कोभिडको नयाँ भेरिअन्टदेखि सजग रहन स्वास्थ्य मन्त्रालयको अपिल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड भाइरसको नयाँ भेरिअन्ट बिएफ ७ बाट सजग रहनाका निमित्त सर्वसाधारणहरुलाई अपिल गरेको छ ।
मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै हाल सम्म कोभिड १९ को नयाँ भेरिअन्ट नेपालमा पुष्टि नभइसकेको भएता पनि छिमेकी मुलुकहरूमा यसको बढ्दो प्रभावका देखिएका कारण नेपालमा पनि सजग हुनु पर्ने अवस्था आएको जनाएको हो ।
‘छिमेकी मुलुकहरूमा फैलिएको कोभिड १९ को नयाँ भेरिअन्ट बिएफ ७ हाल सम्म नेपालमा पुष्टि भएको छैन । यद्यपि खुला सिमाना एवम् मानिसहरूको आवतजावतका कारण नेपालमा पनि यस सङ्क्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम तथा नियन्त्रणका लागि आम समुदाय सजग एवम् सचेत हुन जरुरी छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कोभिड १९ को संक्रमणका कारण नेपाल धेरै धनजनको क्षति व्यहोर्न परेकाले यसको पहिचान रोकथाम तथा उपचारका लागि संघ प्रदेश तथा स्थानीय निकायका सबै संयन्त्रहरू परिचालन हुनु पर्ने पनि मन्त्रालयको भनाई छ ।
मन्त्रालयका अनुसार हाल कोभिड १९ को पहिचान रोकथाम तथा उपचारको लागी अन्तर्राष्ट्रिय नाका तथा विमानस्थलबाट आएका शङ्कास्पद यात्रुहरूको ज्वरो नाप्ने, एन्टीजेन परीक्षण गर्ने तथा जिन सिकेस्निङको कामहरू भइरहेको पनि मन्त्रालयले जनाएका छ ।
त्यसै गरी अहिले इसाईहरुको क्रिसमस पर्व तथा अङ्ग्रेजी नयाँ वर्षको समय भएकाले पनि आम मानिसहरूलाई अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दुरी कायम राख्ने , साबुन पानीले हात धुने, स्यानिटाइजरको नियमित प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्डहरू अपनाउनका लागी पनि स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ ।
मन्त्रालयले कोभिड १९ विरुद्धको अतिरिक्त मात्रा ‘बुस्टर डोज’ लगाउन बाँको रहेका सर्वसाधारणलाई नजिकको स्वास्थ्य संस्थामा गई उक्त भ्याक्सिन लगाउन पनि अनुरोध गरेको छ ।