विराटनगरका मेयर कोइरालाकै घरमा लगाइयो डोजर – Nepal Press

विराटनगरका मेयर कोइरालाकै घरमा लगाइयो डोजर

विराटनगर । विराटनगर महानगरपालिकाले मेयर नागेश कोइरालाको घरमा डोजर चलाएको छ । महानगर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान अन्तर्गत मेयर कोइरालाको विराटनगर-९ जलजला रोडस्थित भाडामा लगाएका पसलले बनाएको अबैध संरचना भत्काइएको हो ।

सञ्चालकले सटर अगाडि आफूखुशी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको हो । नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याकलगायतका अवैध संरचना हटाएको छ । नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए ।

उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको प्रष्ट पारे । ‘परिवर्तन गर्न आफैंबाट सुरु गर्नुपर्छ भन्ने भनाइलाई चरितार्थ गर्दै मेरै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेका छौं’, उनले भने, ‘विराटनगर अब यथास्थितिमा बस्न सक्दैन, विराटनगर प्रदेशको राजधानी पनि हो ।’

अभियान अन्तर्गत महानगर कार्यालय अगाडि रहेका पसल, वडा नम्बर ९ को कार्यालय, बुधहाट चोकस्थित वी प्लटमा अवस्थित पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ । अभियानलाई हरेक दिन सञ्चालन गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर