हाम्रो क्रान्तिकारिताको संकीर्णताका कारण पारिजातको उपन्यास छापेनौं – Nepal Press

हाम्रो क्रान्तिकारिताको संकीर्णताका कारण पारिजातको उपन्यास छापेनौं

पारिजातसँग तेह्रथुमको चुहान डाँडामा आईए पढ्थें । त्यसवेला पारिजात नामको कुनै पात्रले मदन पुरस्कार प्राप्त गर्‍यो । मेरो क्याम्पस चिफ हुनुहुन्थ्यो, वामदेव पहाडी, डबल एमएल, बीएल । उहाँ साहित्यको ठूलो विद्वान र समीक्षक हुनुहुन्थ्यो ।

पारिजातले जुन कृतिबाट मदन पुरस्कार प्राप्त गर्नुभयो, त्यसबारेमा वामदेव सरको टिप्पणी के थियो भने ‘मान्छे भनेको टोपी हो कि टाउको हो ?’ उहाँको आशय थियो, शंकर लामिछानेको भूमिकाको व्यापक रुपमा चर्चा भयो, त्यो त टोपी हो । त्यसको चर्चा यसरी भयो मानौं टोपी पनि त्यही हो, टाउको पनि त्यही हो ।

त्यसपछि २०२३ सालको बीचमा आईएको जाँच दिन काठमाडौं आएँ । काठमाडौं आएपछि पारिजातको विषयमा अरु कुरा सुनियो । मैले बीएको जाँच दिएको वेला राल्फा आन्दोलन चलिरहेको थियो । पारिजात दिदी राल्फाको नायिका हुनुहुन्थ्यो । एकजना विमल भन्ने साथी हुनुहुन्थ्यो । उहाँ पारिजातको अनुयायी, नजिकको मान्छे ।

उहाँ मकहाँ आइरहनुहुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो, ‘पारिजात तपाईंको रचना पढ्नुहुन्छ । तपाईंलाई रुचाउनुहुन्छ । तपाईं राल्फामा किन नआउने ?’

राल्फाको घोषणापत्रको शीर्षक गजबको थियो, ‘सेतो वन, नीलो जून र आकाशका नूनिला निस्वासहरु ।’

काठमाडौं आएपछि पारिजातको विषयमा अरु कुरा सुनियो । मैले बीएको जाँच दिएको वेला राल्फा आन्दोलन चलिरहेको थियो । पारिजात दिदी राल्फाको नायिका हुनुहुन्थ्यो । एकजना विमल भन्ने साथी हुनुहुन्थ्यो । उहाँ पारिजातको अनुयायी, नजिकको मान्छे ।

केही बुझिन्थ्यो, केही बुझिँदैन थियो । सबै भाषा पनि त्यस्तै थियो । अनि विमलको पछि लागेर पारिजात दिदीकहाँ पहिलोपटक पुगें । दुर्भाग्यवश पारिजात र विमलको बीचमा प्रेम सम्बन्ध थियो । त्यही दिन वा त्योभन्दा अगाडि विमलले पारिजातलाई धोका दिएका थिए । मलाई पारिजातको अगाडि पुर्‍याइयो । पारिजात दिदी एकदमै उद्दिघ्न हुनुहुन्थ्यो । अत्यन्त निराश हुनुहुन्थ्यो । उहाँले मलाई भन्नुभयो, ‘तपाईंलाई भेट्न पाएकोमा मलाई खुशी लाग्यो । फेरि आउनुहोला ।’

०००

काठमाडौंको ल क्याम्पसमा साहित्य सन्ध्या भन्ने कार्यक्रम हुन्थ्यो । एक दिन त्यो कार्यक्रममा जानु अगाडि म अलिकति ढिला पुगें । पारिजात दिदी राय बच्चनको ‘मधुशाला’ क्यासेटमा सुनिरहनुभएको थियो । उहाँको वरिपरि मधुशालाका फ्यानहरु थिए । म जानेबित्तिकै दिदीले भन्नुभो, ‘संग्रौलाजी आउनुभयो है, उहाँलाई यो मधुशाला मनपर्दैन । उहाँ त बडो शुद्ध मान्छे हो ।’

त्यो सुनेपछि मलाई के लाग्यो भने पारिजातको नजरमा म बाहुन जस्तै शुद्ध हुँ । जसले प्रेम गीत सुन्नु हुँदैन ।

प्रत्येक शुक्रबार पारिजात दिदीकहाँ गुड फ्राइडे हुन्थ्यो । ललिजन रावल भन्ने एकजना गजलकार हुनुहुन्थ्यो । उहाँ सोल्टीमा काम गर्नुहुन्थ्यो । सोल्टीको क्यासिनोमा काम गर्दाखेरी केही न केही दारु प्राप्त हुन्थ्यो, त्यो पनि स्कच ह्विस्की । कहिले आधा बोतल, कहिले एक चौथाइ त कहिले एक पेग पनि होला ।

हरेक शुक्रबार पारिजात दिदीकहाँ गुड फ्राइडे हुन्थ्यो र स्कच खाइन्थ्यो । स्कच चलिरहेको वेला संयोगले एक दिन म बाहुन पुगें । पारिजात दिदीले भन्नुभो, ‘ए संग्रौलाजी आउनुभो, गिलास लुकाउ । उहाँ त बडो चोखो माक्र्सवादी हुनुहुन्छ ।’

हरेक शुक्रबार पारिजात दिदीकहाँ गुड फ्राइडे हुन्थ्यो र स्कच खाइन्थ्यो । स्कच चलिरहेको वेला संयोगले एक दिन म बाहुन पुगें । पारिजात दिदीले भन्नुभो, ‘ए संग्रौलाजी आउनुभो, गिलास लुकाउ । उहाँ त बडो चोखो माक्र्सवादी हुनुहुन्छ ।’

मलाई लाग्यो, पारिजात दिदीको नजरमा म शुद्ध बाहुन नै हो । जो टुप्पी पाल्छ, जनै लगाएको, दारु छुँदा जात जाने खालको बाहुन रहेछु । पछि मैले पनि अभिनय गरें, एक बोतल खुकुरी रम लिएर पारिजात दिदीकहाँ गएँ । त्यो देखेपछि पारिजात दिदी जिल पर्नुभो , ‘संग्रौला के गरेको यो ?’

‘उपहार टक्राउन ल्याएको ।’

‘आफू त खाने होइन के रे !’

मैले पारिजात दिदीकै अगाडि बोतल खोलें । दुईवटा गिलास ल्याएँ । अनि पारिजात दिदीसँग मदिराको मोर्चा खोलें । त्यसपछि दिदीलाई के भयो भने ‘यो बाहुन त बाहुन नै हो, धेरै शुद्ध चाहिँ रहेनछ ।’

०००

पारिजात दिदी कुँजिनुभएको थियो । साहित्य सन्ध्या वा कुनै कार्यक्रममा लैजाँदा मोटरसाइकलमा वा ट्याक्सीमा लगिन्थ्यो । मेरो त्यो वेला जापानी होण्डा थियो, त्यो पनि फेन्सी टाइपको । म गोराहरुलाई नेपाली भाषा दान गर्थें । तिनले भनेको वेला तिनको घरमा जानुपर्ने भएकाले जापानिज होण्डा किनेको थिएँ ।

दिदीले गुनासो गर्नुभएछ, ‘संग्रौलाको त्यस्तो राम्रो होण्डा रहेछ । त्यसले कार्यक्रममा जाँदा वा ल्याउँदा मलाई कहिल्यै पनि चढाएन ।’

मलाई त्रास थियो, पारिजात दिदीको जीवन यति मूल्यवान छ । मैले मोटरसाइकलमा अगाडि राख्दा वा पछाडि राख्दा कदाचित दुर्घटना भयो भने मलाई ठूलो अवगाल पर्नेछ । पारिजात दिदीलाई मोटरसाइकलमा बोक्न मलाई कहिल्यै पनि आँट आएन ।

पछि ल क्याम्पसको बाहिरपट्टि कसैले उहाँलाई पुर्‍याउँथ्यो । ल क्याम्पसको तलामाथि प्रतिभा प्रवाह भन्ने कार्यक्रम हुन्थ्यो महिनैपिच्छे । पारिजात दिदीलाई तलबाट बोकेर माथि लानुपर्थ्यो । एकदिन मैले काँध थापें, ‘दिदी, तपाईंलाई बोक्नलाई मलाई अनुमति चाहियो ।’

दिदीलाई बोकेर माथि लगें । अनि भनें, ‘यो क्षतिपूर्ति हो । मैले तपाईंलाई मोटरसाइकल चढाउन त सकिनँ । मेरो आफ्नो त्रास थियो, डर थियो । त्यसको क्षतिपूर्ति हो यो ।’

त्यसपछि हरेक कार्यक्रममा बाहिर आएपछि भन्नुहुन्थ्यो, ‘संग्रौलाजी, क्षतिपूर्तिको काम त बाँकी छ नि !’

हामीलाई लाग्यो, पारिजात दिदीको उपन्यास त हामीले छाप्ने हो । पारिजात दिदी त हाम्रो सम्पत्ति हो । पारिजात दिदीको उपन्यास हाम्रो हातमा पर्‍यो । संस्थाको अध्यक्ष म थिएँ । साहित्यसम्बन्धी हाम्रा केही मानकहरु थिए । शुद्धताका केही आग्रहहरु थिए- प्रगतिशील के हो र के होइन ।

०००

हामीले वामपन्थी साहित्य र चिन्तनलाई प्रशय र प्रवर्द्धन गर्न स्रष्टा प्रकाशन खोल्यौं । स्रष्टा प्रकाशनअन्तर्गत कृष्णमणि साहित्य पुरस्कार पनि राखिएको थियो । पारिजात दिदीले उपन्यास लेखन थाल्नुभो ।

उहाँको लेखनशैली कस्तो थियो भने लेख्न थालेपछि ढोका बन्द गरेर बस्ने । चुकुल लगाएर बस्ने । लेखिएको चिज प्रकाशित हुनुअघि कसैलाई पनि नदेखाउने । सरप्राइज दिने भन्नुहुन्थ्यो ।

हामीलाई लाग्यो, पारिजात दिदीको उपन्यास त हामीले छाप्ने हो । पारिजात दिदी त हाम्रो सम्पत्ति हो । पारिजात दिदीको उपन्यास हाम्रो हातमा प¥यो । संस्थाको अध्यक्ष म थिएँ । साहित्यसम्बन्धी हाम्रा केही मानकहरु थिए । शुद्धताका केही आग्रहहरु थिए- प्रगतिशील के हो र के होइन ।

म, मुरारी अर्याललगायतले पुस्तक पढ्यौं । पारिजात दिदीको जुन प्रवृत्तिसँग सहमत थियौं, उपन्यास भने फरक थियो । एउटा पात्र छ, जसले सानी बच्चीलाई हुर्काउँछ । पछि उसैलाई बलात्कार गर्छ । त्यो चाहिँ एउटा परपीडक किसिमको प्रवृत्तिको आभास हामीलाई भयो ।

हामीलाई लाग्यो, ‘हाम्रो प्रकाशनको मापदण्डअनुसार हाम्रो प्रकाशनबाट छाप्न योग्य ठहरिएन ।’

पारिजातलाई हामीले नै अतिरिक्त अनुरोध गरेर पुस्तक मागेको हो । हामीलाई संकट भयो । अब त्यो टार्ने कसरी ? अध्यक्षको हैसियतमा मैले कसैको हातमा सानो चिठी लेखेर त्यो पाण्डुलिपि फर्काएँ ।

‘यो यो कारणले तपाईंको पुस्तकसँग हामी सहमत हुन सकेनौं । माफ गर्नुहोला दिदी ! दुर्भाग्यवश हामी यो छाप्न सक्दैनौं ।’

पारिजात दिदी खूब रिसाउनुभयो । उहाँ आफ्नो चिन्तन, व्यक्तित्व र सृजनामाथि भएका टिप्पणीहरु, समीक्षाहरुलाई त्यति सहज किसिमले पचाउने मान्छे होइन । त्यसो त हामी सबै त्यस्तै होला, सबैलाई मनपर्ने त प्रशंसै हो । पारिजातमा टिप्पणी, आलोचनाप्रति धेरै सहिष्णुता थिएन । अनि केही समय पारिजात दिदीसँग सम्बन्ध अत्यन्त तिक्त भयो ।

पारिजात दिदी खूब रिसाउनुभयो । उहाँ आफ्नो चिन्तन, व्यक्तित्व र सृजनामाथि भएका टिप्पणीहरु, समीक्षाहरुलाई त्यति सहज किसिमले पचाउने मान्छे होइन । त्यसो त हामी सबै त्यस्तै होला, सबैलाई मनपर्ने त प्रशंसै हो । पारिजातमा टिप्पणी, आलोचनाप्रति धेरै सहिष्णुता थिएन । अनि केही समय पारिजात दिदीसँग सम्बन्ध अत्यन्त तिक्त भयो ।

०००

हामीले प्रगतिशील लेखक संघको निर्वाचन प्रारम्भ गर्‍यौं । त्यसमा चिन्तनका दुईवटा प्रवृत्तिहरु थिए । सम्भावित अध्यक्ष दुईजना थिए । मालेको तर्फबाट मोदनाथ प्रश्रित हुनुहुन्थ्यो । मोहनविक्रमले नेतृत्व गरेको चौथो महाधिवेशनको तर्फबाट पारिजात दिदी अध्यक्ष हुनुहुन्थ्यो । मेरो समभाव वा सहानुभूति पारिजाततर्फ थियो ।

पछि दुईजनाको बीचमा सहमति नभएपछि हामीले मध्यमार्ग रोज्यौं । रमेश विकललाई हामीले अध्यक्ष बनायौं ।

त्यही रात मोदनाथ प्रश्रितको समूहले जनसांस्कृतिक महासंघ खोल्नुभो र त्यसको अध्यक्ष हुनुभो । प्रगतिशील लेखक संघको सामानान्तर संस्था खडा गरियो । प्रगतिशील लेखक संघलाई निस्तेज बनाउने त्यसको अभिप्राय हो कि भन्ने हामीलाई आशंका भो ।

पारिजात त बडो आवेगी । उहाँले भन्नुभो, ‘जसले प्रगतिशील लेखक संघको समानान्तर संगठन बनाएर निस्तेज बनाउन खोज्यो, त्यो साइलक हो ।’

मोदनाथ प्रश्रितलाई साइलक भनियो । साइलक भनेको विलियम सेक्सपियरको अत्यन्त क्रूर नाटक-पात्र हो । एउटा सुदखोर छ । जो उति निर्मम छ कि जसको निर्ममता शब्दमा व्याख्या गर्न गाह्रो छ । म दिदीसँग सहमत भइनँ । मोदनाथजीहरुले जे गर्नुभो, त्यसमा मेरो सहमति थिएन । तर, त्यो कर्म गरेवापत् उहाँलाई जे आरोप लगाइयो, मेरो सहमति भएन ।

म संघको सचिव थिएँ । पारिजातको अपेक्षा के हुँदो हो भने उहाँले टिप्पणी गरेपछि स्वभावतः मबाट समर्थन हुनुपर्ने, त्यो भएन । अनि पारिजात दिदी बहुत रिसाउनुभो ।

जुनवेला म प्रगतिवादमा प्रवेश गरें । त्योवेलाका धुरन्धर प्रगतिवादीहरुहरुमा स्खलन आएको थियो । ताना शर्मा विचलित भइरहेका थिए । कृष्णचन्द्र सिंहको बाटो फरक भएको थियो । डीपी अधिकारी त लगभग राजावादी जस्ता भएका थिए ।

०००

त्यसमा हामीले जुन विचलन देख्यौं, त्योभन्दा बढी विचलन भएको चिज पनि हामी छाप्थ्यौं अहिले त । त्योवेला हाम्रो क्रान्तिकारिताका संकीर्णताहरु थिए । हाम्रा मापदण्डका संकीर्णताहरु थिए । एक किसिमको त्यो हिन्दू ब्रह्माणवाद जस्तो लाग्छ । हामीले त्यो शुद्धताको आग्रह हिन्दू ब्रह्माणवादबाट सिक्यौं ।

अहिले संयोगवश स्रष्टा प्रकाशन भन्ने संस्था भएको भए र म त्यसको अध्यक्ष भएको भए त्योभन्दा धेरै असहमति भएका कुरा पनि छाप्थेँ । किनभने चिन्तन, साहित्यलाई असहमतिका कारण निषेध गर्ने भनेको चिन्तनको तानाशाही हो ।

हामीले त्यो वेला जे गर्‍यौं, त्यो वेलाको समझ र बुझाइअनुसार त्यो एक किसिमको तानाशाही थियो । आजकल म अलिकति उदार भएको छु ।

चिन्तनमा जहाँ ब्रह्माण्डवाद हुन्छ, त्यहाँ अन्य मतलाई सधैं निषेध गरिन्छ । त्यसपछि विचारको बीचमा घर्षण हुँदैन । विचारको बीचमा विवाद हुँदैन । विचारको बीचमा जब घर्षण र विवाद हुँदैन, विचारको विकास नै हुँदैन ।

०००

जुनवेला म प्रगतिवादमा प्रवेश गरें । त्योवेलाका धुरन्धर प्रगतिवादीहरुहरुमा स्खलन आएको थियो । ताना शर्मा विचलित भइरहेका थिए । कृष्णचन्द्र सिंहको बाटो फरक भएको थियो । डीपी अधिकारी त लगभग राजावादी जस्ता भएका थिए ।

त्यस्तो वैचारिक संकटको वेलामा नेपालको वामपन्थी, प्रगतिशील साहित्यको नेतृत्व पारिजातबाटै भएको थियो । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा, वैचारिक, सृजनात्मक दृष्टिकोणबाट पारिजात दिदी आफ्नो समयको नायिका हुनुहुन्थ्यो । पारिजात दिदी मेरी दिदी हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो र मेरो कमरेड पनि हुनुहुन्थ्यो । उहाँको विचारप्रति निष्ठा र जिद्दीको हदसम्मको दृढता थियो, मैले त्यसबाट धेरै कुरा सिकेको छु ।

(लेखक खगेन्द्र संग्रौलाले कास्कीकाे पाेखरामा भएकाे नेपाल लिटरेचर फेस्टिभलमा पारिजातमाथि बोलेको संवादको सम्पादित अंश ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *