वीरगन्ज घटना : स्कुलकै भाइस प्रिन्सिपल विद्यार्थीको अपहरण र हत्याका योजनाकार – Nepal Press

वीरगन्ज घटना : स्कुलकै भाइस प्रिन्सिपल विद्यार्थीको अपहरण र हत्याका योजनाकार

काठमाडौं। पर्साको वीरगन्जमा अपहरणमा परेको ३५ दिनपछि मृत अवस्थामा भेटिएका बालकको हत्यामा उनी पढ्दै आएको विद्यालयका भाइस प्रिन्सिपल मुख्य योजनाकार रहेको प्रहरीले दाबी गरेको छ ।

वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वाटोलस्थित श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको पुरानो भवनमा रहेको सेफ्टी ट्याङ्कीमा स्थानीय १४ वर्षीय नीरजकुमार पासवानको शव भेटिएको हो ।

उनी सोही स्कुलमा कक्षा ८ कक्षामा पढ्दै थिए। प्रहरीले गणित शिक्षकसमेत रहेका उक्त स्कुलका भाइस प्रिन्सिपल दिलीपकुमार पटेलसहित दुई जनालाई पक्राउ गरेको छ।

पर्साको धोबिनी गाउँपालिका-१ स्थायी घर भएका पटेल सोही विद्यालयको पुरानो भवनमा रहेको केही कोठा लिएर श्रीमतीसहित बस्दै आएका थिए।

मंसिर ५ गतेदेखि नीरज सम्पर्कविहीन थिए। घटनाको भोलिपल्ट आफन्तले प्रहरीमा निवेदन दिएका थिए। त्यसको १२ दिनपछि आफन्तलाई ५० लाख रुपैयाँ फिरौती मागिएको अनुसन्धानमा खुलेको छ। तर प्रहरीले त्यसबारे मंसिर २५ गते मात्र जानकारी पाएको जनाएको छ। प्रहरीले पुस १० गते पटेल बस्दै आएको भवनको अगाडि पट्टी रहेको सेफ्टी ट्याङ्कीबाट बालकको शव फेला पारेको हो।

पर्सा प्रहरी प्रवक्ता दीपक गिरीका अनुसार मंसिर ५ गते श्रीमती र छोराछोरी माइत पठाएको मौका पारेर पटेलले नीरजलाई कोठामा बोलाएका थिए। कोठामा बोलाएपछि दुई जना सहयोगीको साथमा हात खुट्टा बाँधेर बन्धक बनाउन खोजिएको थियो। तर बालक भाग्न खोजेपछि सोही दिन बदनाम हुन सक्ने डरले उनको हत्या गरेर सेफ्टी ट्यांकीमा शव फालिएको दाबी डिएसपी गिरीको छ।

‘मृतकका बुबाले मुआब्जाबापतको पैसा पाउन लागेको चाल पाएपछि बालकको अपहरण भएको देखिन्छ’, गिरीले भने।

बालक हराएको १२ दिनपछि आफन्तसँग फिरौती मागिए पनि प्रहरीलाई खबर गरे अर्को छोरा पनि मारिदिन्छौँ भन्ने धम्की आएपछि प्रहरीलाई जानकारी प्राप्त हुन ढिलाइ भएको गिरीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *