मध्यपुरको नेपाल कोरिया मैत्री अस्पतालमा डाइलासिस वार्ड तयार – Nepal Press

मध्यपुरको नेपाल कोरिया मैत्री अस्पतालमा डाइलासिस वार्ड तयार

भक्तपुर । थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालमा छिट्टै डाइलायसिस सेवा सुरू हुने भएको छ । अस्पतालमा चार वटा मेसिनसहित डाइलासिस वार्ड तयार गरिएको हो । यससँगै अस्पतालमा डाइलासिस मेसिनको संख्या ६ वटा पुगेको छ ।

रोटरी क्लव अफ सांग्ली मिडटाउनको प्राविधिक सहयोग, रोटरी क्लव अफ जवलपुर वेष्टको आर्थिक सहयोग र रोटरी क्लव अफ मध्यपुर मार्फत अस्पताललाई ४ वटा डाइलायसिस मेसिन सहयोग प्राप्त भएको थियो ।

डाइलासिस वार्डको बिहीबार एक कार्यक्रमबीच मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व गर्भनर किरणलाल श्रेष्ठले संयुक्त उद्घाटन गरेका छन् ।

४ वटा डाइलायसिस मेसिनका लागि रोटरी क्लवले करिब ४१ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै मध्यपुर थिमि नगरपालिकाले करिब २० लाख रुपैयाँ आर्थिक योगदान दिएको रोटरी क्लव अफ मध्यपुरका पूर्वअध्यक्ष उषा प्रजापतिले जानकारी दिइन् ।

उक्त अवसरमा मेयर सुरेन्द्र श्रेष्ठ, रोटरी क्लव अफ मध्यपुरका संस्थापक अध्यक्ष सुरेन्द्रविक्रम प्रजापति, अस्पतालका निर्देशक डा. डीके रौशनलगायतले डाइलासिस सेवा सञ्चालनमा आएपछि नगरवासीहरूको स्वास्थ्य सेवामा थप सहज हुने धारणा राखे । उनीहरुले आगामी दिनमा पनि अस्पताल, नगरपालिका र क्लवबीच सुमधुर सम्बन्ध कायम गरी थप सहयोग आदानप्रदान गर्नुपर्ने उल्लेख गरेका छन् ।

अस्पतालका निर्देशक डा. रौशनले केही प्राविधिक समस्याको कारण डाइलासिस सेवा तत्काल सञ्चालन नहुने जानकारी दिए । उनका अनुसार आगामी साता डाइलासिस सेवा सुरु हुनेछ ।

यसअघि अस्पतालले २ वटा डाइलासिस मेसिन आईसीयूमा जडान गरेको थियो । आवश्यक परे ती दुईमध्ये एक मेसिनसमेत डाइलासिस वार्डमा ल्याइने निर्देशक डा. रौशनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर