गृहको ४८ घण्टे अल्टिमेटम पूरा : २२१ सुरक्षाकर्मी फिर्ता – Nepal Press

गृहको ४८ घण्टे अल्टिमेटम पूरा : २२१ सुरक्षाकर्मी फिर्ता

काठमाडौं । गृह मन्त्रालयको ४८ घण्टे अल्टिमेटमपछि नियम विपरीत खटिएका २२१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गर्दै गरेको निर्देशनपछि नियम विपरीत खटिएका २२१ जना सुरक्षाकर्मी फिर्ता भएका हुन् ।

नेपाल प्रहरीबाट नियम विपरित खटिएका १०३ जना सुरक्षाकर्मी फिर्ता भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजीपी) टेकप्रसाद राईले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार फिर्ता हुने क्रम जारी रहेकाले यो संख्या बढ्न सक्नेछ ।

त्यस्तै, सशस्त्र प्रहरी बलबाट ११८ जना सुरक्षाकर्मी फिर्ता भएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पुरुषोत्तम थापाले जनाए । उनका अनुसार कार्यविधि भन्दा बाहिर रहेर खटिएका सुरक्षाकर्मी अरु भेटिएमा उनीहरु फिर्ता फिर्ता हुनेछन् ।

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा नियम विपरीत भए फिर्ता गर्न निर्देशन दिनुका साथै सुरक्षा निकायका सबै इकालाई परिपत्र गरेको थियो ।

त्यसैअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरीत खटिएका प्रहरीलाई फिर्ता भएको गृह मन्त्रालयका सहसचिव डा.भिष्मकुमार भुसालले नेपाल प्रेससँग बताए ।


प्रतिक्रिया

One thought on “गृहको ४८ घण्टे अल्टिमेटम पूरा : २२१ सुरक्षाकर्मी फिर्ता

  1. गृह मन्त्रालय सही व्यक्तिको हातमा परेजस्तो छ । अबको कार्यभार- भेटघाट, सभा गोष्ठी सबै बन्द गर्नुस् । प्रत्येक कार्यालयले दिनुपर्ने सेवाको खबर बुझ्नुहोस् । यस अधिको भ्रष्टाचारकोछानबिन बिस्तारै गरौंला । अब गृह अन्तर्गतको कुनै पनि कार्यालयबाट जनताले पाउने सुविधा विना झन्झट, पैसा नखुवाई समयमा नै हुन्छ भन्ने जनताले अनुभूति गर्ने सक्ने बनाउनुहोस् । त्यसको लागि २४ घण्टा नै आफैं खटनुहोस् कर्मचारीको विश्वास नगर्नुहोस् ती फटाहा छन् भन्ने कुरा मनमा लिनुहोस् ।। बवमासलाई आफैं कारवाही गर्नुहोस् । प्रहरी र सशस्त्र कै कारण देशमा तस्करी बढेक‍ो छ ।तिनलाई निर्मम तरिकाले सुधार्नुहोस् र तस्करी निमिट्यान्न पार्नुहोस् । देखिने गरि गरिएका दुबै काम- सुरक्षा्कर्मी फिर्ता र विदेशीलाई भेटन प्रतिबन्धजस्ता कुरा नगरी नहुने काम थिए । राम्रो भएको छ । जनताले सेवा पाउनुपर्यो । काम गर्नुभयो भने अर्को चुनावमा तपाईको पार्टीले बहुमत ल्याएर तपाईं प्रधानमन्त्री पनि बन्नुहुन्छ । गर्नु भएन भने तपाईं ६ महिना मै ० बन्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *