कतारमा विश्वकप हेरेर फर्केका बद्री पंगेनी भन्छन्- अद्भूत अनुभव भयो
‘विश्वकपले दैनिक रुटिन भताभुंग भएको छ’
काठमाडौं । चर्चित लोकगायक बद्री पंगेनी फुटबलका कडा पारखी हुन् । उनी अहिले कतारमा जारी विश्वकप फुटबलका केही म्याच प्रत्यक्ष हेरेर भर्खरै फर्किए ।
आफ्नै खर्चमा कतार पुगेर फर्केका पंगेनीले त्यहाँ समूह चरणाका ५ वटा खेल हेरेको बताए । अहिले भने टिभीमा नै हेरेर विश्वकपको आनन्द लिइरहेका छन् । पोर्चुगलका सुपरस्टार रोनाल्डोका फ्यान पंगेनी अहिले केही निराश छन् । रोनाल्डोलाई कोचले बेञ्चमा राखेको उनलाई पटक्कै मन परेन । पोर्चुगल आउट भएपछि रोनाल्डोको रुवाइले उनको मन भत्भती पोल्यो ।
खैर । आजबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछन् । उनी अब मेस्सीको अर्जेन्टिनालाई समर्थन गर्नेछन् । यद्यपि, यसपालीको विश्वकपमा फ्रान्स बलियो देखिएको पंगेनी बताउँछन् ।
नेपालको शहीद स्मारक लिगदेखि भारतको इन्डियन प्रिमियर लिग र च्याम्पियन्स लिगसम्मका म्याचहरू भ्याएसम्म हेर्ने पंगेनीले यस विश्वकपका एउटा म्याच पनि हेर्न छुटाएका छैनन् । उनै फुटबल क्रेजी गायकसँग गरिएको यो विश्वकप संवादः
– तपाईंलाई विश्वकपको ज्वरोले कतिको छोएको छ ?
मलाई विश्वकपको ज्वरोले हाई डिग्रीमै छोएको छ भन्दा हुन्छ । विगतका विश्वकपले भन्दा यसपालिको विश्वकपको रौनक धेरै छाएको छ । हर्षित, उत्साहित र जिज्ञासु बनाएको छ ।
यसपालीको वर्ल्डकपकले छुनुको विशेष कारण भनेको हाम्रो नेपाली दाजुभाई पनि हुन् । लाखौँ नेपालीहरूको पसिना मिसिएर बनेको स्टेडियम र श्रम गरेको देश हो कतार । अर्को हाम्रो छिमेकी देश भन्दा पनि खासै फरक नपर्ने देश, किनकी दूरीको हिसाबले हेर्ने हो भने अरु बेलामा भन्दा यसपालि अलि निकट देशमा वर्ल्डकप आयोजना भएको छ । फुटबलप्रेमीको नाताले झन् नछुने त कुरै भएन ।
त्यही हो, हेरिरहेको छु र एकदमै मनोरञ्जन लिइरहेको छु ।
– भन्नाले तपाईंले यसपालिको वर्ल्डकपलाई विशेष मान्नुको कारण नेपाली दाजुभाइहरुको पसिना मिसिएको रंगशाला हो ?
त्यतिमात्र पनि होइन । म आफैँ एक फुटबलप्रेमी हो । त्यसमा पनि निकट देशमा आयोजना भएको छ । अझ विशेष हुनुको कारण भनेको मैले प्रत्यक्ष रुपमा हेरेको विश्वकप हो यो । मैले त्यहाँ पुगेर ५-६ वटा म्याचहरु हेर्ने अवसर पाएँ । म अस्ति भर्खर मात्र फर्किएको हो । संख्याकै कुरा गर्ने हो भने पनि अधिकतम नेपालीहरूले प्रत्यक्ष रूपमा नियाल्न पाएको विश्वकप हो यो ।
– प्रत्यक्षरूपमा रंगशालामा नै विश्वकप हेर्ने संयोग कसरी जुर्यो र कस्तो महसुस भयो ?
प्रत्यक्षरूपमा विश्वकप हेर्न पाउनुको आनन्द शब्दमा बयान गर्न सक्दिनँ । मैले त्यहाँका भौतिक संरचनाहरू, व्यवस्थापनहरू र ती व्यवस्थापनहरूमा नेपाली दाजुभाइ-दिदीबहिनी भेटिनुमा एउटा नयाँ किसिमको अनुभव प्राप्त गरेँ ।
जहाँसम्म कसरी संयोग मिल्यो भन्ने प्रश्न छ, हामी कलाकारहरू कहीँ गएको देख्नेबित्तिकै यो त स्पोन्सरमा गएको होला भन्ने दर्शकहरूको मनमा पर्दो रहेछ । (हाँस्दै) यो खासै भन्नुपर्ने विषय त होइन । तर मान्छेहरूमा कलाकारहरू प्रायः अर्काको खान्छन्, अनि अर्काको पैसामा हिँड्छन् भन्ने मनसाय बसेको रहेछ । तर म कुनै स्पोन्सरमा गएको हैन ।
जब मैले २०१८ को विश्वकप पछाडि २०२२ को विश्वकप कतारमा हुँदैछ भन्ने थाहा पाएँ, त्यही बेलादेखि समयमा नै मैले योजना बनाइसकेको थिएँ । यति नजिकै फेरि विश्वकप होला-नहोला, मैले प्रत्यक्षरूपमा हेर्न पाउँला, नपाउँला । त्यसैले यसपालि म अवसर गुमाउँदिन भन्ने थियो । कतारमा मेरो एकजना आर.के शर्मा भन्ने दाइ हुनुहुन्छ । उहाँ कतारको एक समाजसेवी पनि हो । उहाँसँग सम्पर्क गरेर आफ्नै खर्चले विश्वकप हेर्न गएको हुँ ।
– स्पोन्सरबिना गएँ भन्नुभयो, त्यहाँ विश्वकप हेरेर आउँदा जम्मा खर्च कति भयो ?
इमान्दारीपूर्वक भन्नुपर्दा मैले आउने-जाने खर्च आफैँ गरेको हो । मैले त्यहाँ पाँचवटा गेम हेरेँ । विश्वकपको एउटा टिकट मलाई आरके शर्मा दाइले मिलाइदिनुभएको थियो । अर्को टिकट मैले माया केसी बहिनीबाट पाएँ । उहाँ हाम्रै गाउँ पाल्पाको हो । अहिले कतारमा हुनुहुन्छ । अर्को कृष्ण ढकालजीले व्यवस्थापन गर्दिनुभयो । र, अरु दुईवटा भने म आफैंले प्रतिटिकटको हजार रियल तिरेर लिएको हो ।
– कुनै समय प्रत्यक्षरूपमा विश्वकप हेर्न पाउँछु भन्ने सोच्नुभएको थियो ?
थियो । फुटबलप्रेमी भएकोले गर्दा कुनै न कुनै समयमा गएर विश्वकप हेर्छु भन्ने थियो । हेरेँ पनि । फुटबल मात्र होइन, मलाई क्रिकेट विश्वकप पनि प्रत्यक्षरुपमा हेर्ने रहर छ । योजना बनाइरहेको छु । हेरौँ के हुन्छ ।
– कुन-कुन खेलहरूमा तपाईं रुचि राख्नुहुन्छ ?
कुन-कुनमा रुची छ भन्दा पनि कुन-कुनमा रुचि छैन भन्ने प्रश्न मेरो लागि उत्तम होला । विशेषत: फुटबल र क्रिकेट मनपर्छ । यस बाहेकका लगभग सबै खेलहरूमा मलाई रुचि छ ।
– तपाईं फुटबलमा कुन टिमको पक्षमा हो ?
म नेपालको राजनीतिक दलको कार्यकर्ताजस्तो कसैको उग्र समर्थक होइन । तर, समर्थनकै कुरा गर्दाखेरि रोनाल्डोले जितोस् भन्ने थियो । रोनाल्डोलाई जुन किसिमको व्यवहारहरू भयो, त्यो सह्य थिएन । यस्तो हुन्छ भन्ने कसैले साचेको पनि थिएनन् होला ।
जितकै हिसाबमा कुरा गर्ने हो भने, सुरुवाति दिनदेखि नै इङ्गल्याण्ड र फ्रान्समा एउटाले जित्छ भन्ने थियो । फ्रान्सले विश्वकप जित्छ भन्ने मेरो अनुमान हो । तर, अर्जेन्टिना पनि भएकोले गर्दा, मेस्सीले जितोस् भन्ने पनि छ ।
– विश्वकपका कुन-कुन म्याचहरु हेर्नुभयो ? सबैभन्दा राम्रो लागेको म्याच कुन हो ?
मैले अहिलेसम्म एउटा पनि म्याचहरू छुटाएको छैन । म सबै हेर्छु । रमाइलोको कुरा गर्ने हो भने अर्जेन्टिनासँग भएका म्याचहरू रोचक लागेका छन् । राम्रोको कुरा गर्ने हो भने, फ्रान्स । त्यसपछि क्रोयसिया । हुन त, क्रोयसियाको खेल पहिला पनि राम्रो नै हो । तर, २०१८ को भन्दा यसपालि अझ सुधार पाइयो ।
– यहाँ टिभीमा हेर्दा चाहीँ कहाँ र कोसित बसेर विश्वकप हेर्नुहुन्छ ?
यसपालिको विश्वकप प्रायः साथीहरूसँग बसेर हेर्ने संयोग मिलिरहेको छ । तर मलाई भने एक्लै बसेर आनन्दले हेर्न मनपर्छ । एक्लै बस्दा ध्यान दिएर हेर्न पाइन्छ । ग्रुपमा बस्दा कुराहरु हुन्छन्, ध्यान यताउता हुन्छ । त्यसैले मलाई एक्लै बसेर, ध्यान दिएर, मन्त्रमुग्ध भएर, संसार बिर्सेर हेर्न मनपर्छ ।
– अहिलेसम्म कुनै टिमले हार्दा रुनुभएको छ कि छैन ?
रुनेभन्दा पनि अस्ति पोर्चुगल र मोरक्कोको खेलमा रोनाल्डो बाहिर बसेको देख्दा र अन्तिममा रुँदै निस्किएको देख्दा भने भावुक भएको थिएँ । ऊ रोएको देखेर मात्र होइन कि समग्र कुरा सोचेर भावुक भएको हो ।
हामी मान्छेहरु यति स्वार्थी छौँ कि बलेको आगोमात्र ताप्छौँ । हिजो रोनाल्डो उत्कृष्ट खेलाडी हुँदा सबैले हाईहाई गरे । काँधमा बोके । सबैले रोनाल्डो रोनाल्डो भने । सबै कोचले माया गरे । सबै क्लबहरूले तानातान गरे । जब अलिकति खस्केजस्तो वा भनौँ एक-दुईवटा खेल खेल्न सकेन तब यस्तो व्यवहारहरु देखाइयो । मलाई हेर्दै नमज्जा लाग्यो ।
रोनाल्डो भनेको खेलको अलौकिक प्रतिभा हो । उसलाई गरेको यस्ता अपाच्य व्यवहारले गर्दा म उसको झन् ठूलो समर्थक भएको छु । उसले हारोस् या जितोस् तर म सधैँ रोनाल्डोलाई समर्थन गर्नेछु ।
– तपाईंले कति सालदेखि विश्वकप हेर्न थाल्नुभएको हो ?
१९९४ सालदेखि ।
– सुरु-सुरुमा घरमा टिभी नहुँदा विश्वकप कसरी हेर्नुहुन्थ्यो ?
पहिला घरमा टिभी नहुँदा हामी रेडियोमा विश्वकप सुन्थ्यौँ । टिभी त पछि आयो । तर, म फुटबल पारखी भएको र फुटबलको धेरै कुराहरु थाहा भएकोले गर्दा रेडियोमा सुन्दा पनि हेरेजस्तै अनुभूति हुन्थ्यो ।
– यो विश्वकप कसले जित्ला जस्तो लाग्छ ?
मेरो अनुमान, फ्रान्स । तर, मेस्सीको यो अन्तिम खेल भएकाले गर्दा उसको टिमले जितोस् भन्ने मेरो कामना छ ।
– अहिलेसम्म विश्वकपमा बाजी थाप्नुभएको छ कि छैन ?
छैन-छैन । बाजी थाप्ने मान्छे नै भेटेको छैन । (हाँस्दै) तपाईं र म थाप्ने भए थापौँ ।
– विश्वकपले तपाईंको डेली रुटिन बिग्रिएको छ कि छैन ?
पूरै बिग्रिएको छ । अहिले पनि म विश्वकपको ह्यागंमै छु । विश्वकप सुरू भएदेखि न समयमा खाना भएको छ न सुत्न नै । स्टुडीयोमा गीत गाउनु पर्ने अवस्थामा गएर गाइरहेको छु । त्यही पनि बेसुरमा । विश्वकपले मेरो सारा रुटिन नै भताभुंग भएको छ ।
– तपाईं अन्तर्राष्ट्रिय फुटबलबाहेक क्लबका म्याचहरु हेर्नुहुन्छ क्यारे । तपाईं कुन क्लबको सपोर्टर हो ?
पक्कै हेर्छु । म सबै हेर्छु । फुटबल सम्बन्धित आएका भ्याएसम्म केही पनि छुटाउदिन । केही पाइनँ भने इण्डियन प्रिमियर लिग त हेर्छु । समर्थनको कुरा गर्ने हो भने, इङ्लिस प्रिमियर लिगमा म ‘आर्सनल’ लाई समर्थन गर्छु । ‘लालिगा’मा रियल म्याड्रिलाई समर्थन गर्छु ।
म नेपालको ‘शहीद स्मारक लिग’ पनि हेर्छ । यो लिग हुँदा रंगशालामा नै उपस्थित भएर हेर्ने कलाकारमध्येको एक म पनि हो । ‘शहीद स्मारक लिग’ मा भने यहीँ टीम भन्ने छैन । जे होस्, भ्याएसम्म हेर्छु । फुर्सद हुनासाथ म गेममै हुन्छु ।
– नेपाल कुनै दिन विश्वकपमा पुग्ला भनेर सोच्नुभएको छ ?
विश्वकपमा नेपाल पुग्नु धेरै टाढाको हुरा हो । धेरै मेहेनत गर्नुपर्छ । राज्यले छुट्टै किसिमको नीति बनाउनुपर्छ । यो अहिलेको नीतिले हामी त्यहाँसम्म पुग्न सक्दैनौं । असम्भव छैन, तर धेरै गाह्रो छ ।
– तपाईंलाई को-को अन्तर्राष्ट्रिय फुटबलरसँग प्रत्यक्ष भेट्न मन छ ?
अहिलेको परिस्थितिमा मलाई भेट्न मन लागेका खेलाडी भनेको क्रिस्टियानो रोनाल्डो हो । र, अर्को चाहीँ सेनेगलका व्यवसायिक फुटबलर साडियो माने ।
उहाँहरुलाई भेट्न मन लाग्नुको कारण ?
रोनाल्डोको कुरा गर्ने हो भने उनको खेलको म प्रशंसक हुँ नै । त्योबाहेक व्यक्तिगत कुराहरु पनि छन् । रोनाल्डोले अहिले ६ सयजना अनाथ बालबालिकाहरुलाई संरक्षण दिइरहेका छन् । उनले आफूले पाएको गोल्डेन बुट पनि बेचेर प्यालेस्टाइनमा स्कुल खोलेका थिए ।
साडियो माने चाहिँ धेरै तल्लो लेभलबाट माथि उठेका एउटा प्रेरणादायी खेलाडी हुन् । उनलाई गाउँबाट पैसा उठाएर फुटबल खेल्न पठाएका थिए । आफ्नो विगतलाई सम्झेर उनी अहिले पनि महंगो मोबाइल बोक्दैनन् । महंगो घडी लगाउँदैनन् । मोजमस्तिमा पैसा खर्च गर्दैनन् । अनि, आफ्नो गाउँमा स्कुलहरु खोलेका छन् । एकदमै सामाजिक काममा योगदान दिइरहेका छन् । उनको यो पाटोले मलाई छोएको हो ।
– रोनाल्डोलाई प्रत्यक्षरूपमा भेट्ने मौका पाउनुभयो भने के सोध्नुहुन्छ ?
रोनाल्डोलाई प्रत्यक्षरूपमा भेट्ने मौका पाएँ भने नेपाली फुटबलको लागि केही न केही सहयोग गर भन्थेँ । ‘नेपालमा तिमीलाई माया गर्ने धेरै छन्, तिमी पनि नेपाल र नेपालको फुटबलप्रति केही माया देखाइदेऊ’ भन्थेँ।
– तपाईं आफैंलाई चाहीँ फुटबल खेल्न कत्तिको रहर लाग्छ ?
म कार्यक्रमबाहेक भ्याउँदाखेरि हरेक बिहान ७ बजेदेखि ८ बजेसम्म तामाकोसीको मनाङ फुटसलमा फुटबल खेलिरहेको हुन्छु । बाल्यकालमा पनि म पढाइमा भन्दा खेलकुदमा बढी ध्यान दिन्थेँ । स्कुलका हरेक म्याचहरूमा म भाग लिन्थेँ । घरमा बस्दा पनि गोल कसरी हान्ने भन्ने दिमागमा धेरै खेल्थ्योँ ।
यो पनौति रहेछ, भो अर्जेन्टिनाको सपोर्ट नगर।