सीआईबीले डीएसपी ठगबहादुरलाई रुपन्देही प्रहरीको जिम्मा लगायो – Nepal Press

सीआईबीले डीएसपी ठगबहादुरलाई रुपन्देही प्रहरीको जिम्मा लगायो

रूपन्देही । अवैध सुन र घुसकाण्डमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखिएको छ । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले आइतबार साँझ उनलाई बुटवलस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।

केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ता एसपी कमल थापाले सीआईबीको टोली केसीलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएर फर्कने तयारीमा रहेको बताए ।

डीएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानको लागि सीआईबीको टोली खटिएको थियो ।

उनको निवासबाट ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक र ३५ तोला सुन बरामद गरिएको थियो ।

केही दिनअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका उनी सोमबार रमाना लिएर जाँदै थिए । तर, रमाना लिनुअघि नै उनी अनुसन्धान टोलीको नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रवीन्द्र रेग्मीले डीएसपी केसी नियन्त्रणमा रहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *