‘बा’ को बार्दलीबाट प्रचण्डको सिंहदरबार यात्रा- अब बाटो नबिराउनू
प्रख्यात अमेरिकी हाँस्य व्यंग्यकार मार्क ट्वेनले एकजना मानिसको चर्चा गरेका छन् । त्यो मान्छे मरेपछि उसलाई स्वर्गमा सेन्ट पिटरकहाँ पु¥याइयो । त्यो मान्छेले उसको जीवनभर उत्तर नपाएको एक प्रश्न गर्न मन लागिहाल्यो । उसले सेन्ट पिटरलाई सोध्यो- ‘सेन्ट पिटर, म सेनाको इतिहासबारे धेरै पहिलेदेखि चाख राख्छु । सबैभन्दा ठूलो सैनिक जनरल को हो ?
सेन्ट पिटरले तुरुन्त जवाफ दिए- ‘यो साह्रै सामान्य प्रश्न हो । त्यो मान्छे त्यो कुनामा बसिरहेको छ ।’
‘हजुरलाई भ्रम भयो जस्तो छ’, त्यो मान्छेले अक्क न बक्क हुँदै भन्यो, ‘म पृथ्वीमा हुँदा उसलाई चिन्थें । ऊ त सामान्य मजदुरमात्र थियो ।’
‘त्यो सही हो प्रिय मित्र’, सेन्ट पिटरले उसलाई धाप मार्दै भने, ‘ऊ संसारको सबैभन्दा ठूलो सैनिक जनरल हुन्थ्यो, यदि ऊ सैनिक जनरल भएको भए !’
यो प्रसंग आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मेल खान पुगेको छ । सबैलाई थाहा छ, एकीकृत भइसकेको कम्युनिष्ट आन्दोलन प्रचण्डले प्रधानमन्त्री पद उनले भनेको बेला नपाएर विभक्त भएको थियो । यही कारणले कम्युनिष्टहरूको झण्डै दुइतिहाइ बहुमत भएको संसद भङ्गमात्र भएन, अदालतको परमादेशबाट शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्न पुग्यो ।
भारतको दादागिरीविरुद्ध शीर ठाडो पारेर बोल्ने, देशको गुमेको भूभाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने, देशको विकास र समृद्धिको लागि ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान सञ्चालन गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लोकतन्त्रविरोधी प्रतिगमनकारी भन्दै भारतको लागि ‘कम्फर्टेबल’ सरकार निर्माणमा सबैभन्दा बढी योजनाबद्ध तरिकाले ‘प्रचण्ड’ नै अग्रसर भए ।
प्रधानमन्त्री पदको लालसाको कारण कम्युनिष्ट आदर्श र परम्पराका सबै सीमा भत्काएर, वर्गीय पक्षधरताको दाम्लो चुँडाएर दक्षिणपन्थी शक्तिको सेवा गर्न पुगेका प्रचण्ड निचोरिएको कागतीजस्तो भएर आज पुनः वाम गठबन्धनमा फर्किएका छन् । बालकोट फर्किएका छन् । ‘बा’कहाँ रुँदै रुँदै फर्किएका छन् ।
यतिमात्र होइन, देशको अभिभावक, देश र जनताको हितमा चट्टानी अडान राख्ने, नागरिकता विधेयक जस्तो घातक विधेयकलाई रोकेर देशलाई गम्भीर सङ्कटबाट जोगाउने राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत ‘प्रतिगमनकारी’को बिल्ला भिराउने काम प्रचण्डकै नेतृत्वमा भयो । प्रधानमन्त्री पदको लालसाको कारण कम्युनिष्ट आदर्श र परम्पराका सबै सीमा भत्काएर, वर्गीय पक्षधरताको दाम्लो चुँडाएर दक्षिणपन्थी शक्तिको सेवा गर्न पुगेका प्रचण्ड निचोरिएको कागतीजस्तो भएर आज पुनः वाम गठबन्धनमा फर्किएका छन् । बालकोट फर्किएका छन् । ‘बा’कहाँ रुँदै रुँदै फर्किएका छन् ।
वामपन्थीहरूको एकता टुट्दा दक्षिणपन्थीहरूले टाउको उठाउने मौका पाए, सुरू भइसकेको समाजवादको यात्रा नराम्ररी अवरूद्ध भयो, तीव्रता पाइसकेको देशको विकास रोकियो, स्वाधीन हुने अवस्थामा पुगेको नेपालको अर्थतन्त्र धराशायी र परावलम्बी बन्न पुग्यो, सन्तुलित बन्दै गएको परराष्ट्र नीति पुनः एकलकाँटे बन्न पुग्यो । यो डेढ वर्षको अवधिमा देशले ठूलो नोक्सानी व्यहोर्नुपर्यो ।
भर्खरै सम्पन्न संसदीय निर्वाचनमा न भूतोः न भविष्यति घेराबन्दीबाट जोगिएर नेकपा एमालेले पुनः एकपटक कम्युनिष्ट आन्दोलनको मूल प्रवाह र राष्ट्रिय शक्तिको रूपमा आफूलाई उभ्याएको छ । जनताको रोजाइमा सबैभन्दा ठूलो पार्टीको हैसियत कायम गर्न एमाले सफल भएको छ । एमाले र यसको नेतृत्वलाई विगतमा लगाइएका सबै आरोप खारेज भएका छन् । र, माओवादी केन्द्रलगायतका साना वामपन्थी दलले एमालेसँग सहकार्य नगरी आफ्नो हैसियत बचाउन नसक्ने प्रस्ट अवस्था देखिएको छ ।
पुष्पकमल दाहाल प्रचण्डको पिण्डम् स्थाने पिण्डम् अपेक्षित नै थियो । किनभने उनको सही सहकार्य एमालेसँगै हुनु थियो । देशको, कम्युनिष्ट आन्दोलनको र उनको भविष्य त्यहीमात्र थियो ।
ठूलो हण्डर, ठक्कर खाएर चेतेर वाम गठबन्धनमा फर्केका ‘प्रचण्ड’लाई अढाई वर्ष अवधि सफल प्रधानमन्त्री बनाउनु एमालेलगायत सबै वाम शक्तिको गुरुत्तर दायित्व हो । पदकै लागि फुट्ने र पदकै लागि जुट्ने परम्परा तोडेर देशलाई सही दिशातर्फ दाेहोर्याउन कटिबद्ध भएर लाग्नु देशका कम्युनिष्ट र राष्ट्रवादी शक्तिको प्रमुख अभिभारा हो ।
प्रख्यात नाटककार क्रिष्टोफर मार्लोको वियोगान्त नाटक ‘डक्टर फाउस्टस’का प्रमुख पात्र डक्टर फाउस्टसले भौतिक सुख-सुविधा, ऐश आराम र पद प्रतिष्ठाका लागि आफ्नो आत्मा मेफिष्टोफिलिस नामको राक्षसकहाँ बन्दकी राखेका थिए । तमसुकमा लेखिएको थियो- चौबीस वर्षसम्म डक्टर फाउस्टसका सबै इच्छा पूरा गरिदिने र त्यसको बदला मेफिस्टोफिलिसले डक्टरको आत्मा पाउने । फाउस्टसले बेमौसमी अङ्गुर मगायो, त्यो पायो । उसले आफूलाई राजाको जस्तो हैसियत खोज्यो, त्यो पायो । उसले हजारौं वर्ष पहिलेकी विश्वसुन्दरी हेलेन अफ ट्रोयलाई स्पर्श गर्न चाह्यो, त्यो पायो । र, तोकिएको चौबीस वर्षपछि मेफिस्टोफिलिसका राक्षस गणले विद्वान डक्टर फाउस्टसलाई घिसारेको दारूणिक दृश्यसँगै नाटक सिद्धिन्छ ।
ठीक त्यसरी नै प्रधानमन्त्री पदको लागि कम्युनिष्ट ‘आत्मा’ दक्षिणपन्थी शक्तिलाई सुम्पेका प्रचण्डले यो अवधिमा सर्तनामाअनुसार केही पाएनन्, बरू डक्टर फाउस्टस घिसारिएझैं घिसारिने अवस्थामा पुगे । जुन नेपाली कम्युनिष्टहरूका लागि सह्य कुरा थिएन । हाँसिमजाकको विषय थिएन ।
आजको विकसित परिस्थितिले नेपालका वाम शक्तिलाई पुनः एक ठाउँमा ल्याइपुर्याएको छ । हिजोका कमिकमजोरीबाट सच्चिएर अगाडि बढ्ने अवसर प्राप्त भएको छ । साथै देशलाई माया गर्ने गैरकम्युनिष्ट शक्तिलाई पनि सँगसँगै हिंडाएर जनअपेक्षा पूरा गर्ने अभिभारा एकपटक फेरि कम्युनिष्टको हातमा आइपुगेको छ ।
ठूलो हण्डर, ठक्कर खाएर चेतेर वाम गठबन्धनमा फर्केका ‘प्रचण्ड’लाई अढाई वर्ष अवधि सफल प्रधानमन्त्री बनाउनु एमालेलगायत सबै वाम शक्तिको गुरुत्तर दायित्व हो । पदकै लागि फुट्ने र पदकै लागि जुट्ने परम्परा तोडेर देशलाई सही दिशातर्फ दाेहोर्याउन कटिबद्ध भएर लाग्नु देशका कम्युनिष्ट र राष्ट्रवादी शक्तिको प्रमुख अभिभारा हो ।