जो ‘धौलागिरी र निलगिरी’ हेर्दै ५० वर्षदेखि चिया बेचिरहेका छन् – Nepal Press

जो ‘धौलागिरी र निलगिरी’ हेर्दै ५० वर्षदेखि चिया बेचिरहेका छन्

मुस्ताङ । डरलाग्दा सडकहरू छिचोल्दै पर्वतको सीमा कटेपछि मुस्ताङ सुरु हुन्छ । नेपालको चर्चित पर्यटकीय जिल्ला मुस्ताङका हिमालहरूले पर्यटकलाई स्वागत गर्न तम्तयार बसेका छन् । जर्जर र निकै डरलाग्दो भिरालो सडक कटेपछि मुस्ताङको थासाङ गेट आइपुगिन्छ । त्यहीबाट सुरु हुन्छ रहरलाग्दो पक्की सडक ।

कैंकुको डाँडामा पुगेपछि मुस्ताङको शिर धौलागिरि र आगनमा निलगिरी हिमालको मनमोहक दृष्यले जो कोही पनि लोभिन्छन् । केहिबेर धौलागिरि र निलगिरिसँग साक्षात्कार गर्न पर्यटकहरू तातो चिया पाउने पसल तर्फ लाग्दा रहेछन् । निलगिरीको फेदमा रहेको काली गण्डकीको ठ्याक्कै पारिपटी ‘विमला गेस्ट हाउस’ छ । बाटोसँगै टाँसिएको गेस्ट हाउसको आगनीमा रहेको कुर्सीमा बसेर निलगिरीलाई नियाल्दै चियाको चुस्की लिने व्यवस्था सञ्चालक ७० वर्षका अपेक्षा रञ्जित मगरले मिलाएका छन् ।

२००९ सालमा जन्मेको बताउने मगरले सोही स्थानमा होटल सुरु गरेको ५० वर्ष पुग्यो । ‘पहिले अलि पुरानो घर थियो, अहिले काठको नयाँ घर बनाएको छु’, उनले भने । तर घरको स्वरूप पुरानै देखिने गरी बनाइएको रहेछ । २०२९/३० तिर सुरु गरेको होटल व्यवसायलाई आजका दिनमा उत्तिकै जाँगरले सञ्चालन गरिरहेका छन् ।

 

थासाङ–४ घर बताउने पूर्णबहादुर गौचन भन्छन् ‘ हामीले आजभन्दा २५–३० वर्ष पहिले स्कुल पढ्दा कहिलेकाहीँ बाजेको पसलमा खाजा खाएर घर फर्कन्थ्यौ, उहाँको पसलमा चियादेखि सबै खाजा निकै मिठो पाइन्छ, चिया खान त लेकबाट पनि यहाँसम्म मान्छे आउँछन् ।’

विमला गेस्ट हाउसमा खानादेखि बस्नेसम्मको सुविधा छ । होटलको भित्र उनले थकाली र मगर समुदायले प्रयोग गर्ने भाँडाकुडा सजाएर राखेको देखिन्छ । दुई सन्तानका पिता समेत रहेका शेरचन अहिले भने श्रीमतीको सहयोगमा होटल चलाउने गर्छन् । उनले भने ‘ भुराहरू विदेश गएका छन्, हामीले होटलको काम भ्याएका छौँ ।’

मुस्ताङ हिँडेका र मुस्ताङको मुक्तिनाथ लगायतको क्षेत्रबाट फर्केकाहरूलाई खाजा, खाना खुवाएर दिन कटेको बताउँदै उनले अहिले सडक सहज भएकोले यात्रुहरू सिधै मुस्ताङ पुग्दा व्यवसायमा केहि कमी आएको जनाए । तर पनि आफ्नो पेशाप्रति खुसी रहेको उनको भनाई छ ।

हामीसँगको कुराकानीको क्रममा आएका अन्य ग्राहकहरूसँग उनले निलगिरीजस्तै मुस्काउँदै ‘डिल’ गर्थे । पहिले–पहिले घोडा मात्र यातायातको साधन हुँदा यात्रुलाई खाना र उघ्रिएको खाना घोडालाई समेत दिने गरेको बताउँदै उनले भने ‘आजकल त गाडीहरू धेरै कुद्छन्, नजिकै तेल पाइन्न भनेर डिजल, पेट्रोल’ पनि बेच्छु । केहि समय पहिलेसम्म खानेपानीको समस्या रहेको भए पनि पछिल्लो समय त्यो समस्या समाधान भएको भन्दै उनले विकासको कारण जीवन थप सहज बन्दै गएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर