोजर ?
आक्रोशको प्रस्तरकलामा नजन्मिँदै सिद्धहस्त भइसकें
यो दुनियाँलाई ढुंगा हान्न लालायित छु
मलाई जन्मिन साँच्चै, साँच्चै हतार भइसक्यो !
बस्तीमा झिल्के चस्मा ढल्काएर प्रलय पसेको दिन
मेरी आमा
पानीको जार काटेर बनाइएका तीनटा गमलामा
फूलका बेर्ना सारिरहेकी थिइन्
मेरी आमालाई फूल असाध्यै मन पर्छ
यदाकदा उनी आफ्नै सपनाको माटोमा
फूल रोपिरहेकी हुन्छिन्
ताण्डवरत डोजर जब हाम्रो झुपडीसम्मुख पुग्यो
मेरी आमा आफ्ना फूलहरू जोगाउन
प्रकट भइन् अकस्मात् खुकुरी नचाउँदै
र, सौन्दर्यको मौखिक इतिहासले
यसरी एउटा वीरांगना प्राप्त गर्यो
तर, पराजित त हुनु नै थियो
डोजरको दाँतीमा अल्झिएका आफ्ना फूलका बेर्ना हेर्दै
खसालेकी थिइन् उनले तेजाबी आँसु
धिक्कार छ, एक्काइसौं शताब्दी !
तँलाई दुःखका फूलहरू मन पर्दैन
सोच्छु कहिलेकाहीं
यहीं, आमाकै गर्भमा बिताइदिऊँ सारा जिन्दगी
यहाँ म झुपडी-बस्तीको एउटा तुच्छ प्रतीक हुँदिनँ
यहाँ मलाई एलिटहरूले ‘फकिङ हेडेक’ भन्दैनन्
यहाँ मलाई शहरको सुन्दरतामा धावा बोलेको आरोप लाग्दैन
र, कुरूपताका पुजारीहरूले कठघरामा उभ्याउँदैनन् मलाई
यहाँ म अवाञ्छित, अमान्छे, अनागरिक हुन्नँ
सोच्छु कहिलेकाहीं
यहीं, आमाकै गर्भमा बिताइदिऊँ सारा जिन्दगी
तर, म कसरी यो निष्ठुर संसारमा
आमालाई एक्लै छोड्न सक्छु
साराका सारा गालीहरू
साराका सारा चोटहरू
एक्लै झेल्न छोडिदिएर
म आमालाई कसरी घात गर्न सक्छु ?
मलाई जन्मिन साँच्चै, साँच्चै हतार भइसक्यो !
हे नदी !
तिमी नै भनिदेऊ
किन मेरी आमालाई तिमी साख्खै दिदीजस्ती लाग्छ ?
वेदना पोख्न सजिलो हुन्छ भनेर
उनले तिम्रो सहारा, तिम्रै किनारा रोजेकी थिइन्
हो कि होइन ?
सत्य–सत्य बताइदेऊ !
उनका सुस्केराहरू मिसिएपछि तिम्रा सुसाइहरूले
थप गुन्जन पाएका हुन् कि होइनन् ?
सत्य–सत्य बताइदेऊ !
के मेरी आमा कब्जा गर्ने खालकी हुन् ?
के दिदीको छातीमा टाउको लुकाएर रूनुलाई
बहिनीले छाती कब्जा गरेको मानिन्छ ?
मेरी आमालाई जमिनको भोक छैन
(मैले जति कसले चिनेको होला उनलाई)
यो पृथ्वी अलिकति मेरो पनि हो भन्ने सिवाय
अरू केही छैन हकदाबी उनको
जिउँदाहरूको बास उखेलेर
मृतकका नाममा ताजमहल बनाउने क्रूर बेहोरा भएको
ए खुनी एक्काइसौं शताब्दी !
यो जमिनको भोकले खानेछ एक दिन तँलाई
अझै छ महिना बाँकी छ…
(उफ्! छ शताब्दीजस्तो यो प्रतीक्षा)
मेरी आमाको पृथ्वीमाथिको दाबीमा
अलिकति तागत थप्न
हतार भइसक्यो मलाई
एक्काइसौं शताब्दीले
मेरो बस्तीलाई दिएका हरेक गालीको
जबाफ फर्काउन हतार भइसक्यो
मलाई आमाको कमरेड हुन हतार भइसक्यो
मलाई जन्मिन साँच्चै, साँच्चै हतार भइसक्यो ।