चार्ल्स शोभराजलाई आज अध्यागमनको जिम्मा लगाइँदै – Nepal Press

चार्ल्स शोभराजलाई आज अध्यागमनको जिम्मा लगाइँदै

काठमाडौं । सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज अध्यागमनमा बुझाइँदैछ ।

दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन बुधबार आदेश दिएको थियो ।

योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको हो ।

केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेका अनुसार जिल्ला अदालत भक्तपुरबाट पत्र आएपछि शुक्रबार उनलाई अध्यागमन विभागमा बुझाइनेछ ।

कैद बसेर छुटेपछि उनलाई अध्यागमनमार्फत निष्कासन गरिनेछ । पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिबानासमेत गर्नेछ । जरिबाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर