मण्डलामा बागी कविको फिराद !
काठमाडौं । कवि विनोदविक्रम भन्ने गर्छन्, ‘कहिले कविता आक्रोशले लेखाउँछ, कहिले लेख्नैपर्छ भन्ने आवश्यकताले लेखाउँछ । अनि कहिलेकाहीँ साथीभाइको आग्रहले पनि लेखाउँछ ।’
एक समय विनोदविक्रम साथी पत्रकार दीपक सापकोटालाई सान्त्वना दिन अस्पताल पुगेका थिए । हात भाँचिएर बेडमा सुतिरहेका सापकोटाको सान्त्वनामा दुई चार शब्द खर्च गरे । र अस्पतालबाट एक सग्लो कविताको सानो भ्रूण लिएर फिरे ।
राज्य र नागरिकको सपनामाथि ‘लुटपाट’ चलिरहेको ठाउँमा सीसीटिभी क्यामेरा छैन । जाबो निरीह नागरिक बिरामी पर्दा अस्पताल जाने बाटोमा, दुई गाँस जोहो गर्न श्रमस्थलमा क्यामेरा टाँगिएको छ । र भनिएको छ, ‘तपाईं सीसीटिभीको निगरानीमा हुनुहुन्छ ।’
बिरामी साथी छेवैमा टुलमा बसेका कवि केसीलाई एक वाक्यले हृदय र दिमागमा एकैपटक मुक्का बर्साएर गयो, ‘म त कति ठूलो अपराधी रहेछु ।’
अनि लेखे:
फुक्काफाल हिँडिरहेछन् चोरहरु
खुलेआम घुमिरहेछन् हत्याराहरु
पुलिसचौकीकै छायामुन्तिर
निष्फिक्री चुरोट फुकिरहेछन् लुटेराहरु
निर्धक्क सिकारमा निस्किरहेछन् बलात्कारीहरु
हाकाहाकी हप्ता उठाइरहेछन् गुन्डाहरु
अलमस्त घुस खाइरहेछन् कर्मचारीहरु
र यता
तपाईं सीसीटिभीको निगरानीमा हुनुहुन्छ
तपाईं अस्पतालमा विरामी कुरिरहनुभएको छ
खाडीबाट नआइपुगेको, सदगत गर्न बाँकी
आफन्तको लास कुरिरहनुभएको छ
चढ्न नसकेर चारवटा बस छोडेपछि
पाँचौ बस कुरिरहनुभएको छ
बजेट भाषणसँगै महँगी घट्ने असम्भव शुभ खबर कुरिरहनुभएको छ
कहिल्यै नआउने सुदिन कुरिरहनुभएको छ
यत्तिकै कसैलाई कुरिरहनुभएको छ
यति मामुली गतिविधिमा संलग्न हुनुहुन्छ र पनि
तपाईं सीसीटिभीको निगरानीमा हुनुहुन्छ
000
केही समयअघि एक अन्तर्वातामा कविता किन लेख्नुहुन्छ भन्ने सवालमा केसीले जवाफ दिएका थिए, ‘जीवनवादी आन्दोलनमा सरिक हुन । मेरा निम्ति कविता कुनै भव्य, दिव्य, अलौकिक चिज होइन । बस् न्याय, स्वतन्त्रता र समानताका आन्दोलनमा सहभागी हुने एउटा माध्यम हो । मभित्र एउटा विद्रोही छ र एउटा प्रेमी पनि छ । यी दुईलाई प्रकट हुन एउटा मन्च चाहिन्छ । सायद म त्यही मन्च बनाउन कविता लेख्छु ।’
सोमबार कवि केसीको एकल कविता वाचन कार्यक्रम भयो, मण्डला थिएटर, थापागाउँमा । कविता पारखीहरु केसीका कविता परख गर्न भेला भए । केसीका कवितासँग सम्बन्ध, प्रेम, माया, स्नेह भएकाहरुको सामुन्ने उभिएर कविता सुनाउन सुरु गरे, ‘प्रेमः एक भोजन’ ।
केसीले सस्वर कविता वाचन सुरु गर्नुअघि वरिष्ठ कवि विमल निभाले केसीको कविता ‘भोकको क्षेत्रफल’ वाचन गरे । कविता सुनाउनुअघि निभा बोले, ‘एउटा शब्द छ बागी । त्यही शब्द सापटी लिएर के भन्छु भने विनोदविक्रम केसी असली बागी हुन् ।’
कवि निभाले बोलेको एक शब्द ‘बागी’ नै सरदर काफी हो केसीका लागि । सीमान्तमा बाँचेका, राज्यको प्रिभिलेज्डमा नपरेका, युगौंदेखि शोषण र दमनमा परेकाहरु नै केसीका कविताका विषय भइदिन्छन् । मुखर रुपमा तिनैका आवाजलाई कवितामा उन्छन् ।
केसीको कवितामा उनिएका एक प्रेमी हुन्, नवराज बिक । रुकुम हत्याकाण्डको नामले चर्चित यस हत्याकाण्डमा दलितहरुलाई भेरी नदीमा बगाइएको थियो । प्रेमको बदलामा नवराज बिकहरुले दलित भएकैले मारिनु परेको थियो ।
केसीले उक्त हत्याकाण्ड सम्झिए, ‘रुकुमको नृशंस हत्याका कारण म अत्यन्त घोर निराशामा पुगेको थिएँ । सबै मानव सभ्यता नै लज्जित हुने घटना थियो त्यो । म प्रिभिलेज्ड जातको मान्छे हो । जात व्यवस्थाले लादेको उतिदिनको बोझ मसँग पनि छ । त्यसैले पनि त्यसवेला हताश, निराश मनोदशामा थिएँ म । हाम्रो आन्दोलनहरुको समीक्षा गर्न मन लाग्यो । मलगायत लाखौं मान्छे आन्दोलनमा थियौं । त्यति पनि हामीले कस्तो समाज निर्माण गरेछौं ! यद्यपी, आन्दोलन हुँदाहुँदै त त्यस्तो नृशंंस हत्याकाण भयो भने यदि आन्दोलन हुँदैन थियो भने के हालत हुन्थ्यो ?’
अनि केसीले एक कविता सुनाए, ‘मृतक प्रेमीको फिराद’ ।
केसीका कविताहरु कतै कतै, कुनै न कुनै घटनासँग जोडिएका हुन्छन् प्रायः । उनी एकदमै कम स्टाटस, ट्वीट लेख्छन् । बरु आफूले बोल्नुपर्ने वा राख्नुपर्ने विचारका लागि कविताको सहारा लिन्छन् । अलिअलि विम्ब र प्रतीकहरु चलाएर एक कवितामार्फत् आफ्नो सिंगो विचार पाठकलाई पस्कन्छन् ।
केसीले पहिलो चरणमा चार प्रेम कविताहरु सुनाए ।
सुसेलाको सांगितिक समूहले केसीको एक गीत गाएर सुनायो । यसपछि कवि शान्तिप्रिय बन्दनाले केसीको एक कविता सुनाइन्, ‘गिटार भिरिहिँड्ने युवती’ ।
कार्यक्रमको दोस्रो चरणमा केसीले ‘गोल्ड मेडल’ सुनाए ।
000
कमसेकम
बोक्सीलाई दिसा खुवाउने खेल होस् एउटा
दाइजो कम ल्याउने बुहारी जलाउने खेल होस् एउटा
कमजोरमाथि जोरजुलुम गर्ने खेल होस् एउटा
त्यस्ता नाथे दुईचार गोल्ड मेडल त
हामी पनि ल्याउँथ्यौं ।
केसीले ‘डेन्जर जोन’ सुनाए । ‘आज सरको क्लास लिन्छ विद्यार्थी’ सुनाए । ‘जण्ड वेश्याको वक्तव्य’ सुनाए । ‘शुभकामना फोहोरको नयाँ प्रजाति’ सुनाए । ‘भुमण्डलीकरण’ सुनाए । केसीले दर्जन हाराहारी कविता सुनाए ।
अनि वरिष्ठ कवि भूपाल राई केसीको एक कविता वाचन गर्न आए, ‘नेपाल सानै छ देवकोटाजी’ । कविता वाचन गर्नुअघि राईले भने, ‘विनोदविक्रमको एउटा कवितामा सयौं अरु कविताहरु हुन्छन् । ऊ पोखराको कविता लेख्दैछ भने पोखरा पुगिन्जेल सयौं पोखरा आउँछन् उसका कवितामा । सयौं ल्याण्डस्केप आउँछन् । त्यसैले ऊ कविताको पदयात्री हो ।’