गठबन्धनको बाँध फुटाउँदै प्रचण्डले ओलीलाई छाँद हालेपछि देउवा माछो-माछो भ्यागुतो ! – Nepal Press
टिप्पणी

गठबन्धनको बाँध फुटाउँदै प्रचण्डले ओलीलाई छाँद हालेपछि देउवा माछो-माछो भ्यागुतो !

काठमाडौं । राजनीति अनिश्चितताको खेल हो । यसमा कुनै पनि सम्भावनालाई पूर्णरुपमा नकार्न सकिँदैन र कोही स्थायी मित्र वा सत्रु पनि हुँदैनन् भन्ने गरिन्छ । नेपाली राजनीतिमा आज एकाएक उत्पन्न तरंगपूर्ण विकासक्रमले यी दुवै भनाइलाई एकसाथ पुष्टि गरेको छ ।

एक दिनमै यति ठूलो उथालपुथल आइदियो कि आगामी पाँच वर्ष सत्तामा लडिबुडी गर्नका निम्ति मुड बनाएर भएको बसेको कांग्रेस (संस्थापन) नराम्ररी भित्तामा बजारिएको छ । (संस्थापन यस अर्थमा भनिएको हो कि पार्टीभित्रको ‘इतरसमूह’ यो विकासक्रमबाट दुःखी बनेको होला भनेर मान्न सकिने अवस्था छैन । काठमाडौंमा सत्ताको रस्साकस्सी उत्कर्षमा चलिरहँदा पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा पोखरामा जारी साहित्य सम्मेलनमा बुद्धिविलास गर्दै थिए । कांग्रेसको हातबाट सत्ता फुत्किएको खबर थाहा पाएर पनि सायदै हतप्रभ बने हुनन् ।)

भर्खरै कांग्रेस संसदीय दलको चुनावमा शेरबहादुर देउवासँग लज्जास्पद हार व्यहोरेका थिए महामन्त्री थापाले । उनलाई पछाडिबाट ओट लगाएका थिए महामन्त्री शर्माले । तर, देउवाका अगाडि उनीहरुको जोर चलेन । चुनावदेखिको गगनको उत्साहलाई निर्मम ढंगले किचिमिची बनाउँदै देउवा संसदीय दल नेतामा विजयी भए । त्यो जितले देउवालाई छैटौंपटक प्रधानमन्त्रीको कुर्सीमा बसाल्ने निधो गरेको मानिएको थियो । तर, अचानक उनले नसोचेको ट्वीस्ट आइदियो । उनले प्रधानमन्त्री गुमाए, कांग्रेसले सत्ता गुमायो ।

संसदीय राजनीतिको अनुभवी खेलाडी कांग्रेस र सत्ताका चतुर खेलाडी देउवाले कसरी चिप्लिए त ? कसरी प्रचण्डले देउवालाई माछोमाछो भ्यागूतो बनाइदिए ? यसमा दुई प्रमुख कारण छन् । पहिलो कांग्रेसभित्रको आन्तरिक पोलिटिक्स । दोस्रो, एमालेका अध्यक्ष केपी ओलीले सिर्जना गरेको चक्रब्यूह ।

कांग्रेसको संस्थापनइतर समूह देउवालाई प्रधानमन्त्री बनाउन कत्ति पनि उत्साहित थिएन । महामन्त्रीद्वय मात्र होइन, इतर समूहका कुनै पनि नेताहरु सरकार गठनका गृहकार्यमा सरिक भएनन् । देउवाले उनीहरुलाई सहभागी गराउनु आवश्यक पनि ठानेनन् । संस्थापन पक्षका एक नेता इतर समूहले देउवालाई प्रधानमन्त्री बनाउनभन्दा रोक्न भूमिका खेलेको आरोप लगाउँछन् ।

न संस्थापन, न इतरको अवस्थामा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई येनकेन प्रकारेण राष्ट्रपति बन्नु थियो । चुनाव सकिएदेखि आफूलाई प्रधानमन्त्री बनाइदिन देउवासमक्ष याचना गरिरहेका पौडेल पार्टी संसदीय दलको चुनावको अघिल्लो दिन दौडबाट पन्छिएका थिए । प्रधानमन्त्रीको रहरलाई बिट मार्दै उनी राष्ट्रपति बन्ने चक्करमा लागेका थिए । कांग्रेस संस्थापनले प्रधानमन्त्री र राष्ट्रपति दुवैमा दाबी गर्दा देशकै सर्वोच्च पदमा आफू आसिन हुने महत्वाकांक्षाले पौडेलको मुख रसाइरहेको थियो । तर, देउवासँग उनी पनि जिल्लिन पुगेका छन् । सबै देउवालाई च्व… च्व.. गरिरहेका बेला रामचन्द्रको चोट कसले देख्ने ?

त्यसो त संस्थापन पक्षकै रणनीति पनि नराम्ररी फेल भयो । देउवाको किचन क्याबिनेटभित्र चाहीँ प्रचण्डले गठबन्धन छोडेर ओलीलाई छाँद हाल्न जालान् भन्ने विश्वासै रहेनछ । स्रोतका अनुसार देउवा आफू प्रधानमन्त्री बनेर माओवादीलाई राष्ट्रपति छोड्न लचक थिए । तर, राष्ट्रपति पनि कांग्रेसले नै लिनुपर्छ भन्ने जबरजस्त दबाब उनीमाथि थोपरियो ।

निकटस्थहरुले देउवालाई यही भनेर आश्वस्त तुल्याइरहेका थिए कि प्रचण्डले गठबन्धन छाड्नै सक्दैनन् । यदि कथंकदाचित छाडेर बालकोट गइहाले पनि सरकार गठनका लागि आवश्यक बहुमत पुग्दै पुग्दैन भन्ने विश्लेषण गरिएको थियो । यस्तो भ्रम पाल्नुको कारण थियो, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति एमाले अध्यक्ष केपी ओलीको नकारात्मक दृष्टिकोण, एक । अनि, राष्ट्रिय दल राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलार्ई समर्थन गर्दै नगर्ने सूचना, दुई ।

पत्रकारकै रुपमा रवि लामिछाने सबैभन्दा बढी केपी ओलीको आलोचक थिए । त्यसैले उनको पहलमा बनेको गठबन्धनमा लामिछाने आवद्ध नहुने वा ओलीले उनलाई स्थान नदिने विश्लेषण कांग्रेसभित्र गरिएको हो । तर, यसबेला सत्तारुढ गठबन्धन नभत्काइ नछाड्ने अठोट लिएका ओलीले आफ्नो व्यक्तिगत इगो पन्छाउँदै लामिछानेलार्ई रेड कार्पेट ओछ्याएर स्वागत गरे । अर्कोतर्फ, सरकारमा गएर आफूलाई प्रुफ गरी देखाउने व्यग्रतामा रहेका लामिछानेलाई पनि ओलीको अफर के खोज्छस् कानो आँखो भनेझैं भइगयो ।

यता, राप्रपासँग चाहीँ ओलीको व्यक्तिगत वा पार्टीगत सम्बन्धले काम गर्यो । चुनावमा सन्तोषजनक नतिजा ल्याए पनि राप्रपा नेताहरुले आफूहरु सरकारका नजाने बताउँदै आएका छन् । त्यसमा पनि प्रचण्डको नेतृत्व स्वीकार्य हुनै नसक्ने विचार राप्रपाभित्र मजबुद थियो । तर, ओलीले राप्रपा अध्यक्ष लिङ्देनलाई निवासमै डाकेर सहयोग मागे । लिङ्देन सकारात्मक जवाफ दिन बाध्य भए ।

स्रोतका अनुसार आज विहान प्रचण्ड बालुवाटारबाट रन्किएर ओलीलाई भेट्न बालकोट गइसक्दा पनि उनी फेरि बालुवाटार फर्किन सक्ने सम्भावना समाप्त भइसकेको थिएन । उनी निर्णायक छलफलबाट असन्तुष्ट भएर बालुवाटारबाट निस्किँदै गर्दा सरकारका प्रवक्ता तथा देउवानिकट नेता ज्ञानेन्द्रबहादुर कार्की भन्दै थिए, ‘भात खान जानुभएको हो, खाएर आइहाल्नुहुन्छ ।’

तर, देउवाले प्रधानमन्त्री दिन नमानेपछि प्रचण्डको मनभरी भइसकेको थियो, के भात रुच्थ्यो । उनी ‘प्रतिगमनकारी’ ओलीको शरणमा पुगे । ओलीले पनि उनलाई शरण दिए, किनकी उनलाई पनि आफ्नो इगो तुष्टि गर्नु थियो । राजनीति आखिर यस्तै फोहोरी खेल न हो । हिजो अस्तिसम्म एक-अर्कालाई धारे हात लगाएर नथाक्ने दुई कथित कम्युनिष्ट नेता आज फेरि एक–अर्काको अंगालोमा बेरिएका छन् ।

प्रचण्ड बालकोट आएर मात्रै नयाँ गठबन्धनको निर्माण सुनिश्चित हुन सक्थेन, यदि ओलीले कुशलतापूर्वक आफ्नो चालहरु नचलेको भए । यदि बहुमत नपुग्ने स्थिति बनेको भए प्रचण्ड फेरि बतासिँदै बालुवाटार फर्किन सक्थे । तर, ओलीले ठाउँको ठाउँ सरकार गठनका लागि बहुमत जुटाइदिएपछि प्रचण्डलाई हाइसन्चो भयो ।

ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि रास्वपा सभापति रवि लामिछाने, जसपाका अशोक राईदेखि जनमतका अध्यक्ष सिके राउतसम्मलाई पालैपालो बालकोट निम्त्याए । एउटा पार्टी अध्यक्षको निजी निवास अन्ततः सत्ता राजनीतिको केन्द्र बन्यो । बालुवाटार हेर्दाहेर्दै ओझेलमा परिगयो ।

स्मरण गराइरहनु नपर्ला कि भर्खरै सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेर पहिलो पार्टी बनेको छ । यसर्थ, सत्तामा पहिलो दाबी कांग्रेसको हुनु स्वभाविक र प्राकृतिक पनि थियो । उसलाई केन्द्रदेखि प्रदेश सरकारसम्म एकछत्र नेतृत्व गर्ने अवसर पनि नभएको होइन । तर, यतिमा मात्रै कांग्रेसले चित्त बुझाउन सकेन । सरकार प्रमुखसहित राष्ट्रप्रमुख पनि ताक्यो । यसरी चिची र पापा दुवैको लोभ गर्दा कांग्रेसले सबै गुमाएको छ ।

त्यसो त देउवाले आफ्नो अन्तिम समयमा आफ्नो कडा चाल नचलेका होइनन् । ओली र प्रचण्डबीच बालकोटमा कुरा मिलेको खबरसँगै यसलाई भाँड्न देउवाले दुवै नेतालाई फोन लगाएका थिए । स्रोतका अनुसार उनले ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री दिन कांग्रेस तयार रहेको भन्दै मिठो ललिपप देखाए । प्रचण्डलाई पनि त्यसै भने । तर, दुवै नेता त्यसमा लोभिएनन् । लोभिएर जाने अवस्था पनि भएन किनकी बालकोटमा चिजको विकास भइसकेको थियो ।

१७० सांसदहरुको समर्थनले आगामी सरकार गणितीय रुपमा मजबुत बनेको छ । यो यसकारण सकारात्मक कुरा हो कि संसदमा प्रतिनिधित्व गर्ने साना खुद्रे दलहरुको भाउ घट्यो । रास्वपा र राप्रपा जस्ता पार्टीहरुले पनि समर्थन जनाइसकेपछि अन्य मसिना दलहरु र स्वतन्त्रले मन्त्रीका लागि चर्को मोलमोलाइ गर्न सक्ने अवस्था रहेन । तर, यो गणितीय संख्याले मात्रै स्थिर सरकारको ग्यारेन्टी भने हुँदैन ।

सांसदभित्र प्रचण्डको आफ्नो शक्ति भनेको केवल ३२ सिट हो । त्योबाहेकका १३८ सांसदहरु उनको पार्टी बाहिरका हुन्, जसलाई निरन्तर रिझाएर, चित्त बुझाएर उनले सरकार सञ्चालन गर्नुपर्ने हुन्छ । कुनबेला कसको पारो तात्छ र सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ भन्ने टुंगो हुन्न । त्यसमाथि सैद्धान्तिकरुपमा विपिरीत धु्रवमा रहेका पार्टीहरु अप्राकृतिक गठबन्धन हो यो । अरुभन्दा पनि एमाले अध्यक्ष ओलीलाई उनले दिनदिनै कन्याइरहनु पर्ने हुन्छ, जसरी ओली प्रधानमन्त्री बन्दा उनी प्रचण्डलाई दिनदिनै कन्याउन अभिसप्त थिए । ओलीले प्रधानमन्त्रीबाट राजीनामा गर्दा संसदमा अरुणा लामाको गीत उद्वृत गर्दै भनेका थिए, आज एउटा कुना सिलाएर पठायो, भोलि अर्को भ्वाङ लिएर आउनु हुन्छ । भोलि प्रचण्डको यही हालत हुनेवाला छ ।

तत्कालका लागि चाहीँ यो नयाँ गठबन्धनको सबैभन्दा ठूलो लाभग्राही अवश्य पनि पुष्पकमल दाहाल प्रचण्ड नै हुन् । चुनावमा निराशाजनक परिणाम ल्याएर पनि उनी देशको प्रधानमन्त्री बन्न सफल भए । उनको पार्टी माओवादीलाई चिठ्ठा नै परेझैं भयो ।

दोस्रो लाभग्राही एमाले हो । यदि गठबन्धन जिवित रहेको भए एमाले केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट बढारिने स्थिति हुन्थ्यो । राष्ट्रपति, सभामुखमा आँखै लगाउन सक्थेन । तर, अब उसले पाँच वर्षका लागि ढुक्क राष्ट्रपति पाउने छ । सभामुख पनि उसकै भागमा परेको छ । प्रदेशमा कम्तिमा ३ वटा सरकारको नेतृत्व एमालेले गर्ने अवस्था छ । अघिल्लोपटक आफ्नै मुर्खताले सबै सरकारहरु गुमाएका एमाले अध्यक्ष ओलीले यसपाली आफ्नै चतुर्यांइले यो सफलता हात पारेका छन् । यदि प्रचण्डले भद्र सहमतिमा इमान्दारिता देखाए र स्वास्थ्यले साथ दिए अढाइ वर्षपछि प्रधानमन्त्री बन्ने पालो उनकै हो ।

 

 


प्रतिक्रिया

One thought on “गठबन्धनको बाँध फुटाउँदै प्रचण्डले ओलीलाई छाँद हालेपछि देउवा माछो-माछो भ्यागुतो !

  1. राजनीति अनिश्चितताको खेल हो । यसमा कुनै पनि सम्भावनालाई पूर्णरुपमा नकार्न सकिँदैन र कोही स्थायी मित्र वा सत्रु पनि हुँदैनन् भन्ने गरिन्छ । नेपाली राजनीतिमा आज एकाएक उत्पन्न तरंगपूर्ण विकासक्रमले यी दुवै भनाइलाई एकसाथ पुष्टि गरेको छ । हिजो अस्तिसम्म एक-अर्कालाई धारे हात लगाएर नथाक्ने दुई कथित कम्युनिष्ट नेता आज फेरि एक–अर्काको अंगालोमा बेरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर