अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने – Nepal Press

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने

काठमाडौं । सरकारले यस वर्ष पनि अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने भएको छ । डिसेम्बर १८ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यस वर्ष पनि सप्ताहव्यापी रूपमा मनाउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

दिवसका लागि यस वर्षको नारा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान स् उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ रहेको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार डिसेम्बर १६ देखि २२ सम्म तीनै तहको सरकार, आप्रवासको क्षेत्रमा काम गर्ने सबै सङ्घ, संस्थासमेतको सहभागितामा सप्ताहव्यापी रूपमा दिवस मनाउन लागिएको हो ।

आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्ममा मात्रै झण्डै आठ हजार ४६६ अर्ब विप्रेषण भित्रिएको तथ्याङ्क रहेकाले कूल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारको महत्त्वलाई उजागर गरेको सचिव अर्यालले बताए । उनका अनुसार श्रम प्रशासनबाट हुने कामकारबाहीलाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी छ ।

आर्थिक वर्ष २०७८/७९ सम्ममा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १० हजार ९३२ र गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर फर्किएका दुई हजार १२५ श्रमिकलाई बैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *