बैतडीमा अस्पताल बनाउने विषयमा विवाद, गाउँलेबीच कुटाकुट हुँदा ३५ जना घाइते
कैलाली । १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा बैतडीमा गाउँलेबीच कुटाकुट भएको छ । दुई वडाका बासिन्दाबीच भएको झडपमा ३५ जना घाइते भएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले नेपाल प्रेसलाई बताए ।
जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयले आ-आफ्नो वडामा अस्पताल निर्माण गर्नुपर्ने माग राख्दै आएका थिए । मेयर चन्दका अनुसार सोही विषयमा विवाद भएर बिहीबार साँझ झडप भएको हो ।
अस्पतालको नाममा वडा नम्बर १ र ७ दुवै ठाउँमा जमिन छ । केही समयअघि वडा नम्बर १ का स्थानीयले आफ्नो वडामा अस्पताल बनाउनुपर्ने भन्दै तालाबन्दी गरेका थिए । त्यसको केही दिनपछि पुन: वडा नम्बर ७ का स्थानीयले तालाबन्दी गरे ।
दुवैलाई सहमति गरेर थप प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेका बेला बिहीबार झडप भएको हो ।
झडपमा वडा नम्बर ७ का २७ र १ का ८ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ । मेयर चन्दले भने झडपमा सरिया लट्ठी र इँट्टा प्रहार गरिएकाले केहीलाई बढी चोट लागेको बताए ।
नगरपालिका महासंघको महाधिवेशनमा सहभागी हुन मेयर-उपमेयर दुबै काठमाडौं गएको बेला यता झडप भएको हो ।
२०७० सालदेखि अस्पताल निर्माणको कुरा उठे पनि स्थानीयहरूको विवादले ९ वर्षदेखि निर्माण अघि बढेको छैन ।