गैरपत्रकारलाई महासंघबाट हटाउन सुनसरीका ६ पत्रकारको प्रस्ताव
इटहरी । नेपाल पत्रकार महासंघ सुनसरीको १३औं साधारणसभा इटहरीमा गैरपत्रकारलाई महासंघबाट हटाउन प्रस्ताव गरिएको छ । धरान र इटहरीका ६ पत्रकारले इटहरीमा भएको साधारणसभामा उक्त प्रस्ताव पेस गरेका हुन् ।
पत्रकार महासंघको संसोधित विधान (२०७५) दफा ७ को उपफदा १ को खण्ड (ङ)को आधारमा प्रस्ताव पेस गर्नेहरूमा सुबिद गुरगाइ, पर्शुराम बाह्रकोटी, कृष्ण बहाब, नवराज बिष्ट, अर्जुन सुवेदी र भरतराज शर्मा छन् ।
महासंघको विधान अनुसार साधारणसभामा अध्यक्ष मण्डललाई सम्बोधन गरेर प्रस्ताव पेस भएपनि हर्ष सुब्बा अध्यक्ष रहेको अध्यक्ष मण्डलले भने प्रस्तावलाई कार्यसमितिको कोर्टमा दिएको प्रस्तावक पत्रकार कृष्ण बहाबले बताए।
‘सबैभन्दा ठुलो निर्णय गर्ने मञ्च साधारणसभा नै भएकोले प्रस्ताव पेस गरिएको हो’, उनले भने, ‘अध्यक्ष मण्डलले भने कार्यसमितिबाट छानबिन गर्ने तर्क गरेको छ।’
साधारणसभामै इटहरीका नगरकार्यपालिका सदस्य दिवस पोख्रेल र धरान नगरकार्यपालिका सदस्य दिनेश गजमेरलाई बिदाइ गरिएको थियो।
पोख्रेल र गजमेरले स्वैच्छिक बिदा मागेपछि उनीहरुको बिदाइ भएको थियो। तर,२६५ सदस्य महासंघमा बिदा नलिएर बसेका थुप्रै गैरपत्रकार भएकोले उनीहरुको बिदाइ आफ्नो मुद्दा भएको बहाबले बताए।
उनले भने, ‘जिन्दगीको पेसा गैरपत्रकारितामा लाएर पत्रकार भएको दाबी गरिरहने काम खराब हो। त्यही खराबी अन्त्य गर्ने प्रस्ताव हो।’
सुनसरीमा अहिले २६५ पत्रकारहरु महासंघमा जोडिएका छन् । जसमा धेरै गैरपत्रकार रहेका छन् भने पत्रकारिता पेशामा अवद्द कतिपय जोडिन सकेका छैनन् ।