म्यानचेस्टर सिटीको शानदार लय, च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक – Nepal Press

म्यानचेस्टर सिटीको शानदार लय, च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक

एजेन्सी । सिजनको सुरुआत राम्रो गर्न नसके पनि पछिल्लो दुई महिनादेखि शानदार लयमा देखिएको इंग्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगमा पनि क्वाटरफाइनल नजिक पुगेको छ ।

सिटीले गएराति हंगेरीको बुढापेस्टमा भएको खेलमा जर्मन टोली बोरुसिया मोन्चेनग्लाडबाचबिरुद्ध २–० गोलको अवे जित हासिल गर्‍यो । जारी सिजन सबै प्रतियोगितामा गरी सिटीको यो लगातार १९ औं जित हो ।

अहिलेको स्थितिमा सिटीलाई च्याम्पियन्स लिगको सबैभन्दा दावेदार टोलीका रुपमा हेर्न थालिएको छ । पहिलोपल्ट च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा रहेको सिटीले अन्तिम–१६ मा उत्कृष्ट प्रदर्शन गरेको थियो । तर दोस्रो लेगको खेल बाँकी नै रहेकाले अहिले नै उपाधिको चर्चा गर्नु हतारो हुन सक्छ ।

२९ औं मिनेटमा जोआओ क्यान्सेलोको क्रसमा बर्नान्डो शिल्भाले शानदार हेडर गोलमार्फत पहिलो हाफमा सिटीलाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा शिल्भाको पासमा गाव्रियल जेससको महत्वपूर्ण दोस्रो अवे गोल गरे ।

मोन्चेनग्लाडबाचले ४३ वर्षपछि पहिलोपल्ट च्याम्पियन्स लिगको नकआउट चरण खेलेको हो । उसले जवाफी गोल गर्न नसके । उनीहरुबीचको दोस्रो लेग मार्च १६ मा इथिहाड रंगशालामा हुनेछ ।

अर्को खेलमा स्पेनको रियल मड्रिडले इटलीको एटालान्टामाथि १–० गोलको महत्वपूर्ण अवे जित निकाल्यो । खेलको १७ औं मिनेटमै १० खेलाडीमा समेटिएको घरेलु टोली एटालान्टामाथि गोल गर्न रियललाई अन्तिम मिनेटसम्म प्रयास गर्नुपर्‍यो ।

खेलको समय सकिनु ४ मिनेटअघि लुका मोड्रिचको पास सदुपयोग गरी बेन्जामिन मेन्डीले निर्णायक गोल गरेका थिए । उनै मेन्डीको निश्चित गोल अवसरमा फल गरेका एटालान्टाका डिफेण्डर रेमो फ्रेलर १७ औं मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए ।

मार्च १६ मा हुने दोस्रो लेगमा एटालान्टाले सान्टियागो बर्नबाउमा गोल गर्नैपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर