भूपू गोर्खाको सुविधासम्बन्धी बेलायत र नेपालबीच वार्ता
लन्डन । भूतपूर्व गोर्खाहरूको मुद्दामा बेलायत र नेपालबीच जारी वार्तामा प्राविधिकस्तरको बैठक सम्पन्न भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको नेपाली दूतावास लन्डनले जनाएको छ ।
दूतावासले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै बैठकमा भूपूगोर्खाहरूको औषधि उपचार, शिक्षा, रोजगारीलगायत कल्याणकारी विषयमा छलफल भएको जनाएको छ । बैठकमा नेपाली पक्षले उठाएका मागका सम्बन्धमा बेलायतस्थित रक्षा मन्त्रालयका पदाधिकारीहरूले आगामी दिनमा थप छलफल गर्न तयार रहेको बताएका थिए ।
बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावासका सैनिक सहचारी रत्नबहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल र भूपूगोर्खाको तर्फबाट जुद्धबहादुर गुरुङ, टिकेन्द्र देवान, उदयबहादुर गुरुङ, केशबहादुर गुरुङ र धर्म तामाङ सहभागी थिए ।