आमाको भविष्य सुरक्षित भए बालबालिकाको भविष्य राम्रो हुन्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना (भिडिओ)
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालबालिकाहरूको भविष्य राम्रो बनाउन पहिला आमाहरूको भविष्य सुरक्षित र राम्रो बनाउनुपर्ने बताएका छन् ।
लूनिभा बाल सरोकार समूहले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले नेपाली समाजलाई रूपान्तरण गर्न बालबालिकाहरूको भविष्य राम्रो बनाउनुपर्ने र त्यसका लागि आमाहरूको भविष्यलाई पनि ध्यान दिनुपर्ने बताएका हुन् ।
बालबालिकाहरूको पहिलो शिक्षा जन्मँदादेखि नै घरबाटै हुने र त्यसमा आमाहरूको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुमात्रै नभएर सिंगो राज्यले भविष्यका कर्णधार बालबालिकाहरूको अधिकार स्थापित गर्न प्रतिबद्ध हुनुपर्ने उनले बताए ।
तिमिल्सिनाले राजनीतिक परिवर्तनपछि विकास समृद्धि र सुशासनको जनताको चाहनालाई पुरा गर्नका लागि गम्भीर भएर काम गर्नुपर्ने बताए ।
लूनिभा रजत जयन्ती २०७९ समापन समारोहका अवसरमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।