देउवा र प्रचण्डबीचकाे साढे दुई घण्टा छलफल निष्कर्षविहीन, दुवैले छाेडेनन् प्रधानमन्त्रीकाे अडान
काठमाडौं । आगामी सरकार गठनलगायत विषयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल निष्कर्षविहीन बनेको छ ।
दुवैले पहिलो चरणमा प्रधानमन्त्रीको दाबीबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो ।
माओवादी अध्यक्ष दाहालले पहिलो चरणमा आफू प्रधानमन्त्री बन्नु पर्ने अडान राखेका थिए । यता कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा कांग्रेसले सरकार नेतृत्व गर्न पार्टीभित्र चर्को दबाब आइरहेको सुनाएका थिए । उनीहरुबीच प्रधानमन्त्रीकै विषयमा सहमति जुट्न नसकेको हो ।
दुई नेताबीच करिब साढे दुई घण्टा छलफलमा ठोस समझदारी नबनेपछि शनिबार पुनः छलफल गर्ने गरी बैठक टुङ्गिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
उनका अनुसार भोलि ३ बजे बस्ने गरी आजको बैठक सकिएको हो । दाहाल पहिलो चरणमा गठबन्धनबाटै प्रधानमन्त्री बन्न खोजिरहेका छन् । गठबन्धनमा सहमति नभए एमालेसँग पनि माओवादीको सहकार्यको ढोका खुल्ला राख्न नेताहरू लागिपरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघि नै गठबन्धन तोडेर आए प्रचण्डलाई प्रधानमन्त्री दिन सकिने आशय व्यक्त गरिसकेका छन् ।
नयाँ सरकारका लागि राष्ट्रपतिले दिएको सात दिन आइतबार सकिँदै छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपराह्न ५ बजेसम्मको समय दलहरूसँग छ । यही समयभित्र दलहरूले बहुमत जुटाएर पेश गर्नुपर्नेछ । राष्ट्रपतिले दिएको समय सीमा सकिन २ दिन मा बाँकी रहँदा पनि दलहरूबीच अझै ठोस सहमति भएको छैन ।
पटक पटक असक्षम प्रमाणित भैसकेकालाई फेरि प्रधानमन्त्री बनाउन मेरो देश लागेको देख्दा निराश भईन्छ । यी दुवैको काम भ्रष्टाचार गर्ने, त्यहि पैसाले सत्ता टिकाउने, भारतको दलाली गर्ने, उसको लागि देशै बेच्न पनि तयार हुने मात्र हो । किन यस्ता नालायक नेता र पार्टीलाई फेरि मत दिएको नेपाली जनता ? अब भोग न यिनको कुशासन ।