कवि श्यामल- जसले एमारलेको ‘र’ काटेर बनाए एमाले, सूर्य चिह्न सुझाए (भिडिओ) – Nepal Press

कवि श्यामल- जसले एमारलेको ‘र’ काटेर बनाए एमाले, सूर्य चिह्न सुझाए (भिडिओ)

काठमाडौं । कवि श्यामललाई मधुरो सम्झना छ, पहिलोपटक उनले ‘नदी’ शीर्षकको कविता वाचन गरेका थिए २०२६ सालमा । तर, श्यामलसित उक्त कविता अहिले छैन । २०३१ सालबाट प्रकाशित भएर उनी पाठकसम्म पुग्न थाले । दैलेखको घरमै थियो महाभारत, रामायण । लेखनाथ पौड्याल, माधव घिमिरेहरु पढ्थे ।

उनलाई लाग्थ्यो, यसैगरी छापिन पाए त आहा !’

पौड्याल, घिमिरेले हिँडेको कविताको बाटो पद्यको थियो । अक्षर अक्षर केलाउनुपर्थ्यो । हृश्व-दीर्घ खुट्याउनुपर्थ्यो । पद्यमै आफूले लेख्न चाहेको विषय लेख्न कतै सकिन्न कि भन्ने पनि लाग्थ्यो । जब गोपालप्रसाद रिमाल, भूपि शेरचन पढे, उनलाई यसैउसै गद्यले आकर्षित गर्‍यो ।

२०३१ सालबाट एसएलसीलगत्तै गाउँमै पढाउन थाले । कविता पनि सँगसँगै कोर्न थाले ।

श्यामल सोच्थे, गाउँमै रहिरहँदा मास्टरसम्म हुने हो । मान्छेले पढेर ठूल्ठूला प्रगति गरेका छन् । त्यस्ता प्रगतिका लागि गाउँ नछाडी हुन्न । तर, श्यामलको परिवार उनको चाहनाविपरीत थिए । जसोतसो गाउँमै जागिर पाइएको छ, त्यसैलाई निरन्तरता देओस् भन्ने चाहन्थे ।

तैपनि श्यामलको जिजीविषाले उनलाई गाउँमै रोकेन । नेपालगञ्ज हान्निए ।

झण्डै ५० वर्षअघिको गाउँ छाड्ने वेलाको पल सझिन्छन् श्यामल, ‘मैले जोखिम मोलेर गाउँ छाड्ने वेला गाउँका केटीहरु भेला भएका थिए । सातजना केटीहरुले ‘पढ्न जाने भए हाम्रो गहना लगेर जानू’ भनेका थिए । गाउँमा केटीहरुमाझ पनि म त्यति प्रिय थिएँ । तर, मैले त्यो लिइनँ ।’

चार दिनको बाटो हिँडेर भतिजसँग नेपालगञ्ज झरे । आईए पढ्न सुरु गरे । सँगै राजनीतिप्रति पनि चाख थियो । समाज परिवर्तन गर्नुपर्छ भन्ने भोक थियो श्यामलको । तत्कालीन अवस्थाको सामाजिक परिवेशले कहीँ पनि पुर्‍याउँदैन, उही पुरानै ढर्राबाट समाजलाई डोर्‍याउँछ भन्नेमा विश्वस्त थिए ।

श्यामल सुनाउँछन्, ‘२०३४ सालदेखि नेपालगञ्जमै राजनीतिक रुपमा यति सक्रिय भएँ कि जेल परिरहन्थें । वामपन्थी आन्दोलनमा होमिएकाले पुष्पलालजीसँग नेपालगञ्जमै सम्बन्ध स्थापित भयो । तर, पार्टीगत होइन, व्यक्तिगत हिसाबले ।’

०००

हरिहर अधिकारीबाट ‘श्यामल’को न्वारन

‘हाम्रै समयमा हाम्रै पुस्ताले संघर्ष गरेर मुलुकलाई राजतन्त्रबाट मुक्त गर्‍यो । लोकतन्त्र आयो’, व्यवस्था बदलिएको प्रसंगमा प्रफुल्लित सुनिन्छन् श्यामल ।

श्यामलहरुले राजतन्त्रको विश्रामको घण्टी पाँच दशकअघि नै देखिसकेका थिए । २०३५ सालमा काठमाडौं टेकेका उनले त्यतिवेलै राजतन्त्रको विकल्प महसुस गरिसकेको बताउँछन् । तर, समय गुज्रनु त धेरै थियो नै ।

पञ्चायतकालमै हो, श्यामलले आधा दर्जन जति नामको कपिराइट लिएको । कहिले नक्षत्र शर्मा भए, कहिले हरिश दिक्पाल त कहिले हरिहर शास्त्री भए । कहिले के भए ।

उनलाई न्वारनको नाम हरिहर अघिकारी मनै परेको थिएन ।

हरिहर एक त धार्मिक नाम थियो । संगत र स्वभावले उनी नास्तिक थिए । अनि उनले आफ्नो नयाँ न्वारन गरे, श्यामल । यद्यपि यो नाम पनि कृष्ण र धर्मसँगै जोडिन्छ ।

एकातिर पञ्चायतकाल, छद्म नामको विकल्प हुँदैन थियो । अर्कातिर छुट्टै व्यक्तिगत प्रसंग पनि छ हरिहर अधिकारीले श्यामल नाम जुराउनुमा । अनेक नामको परीक्षण गरिरहनेहरुमा सबैभन्दा अग्रपंक्तिमा आउँछन् कविहरु । केदारमान व्यथित, रमेश विकल, गोविन्दबहादुर गोठाले, मन्जुललगायत पृथक नामहरुमा जमानादेखि नै कविहरु अल्झन्थे । त्यसमा एक थप भएका थिए श्यामल । भलै पछिल्लो समय पनि आफ्नो फरक नाम राख्ने कविहरुको सूची लामै बन्छ ।

यसरी फरक नाम राख्नुमा श्यामलको तर्क छ, ‘यसको पछाडि आफूलाई छुट्टै व्यक्तित्वको रुपमा उभ्याउने लालसाले काम गर्छ । अलिकति पृथक, युनिक देखिने प्रयत्नले काम गर्छ । मेरो सिलसिलामा चाहिँ अर्को थप कारण पनि छ, दृष्टिलगायत पत्रिकामा काम गर्दा मैले नै समाचार लेख्नुपर्ने, लेख लेख्नुपर्ने, अनेक लेख्नुपर्ने । तर, नाम त चाहियो, नत्र मान्छेले विश्वास गर्दैनन् । त्यसैले फरक नाम राखें । साहित्यमा चाहिँ श्यामल स्थापित भयो । तर, ताना शर्माले चाहिँ खासै रुचाउनुभएन ।’

ताना शर्माले श्यामल नाम मन नपरेको बताएपछि उनले भनेका थिए, ‘मलाई मेरो हरिहर नामै मन परेन दाइ । अधिकारी थर त ठीकै छ । यो हरिहर चाहिँ बढी धार्मिक भयो । म नास्तिक हुँ । यो नाम परम्परावादी भयो ।’

०००

नयाँ सडकको पीपलबोट : वामपन्थी, मण्डले साहित्यकारको जमघट थलो

२०३६ सालको सुरुदेखि श्यामलहरुको जंक्सन बन्यो, नयाँ सडक पीपलबोट ।

साहित्यकार तथा राजनीतिज्ञ नारायण ढकाल भूमिगत थिए । मीनबहादुर विष्ट, विमल निभा, राजव, श्यामलहरुको विश्राम कक्ष पीपलबोट थियो । निभाले ‘लहर’ पत्रिका चलाउँथे । सम्पादक तीनजना थिए- निभा, राजव र ढकाल ।

पीपलबोट श्यामललगायत विद्रोहीहरु भेला हुने र सूचना आदानप्रदान गर्ने थलो थियो । सँगै पञ्चायती व्यवस्थाले खटाएका जासुसहरु के हुँदैछ भनेर आउने नै भए । एकातिर वामपन्थी साहित्यकारको जमघट, अर्कातिर कांग्रेसी साहित्यकारको जमघट र अर्कातिर मण्डले साहित्यकारको जमघट ।

श्यामल सुनाउँछन्, ‘पीपलबोट एरियालाई साहित्यकारको थलो बनाउने भूमिका चाहिँ बालमुकुन्द देव भट्ट र उत्तम कुँवरले सुरु गरेका थिए । त्यहाँ इन्दिरा रेस्टुरेन्ट थियो । मोती होटेल थियो । ती ठाउँमै वेलावेला चिया-मदिरा पार्टी पनि कुँवरले दिने गरेका थिए ।’

कविहरु द्वारिका श्रेष्ठ, मदन रेग्मी पनि पीपलबोटमै । कवि भूपि शेरचन पनि पीपलबोटमै । शंकर लामिछाने पनि त्यतै वरिपरि । नारायणगोपाल त झनै त्यतै वरिपरिका मान्छे । शशि शाह पनि त्यतै । कलाकार, चित्रकार, कवि, लेखक ठोक्किने ठाउँ ।

श्यामल भन्छन्, ‘हामीहरु सँगै भेट्न कहाँ जाने त ? मानिसलाई त अभिव्यक्ति पनि चाहिन्छ नि ! सूचना आदानप्रदान हुने उत्तम ठाउँ नै पीपलबोट थियो ।’

२०३६ सालको जनमत संग्रहपछि थोरै खुकुलो भयो ।

श्यामलहरु आफ्नो विचार राख्न सामूहिक पत्रिका निकाल्थे । उनका धेरै साथीहरुलाई त रुपरेखा पत्रिकाले लाइमलाइटमा ल्याइदिए । अम्बर गुरुङ, गोपाल योञ्जनको संगीत यात्रालाई साथ दिने काम रुपरेखाले नै गर्‍यो । राल्फालाई सबैभन्दा बढी स्पेस रुपरेखाले नै दियो ।

नयाँ सडकको पीपलबोट विचारको विमर्श हुने ठाउँमात्रै थिएन । कुरा काट्ने ठाउँ पनि त्यही थियो । हिन्दी र अंग्रेजी पत्रिका त्यतै वरिपरि पाइन्थे ।

‘राजनीतिक गफ त के हो के हो ! कुरै हुँदैन थियो । खुलेर बोल्दा मण्डले वा जासुसहरु वरिवरि हुन्थे । कवि उपेन्द्र श्रेष्ठ आउँदा राजनीतिक कुरा गर्नै मिलेन’, श्यामल थप्छन्, ‘मोहन कोइराला कांग्रेसी थिए, कुरा गर्न झनै मिलेन । भित्रतिर रेस्टुरेन्ट, भट्टीतिर पस्दा चाहिँ राजनीतिक गफ हुन्थे ।’

कतिसम्म भने श्यामल, निभा, राजव र ढकालको समूहलाई खगेन्द्र संग्रौलाले चीनको ग्याङ अफ फोर्स भनेर आरोपै लगाएका थिए । तर, उनीहरु भेट्दा भने निर्मम भएर एक-अर्काको सृजनामाथि समीक्षा गर्थे, एकअर्काको आलोचना गर्थे ।

०००

नयाँ सडक र मदिराको साइनो

श्यामलका अनुसार कवि हरिभक्त कटुवाल हल्लिने ठाउँ त्यतै थियो । बागबजारतिर भट्टी त थिए तर, नयाँ सडकतिर अलि ज्यादै । कटुवालसँग दुई रुपैयाँ गिलास रक्सी पिएको सम्झना श्यामलको स्मृतिमा अझैसम्म तजोताजा छ ।

श्यामलको तर्क छ, ‘मदिरा खाने भनेको हिप्पीइजमको अर्को प्रतिविम्ब हो । राज्यलाई गाली गर्ने, अराजक बन्ने बहाना पनि मदिरा थियो । त्यो वेला रक्सी पिउने निहुँले पनि भेट्थ्यौं । मनु बज्राकी आउँथे । विमल कोइराला, कृष्णभूषण बल भएपछि महाबौद्धकोे गुरुवाचार्यको पसलमा छिर्थ्यौं ।’

छेवैमा हरि दाइको पसल भन्ने थियो । उक्त भट्टी कांग्रेसी मान्छेहरुको जंक्सन थियो । हरि अधिकारीहरु त्यहाँ भेटिन्थे । अलि पर नारायणगोपाल, शशि शाहहरुको मदिरा जंक्सन थियो । कहिलेकाहीं श्यामलहरु त्यता पनि पुग्थे, वैचारिक रस्साकस्सी गरेर फिर्थे ।

अर्कातिर झरना रेस्टुरेन्ट भवानी घिमिरे, श्यामल, बल, निभा, ढकाल, राजवलगायतको मदिरा पकेट एरिया थियो । अलि पछि केही चाहिँ जस्मिन भन्ने भट्टीतिर गए । अचेल भने आलोपालो भन्ने ठाउँमा जान्छन् ।

मदिरा गफमा हुने कुराबारे श्यामल भन्छन्, ‘ती सबै ठाउँमा हाम्रो रचनात्मक संवाद हुन्थ्यो । मण्डले र जासुसहरु छलेर छिरेका त्यस्ता ठाउँमा वैचारिक, राजनीतिक गफ हुन्थे । कतिपय योजनाहरु भट्टीमै हुन्थे ।’

संग्रौलादेखि राजवसम्म, मनु बज्राकीदेखि नारायाणगोपालसम्म, भूपिदेखि शशि शाहसम्म सबै पिउँथे । श्यामल जति नै पिउँथे । तर, श्यामललाई भने ‘पियक्कड’ ट्याग लाग्यो । जो आजसम्म यथावत छ । पियक्कडको विम्ब श्यामल कसरी बने ?

‘साथीहरु आफैंलाई ढाँट्छन् । अरुलाई ढाँट्छन् । मलाई त्यसो भन्ने कतिपय साथीहरुले ओछ्यानमा भोमिट गरेको देखेको छु । चारपाँच दिन खाएर घर नगई बसेको देखेको छु’, श्यामल आक्रोशित हुन्छन्, ‘समाजलाई, व्यक्तिलाई हानी नगरेसम्म त्यो कसैको निजी मामला हो । जब हानी गर्न थाल्छ, अलिकति फरक विषय बन्न जान्छ ।’

आफूले राम्रैसँग पिउने गरेको तर कसैले उत्तेजित बनाउन खोज्दा उत्तेजित भइहाल्ने स्वभाव रहेको श्यामलको स्वीकारोक्ति छ । उनी भिक्टोरियन कालको उदाहरण दिन्छन् । उक्त कालको एक समीक्षकले भनेका छन्, ‘भिक्टोरियन कालमा किन वीर रसको कविता ज्यादा लेखिए भन्दा कोही ध्यानमा बसिरहेको छ, त्योवेला कसैले हथौडाले ड्याम्म टाउकोमा हान्यो भने ऊ ईश्वर सम्झेर बस्दैन नि, प्रतिकार गर्छ ।’

श्यामल उत्तेजित हुन्छन्, ‘उनीहरु आफ्नो पैसाले खाँदैनन् । मेरो पैसाले खान्छन् । भूपिले पनि भन्थे, मलाई साथीहरुलाई खुवाउँदा आनन्द आउँछ ।’

तर, मान्छेहरु सृजनाको ओज र शक्तिको मापनतिर नलागेर अन्य व्यक्तिगत आचरण र स्वभावमै रुमल्लिएको श्यामलले उतिसाह्रो इन्जोय गर्दैनन् । भूपिलाई केटीको नाममा बदनाम गरे । जँड्याहा भनेर तथानाम भने ।

उनको तर्क छ, ‘त्यो भनेको भूपिको कवितासँग जुध्न नसकेर अन्य ठाउँ खोजेका हुन् । यो विषयमा बासु शशि, ईश्वर बराल, ध्रुवचन्द्र गौतमसँग झगडा गरेको छु ।’

भूपि बितेको एक वर्षपछि श्यामलले बराललाई भनेका थिए, ‘बरालजी, ल भन्नुस्, तपाईंहरुले भूपिलाई सम्झने कारण के हो ? मानिस मरेर गइसक्यो, उसको योगदानको कुरा गर्ने कि सडकमा सुतेको थियो भनेर भन्ने ?’

यसबारे श्यामलले दृष्टि साप्ताहिकमा एक लेख पनि छापेका छन् ।

‘हरिभक्तको बदनाम गरे । तर, उनैको पैसाले रक्सी खाएर बदनाम गरे । ती साथीहरु, जो मेरो बदनाम गर्छन्, मेरै पैसाले खाएर गर्छन् । उनीहरु सत्यसँग साक्षात्कार गर्न रुचाउँदैनन् । नक्कली कुरा गरेर हिँड्छन्’, श्यामल सुनाउँछन्, ‘मेरा साथीहरु परम्परागत समाजका अवशेष हुन् । उनीहरु ढोंगी हुन् । त्यो ढोङ हो । साथीहरुले त्यसलाई कायम गर्नुभा’छ ।’

०००

एमारलेबाट ‘र’ काटेर एमाले

मनमोहन अधिकारीको नेकपा मार्क्सवादी र नेकपा मालेबीचमा एकता भयो २०४७ सालमा । त्यसवेला नेता र कार्यकर्ताबीच हैसियतका कारण व्यवहार गर्नुहुँदैन, सृजनात्मक हस्तक्षेप गर्नुपर्ने भन्ने लाइनमा थिए श्यामलहरु । मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा मार्क्सवादी फुटाएर सहाना प्रधानले छुट्टै समूह गठन गरेकी थिइन् ।

माले पूर्वबाट फैलिएर आएको थियो । झापा विद्रोहको जगबाट उठेको माले देशैभर फैलिरहेको थियो । पश्चिममा वामदेव गौतमले मालेको रफ्तार बढाएका थिए । सीपी मैनाली, राधाकृष्ण मैनाली, केपी ओलीहरुले उठाएको मालेको अघि अन्य वामपन्थी पार्टीहरु स-साना देखिन थालेका थिए ।

तर, मालेमा एउटा समस्या थियो । जुझारु कार्यकर्ता थिए । फेसभ्यालु भएको नेतृत्व थिएन । गणेशमान सिंह स्वयंले भनेका थिए, ‘को हो तिमीहरु ?’ सिंहको आशय नेतृत्व गतिलो नहुनुमाथि प्रश्न थियो । देशैभर फैलिए पनि अधिकांश भूमिगत जस्तै थिए । को नेता, को कार्यकर्ता खुट्याउन गाह्रो थियो ।

त्यसैवेला मदन भण्डारीको नेतृत्वमा पार्टी एकता हुने भयो । अधिकारी ठूला नेता थिए । देखाउन फेसभ्यालु पनि थियो । तर, कार्यकर्ता थिएनन् । मालेसँग कार्यकर्ता थियो, गतिलो नेता थिएन । यही कारण मार्क्सवादी र मालेबीच एकीकरण सम्भव भएको श्यामलको तर्क छ ।

पार्टी एकीकरण भयो, एकीकृत मार्क्सवादी र लेनिनवादी । छोटकरीमा ‘एमारले’ ।

श्यामल भाषामा दख्खल राख्थे । ढकालको सम्पादकीय मण्डलमा दृष्टि साप्ताहिकमा काम गरिरहेका थिए । श्यामल सुनाउँछन्, ‘पार्टी एकीकरण हुनु ठूलो समाचार थियो । मैले नै ब्यानर न्युज लेखें । एमारलेको ठाउँमा ‘र’ बीचमा भएन भनेर ‘र’लाई काटिदिएँ र एमालेमात्रै राखें ।’

समाचार छापियो । समाचारका कारण मार्क्सवादीका नेताहरुले विमति राखे । शरणविक्रम मल्ल र तिलक पराजुलीले त पार्टी नै छाडेर गए । पत्रिकामा ‘र’ काटिएर बनेको एमाले जनताबीच लोकप्रिय बन्यो । सबैले एमाले भन्न थाले । सञ्चारमाध्यमले पनि एमाले नै लेख्न थाले ।

पार्टी पंक्तिलाई श्यामलको कदम मान्य हुने सवालै भएन । श्यामललाई कारबाही गर्ने कुरा गरे । कारबाही त गर्ने तर, के कारणले गर्ने ? श्यामलको एमालेप्रति झुकाव भए पनि एमालेको सेलमै थिएनन् । अर्कातिर विमर्श साप्ताहिकले जागिरका लागि अफर गरिरहेको थियो । यता दृष्टिमा विनातलब जस्तै काम गरिरहेका थिए ।

पार्टीका सचीव नारायण ढकाल सम्पादक थिए । श्यामलले काटेको ‘र’प्रति उनले पनि विमति राखेनन् । श्यामलले पनि भनेका थिए, ‘हेर नारायण, यो रले भन्दा राम्रो सुनिँदैन । अनि मैले र काटिदिएँ ।’

ढकालको जवाफ थियो, ‘ठीकै गरिस् ।’

पछि ढकाललगायतले पार्टी बैठकमा कुरा मिलाए । त्यसवेलासम्म एमाले नै स्थापित भइसकेको थियो ।

सूर्य चुनाव चिह्नमा पनि श्यामलकै भूमिकाले काम गरेको थियो । त्यसवेला वामपन्थी पार्टीहरु एउटै कुरामा रम्ने खराब प्रवृत्तिबाट गुज्रिरहेको बताउँछन् श्यामल । बाह्र, तेह्रवटा वामपन्थी पार्टी । सबैको चुनाव चिह्न हँसिया हथौडा । त्यसमा थप कसैको सानो तारा, कसैको खुर्पे जून ।

२०४८ सालको चुनाव नजिकिँदै थियो । महासचिव भण्डारीलाई सुनकोसी छापाखाना कालिमाटीमा श्यामलले भने, ‘मदनजी, पार्टी मिलाएर ब्रेक थ्रु गर्नुभो । अब अर्को ब्रेकथ्रु गर्नुपर्‍यो ।’

‘कस्तो ब्रेक थ्रु ?’

‘तपाईंहरु निर्वाचन चिह्न बदल्नुस् । यो हँसिया हथौडा त अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको झण्डा भइगयो नि ! निर्वाचनमा जाँदा जनताले अत्यन्त माया गर्ने चिह्न लिएर जानुस् ।’

सुरुमा त भण्डारी अनकनाए । चुनाव चिह्न नै फरक पारिदिने भएपछि महासचिव स्वयं अप्ठ्यारोमा पर्न सक्थे । पार्टीमा छलफल पनि गर्नुप¥यो ।

श्यामलले सुझाव दिए, ‘सूर्य चिह्न राख्नुस् । नेपालका जुनसुकै धर्मका मानिसले पनि पूजा गर्छन् सूर्यलाई । निरक्षर मतदाताले पनि चिन्ने भए । झापाली क्रान्तिकारीबाट पार्टीको विकास गराउनुभएकाले सूर्य पूर्वबाटै उदाउँछ । तपाईंहरुको लाल साहित्य भनेकै सूर्य हो ।’

‘खै, कुरा त ठीकै हो । एकपटक कमरेडहरुसँग कुरा गर्छु । उहाँहरुले मान्नुहोला जस्तो लाग्दैन ।’

पछि एमालेले सूर्य चिह्न पनि पारित गर्‍यो । २०४८ सालको आमनिर्वाचनमा ६८ सीट जित्यो । ‘र’ काटेको, सूर्य चिह्नको आइडिया दिएकोबारे श्यामलले बोलेकै थिएनन् । केही समयअघि एमाले नेता ईश्वर पोखरेल स्वयंले श्यामललाई सम्मान गर्ने कार्यक्रममा भनिदिए, ‘तपाईंहरुलाई थाहा छ ? हाम्रो सूर्य चिह्न श्यामलजीले गर्दा भएको हो ।’

०००


प्रतिक्रिया

2 thoughts on “कवि श्यामल- जसले एमारलेको ‘र’ काटेर बनाए एमाले, सूर्य चिह्न सुझाए (भिडिओ)

  1. सुर्य चिन्ह पद्मरत्न तुलाधरले राखेकाे भन्ने पनि सुनेकाे थिएँ । खास के हाे ? उहाँ त अहिले हुनुहुन्न ।

    1. पद्मरत्नले चुनाव मा अवसर प्रयोग गरेका हुन् जस्तै अस्ति हृदयस त्रिपाठी र कमल थापाले झै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर