बढुवाका लागि दुर्गम धाउने प्रवृत्ति बढेपछि तीन महिनाका लागि सरूवा र पदस्थापन स्थगित
काठमाडौं । बढुवाका लागि मात्रै दुर्गम क्षेत्रमा कर्मचारी धाउन थालेपछि सरकारले खरिदार सरहका कर्मचारीको सरुवा तथा पदस्थापनको कार्य फागुन मसान्तसम्मका लागि स्थगित गरेको छ ।
लामो समयदेखि सुगम स्थानमा रहेर कामकाज गरिरहेका तर अहिले कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका निकायमा सरुवा भई जाने क्रम बढेपछि र त्यसका लागि विभिन्न निकायबाट सरुवा सहमतिसमेत माग भएर आउन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
अहिले लोक सेवा आयोगको वार्षिक कार्यतालिका बमोजिम रापत्र अनंकित खरिदार वा सो सरहका पदमा विज्ञापन प्रकाशित हुने (खुला प्रतिस्पर्धा तथा बढुवा) समय हो ।
यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडी सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसेर सेवा गरिआएका कर्मचारीलाई बढुवा प्रयोजनका लागि पर्ने भन्दै विभिन्न सरोकारवाला पक्षबाट पनि गुनासो आएको मन्त्रालयले जनाएको छ ।
त्यसैले मन्त्रालयले राजपत्र अनंकित द्धितिय श्रेणी, खरिदार वा सो सरहका पदको कुनै पनि निकायमा सरुवा वा पदस्थापन गर्ने तथा सरुवा सहमति दिने काम फागुन मसान्तसम्मका लागि स्थगित गरेको मन्त्रालयले जनाएको छ ।