शेखर-धनराजबाट धोका भएको गगन पक्षको प्रारम्भिक समीक्षा: भुइँको पाएनन्, पोल्टाबाट को-को गुमाए ? – Nepal Press

शेखर-धनराजबाट धोका भएको गगन पक्षको प्रारम्भिक समीक्षा: भुइँको पाएनन्, पोल्टाबाट को-को गुमाए ?

धनराज पक्ष भन्छ- गगन समूहबाट घण्टीका कार्यकर्तामार्फत सांसदको हुर्मत लिइयो, सिनियर नेताहरूको मानमर्दन भयो

काठमाडौं । सोमबार रातिसम्म गगन थापाको ‘कोर टीम’ ले ३४ जना सांसद आफ्नो पक्षमा निकालेको थियो । जतिबेला गगनको टीमका सदस्य बालुवाटारबाट खटाइएका भनिएका सादा पोशाकका प्रहरीको परिचयपत्र थुतेर सामाजिक सञ्जालमा हाल्दैथिए, त्यति नै बेला गगन पक्षले आफ्नो मानेका दुईजना सांसद बालुवाटार छिर्दै थिए ।

सप्तरीका तेजुलाल चौधरी र रौतहटका देवप्रसाद तिमल्सिना पालैपालो बालुवाटारभित्रबाट प्रधानमन्त्री शेरबहादुर देउवादम्पतीलाई भेटेर बाहिरिँदा गगनको हिसाब बिग्रिसकेको थियो । तर, पनि बिहानसम्म गगन पक्ष कम्तीमा ३४ बढीमा ३७ सांसदको हिसाब लगाइरहेको थियो ।

महाधिवेशनको पक्षधरताका आधारमा शेखर गगन पक्षका २७ सांसद थिए । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, दीपक गिरी र रूपा विकको भोट थपिँदा ३१ सांसदको सूची नेपाल प्रेसले नामसहित सार्वजनिक गरेको थियो । गगन पक्षले त्यसमा देउवा समूहका स्याङ्जाका राजु थापा, काठमाडौंका सन्तोष चालिसे, राजेन्द्र केसीलगायतको पनि मत थपिने अपेक्षा गरेको थियो ।

यतिसम्मकी विश्वप्रकाश शर्मासँग निकट भएका कारण सिन्धुलीका श्याम घिमिरेको मत पनि पाउने गगन पक्षको महात्वाकांक्षा थियो । तर घिमिरे विश्वप्रकाशनिकट नभएर उपसभापति पुर्णवहादुर खड्कानिकट मानिन्छन् । उनलाई टिकट दिलाउनसमेत पुर्णवहादुरको भूमिका थियो । घिमिरे देउवाको विश्वासिलो पात्र भएकालेृ गगन समूहको आँकलन नै कमजोर देखियो ।

मतपरिणाम सार्वजनिक हुँदा गगन थापाले आफ्नै गुट र आफ्ना प्रस्तावक समर्थकसमेत थपिएपछिको ३१ मत पनि जोगाउन सकेनन् ।

गगन पुस्तान्तरणको एजेण्डा लिएर भुइँको समेत टिपेर चुनाव जित्न चाहन्थे, तर परिणाममा उनले पोल्टाको पनि गुमाए । देउवा समूहबाट क्रस भोट गराउन असफल भएका उनले आफ्नो समूहको क्रस भोट समेत रोक्न सकेनन् । सांसदहरूले मत हालेको फोटो खिच्न थालेपछि उनको पराजय निश्चित भइसकेको थियो ।

एक थान मन्त्रीको लागि यसपटक कांग्रेसका सांसदहरू जे पनि गर्न तयार छन् भन्ने यसले देखाएको छ । हुन पनि यसपटक रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, पूर्णबहादुर खड्का तहका नेताहरू समेत एकबारको जुनीमा एक थान मन्त्री भने पनि नछाड्ने तहमा पुगिसकेका छन् । यस्तामा जुनियनर सांसदले गुट होइन मन्त्रीको आश्वासनलाई विश्वास गरे ।

गगनले २५ मत पाउँदा उनको पक्षमा सोमबार साँझसम्म प्रष्टरूपमा देखिएको ६ मत पनि देउवातिर गयो । गगनको कोर टीमले अपेक्षा गरेका अरु कम्तीमा ७ देखि १० मत आएनन् । केही सांसदले मतपत्रको फोटो खिच्न थालेपछि नै गगनले यसको संकेत दिइसकेका थिए । कतिपय शेखर-गगन पक्षकै सांसदले फोटो खिचेर आरजु देउवालाई ह्वाट्सएप गरेका थिए ।

गगनले आफ्नै गुटको पनि पूरै भोट किन पाएनन् ? यसबारे शेखर गगन समूहमा समीक्षा हुन बाँकी छ । तर, शेखर र धनराज गुरुङ निकट एकजना सांसदले गगननिकटहरूले पार्टी नेताहरूविरुद्ध उत्तेजनात्मक र अमर्यादित टिप्पणी गर्नु र सादा पोशाकका प्रहरीको परिचयपत्र खोसेर चुनावी स्टण्ट गर्नुले पनि भोटमा असर गरेको टिप्पणी गरे । यद्यपि उनले आफूले चाहिँ गगनलाई नै मत दिएको बताए ।

गगनको कोर टीमको रातो घेरामा परेका ती सांसदले भने, ‘हुन त मलाई पनि उनीहरूले भोट नदिनेको सूचीमा राखेका छन् । तर मैले धर्म निभाएको छु । तर, रामचन्द्र, शशांकहरूप्रति गरिएको अमर्यादित टिप्पणी, प्रहरीमाथिको उच्छृंखल व्यवहार र घण्टी (रास्वपा) का कार्यकर्ताहरूबाट सांसदहरूलाई सार्वजनिकरूपमा दिइएको धम्कीपूर्ण फेसबुक मेसेज तथा स्टाटसहरूले पनि कतिपय सांसद इरिटेड भए ।’

गगनको पक्षमा आ-आफ्नो क्षेत्रका सांसदहरूलाई खबरदारी गरेर फेसबुक मेसेज तथा एसएमएस गर्नेक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता प्रयोग भएको आरोपसमेत लगाइएको छ । विश्वप्रकाश र प्रदीप पौडेलको इन्ट्रीले कतिपय कांग्रेस सांसद भड्किएको दाबी पनि गरिएको छ ।

चुनाव हारेपछि त्यसका अनेक कारणहरूको विश्लेषण हुनु स्वाभाविक हो । तर, गगनको उदयमा कुण्ठा पाल्ने केही नेता शेखर गगन गुटमै छन् । उनीहरूले बाध्य भएर शेखरले समर्थन गरेपछि गगनको पक्ष लिएको देखाए पनि भित्र मतदानमा देउवालाई मत दिएर त्यसको प्रमाण बालुवाटार पुर्याएको आरोपसमेत छ ।

केही दिनमै गठबन्धनको सरकार बनेर त्यसमा पर्ने मन्त्रीहरूको अनुहारले पनि गगनको चुनावमा उनकै गुटका क-कसले धोका दिए भन्ने अनुमान लगाउन सकिने नेताहरू बताउँछन् । तर, गगनकै दौँतरी तथा उनीभन्दा सिनियर ५०/६० कटिसकेका ‘युवा नेता’ हरूले उनलाई मत नदिएको आशंका छ ।

सुवास नेम्वाङले भन्ने गरेजस्तै गगनले ती अन्तर्घातीहरूको अनुहार झल्झली सम्झिएका छन् तर नाममात्र बिर्सिएको अभिनय गर्नुपरेको छ । शेखर-गगन समूहबाट पार्टीको पदाधिकारी भएका र पदाधिकारी चुनाव लडेका तर बन्न नसकेका तहकै नेताहरूले पनि गगनलाई मत नदिएको चर्चा उनको टीममा चलेको छ ।

गगननिकट एक केन्द्रीय सदस्य तथा सांसदले भने, ‘हारेपछि अरु धेरै टिप्पणी गर्नुको अर्थ छैन । प्रष्ट भन्दा शेखर कोइराला र धनराज गुरुङ पक्षले भोट दिएन ।शेखरले छाड्ने हो भने उपसभापतिको हैसियतले म उठ्नुपर्छ भनेर धनराजले आफुनो रुप देखाइसकेको थियो । उनीहरुसहित चन्द्र भण्डारी समेत एक थान मन्त्रीमा लोभिएपछि यो परिणाम स्वभाविक थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर