दुई विशाल छिमेकीको आँखामा प्रचण्ड सरकार कति कम्फर्टेबल ?
काठमाडौं । एक समय नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक अन्तर्वार्तामा आफ्नो नेतृत्वको सरकार छिमेकी देश भारतका लागि पनि ‘कम्फर्टेबल’ हुने दाबी गरेका थिए । उनको त्यस अभिव्यक्तिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बारम्बार घोचपेच र कटाक्ष गर्ने गरेका छन् ।
अहिले आएर ती नै ओलीले जुटाइदिएको बहुमतको बलमा प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् प्रचण्ड । पहिले दाबी गरे झैं प्रचण्ड नेतृत्वको सरकार दक्षिणी छिमेकीका लागि ‘कम्फर्टेबल’ हुन खोज्ला कि दुवै छिमेकीलाई समदूरीमा राखेर कूटनीतिक सन्तुलन मिलाउला भन्ने प्रश्न छ ।
प्रचण्डले प्रधानमन्त्री बनेलगत्तै पहिलो अन्तर्वार्ता भारतीय मिडियालाई दिए । सो अन्तर्वार्र्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुनसक्ने संकेत गरेका छन् । आजै भारतीय राजदूतले प्रचण्डलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देशसमेत हस्तान्तरण गरे । प्रधानमन्त्री बन्नुअघि पनि भारतीय राजदूतले प्रचण्डलाई भेटिसकेका थिए ।
यी यावत् घटनाक्रमले प्रचण्डले दक्षिण छिमेकीप्रति कम्फर्टेबल बन्न खोजेको आशंका उब्जिन्छ । यद्यपि, अहिल्यै निष्कर्षमा पुग्नु भने हतारो हुनेछ ।
पछिल्ला राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दा नेपालको सत्तायात्रा गर्ने राजनीतिक पार्टी र तिनको नेतृत्वलाई कहिले चीनमुखी त कहिले भारत वा अमेरिकामुखीको ट्याग लाग्ने गरेको छ । सोही कारण पनि हाल नेपाली राजनीतिमा आएको अप्रत्याशित हलचलको पराकम्पन छिमेकी मुलुक चीन र भारतसम्म महसुस भएको बुझ्न सकिन्छ ।
दश वर्षे जनयुद्धको नेतृत्व गरिरहेको बखत आफ्नो अधिकांश समय भारतमा बिताएका ‘प्रचण्ड’ पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दलका नेताको हैसियतमा प्रधानमन्त्री बनेपछि भने पहिलो विदेश भ्रमणको गन्तव्य चीनलाई बनाए । यस्तै अमेरिकी सम्झौता एमसीसीको सन्दर्भमा पनि ‘प्रचण्ड’ चीनपरस्त देखिएको आरोप लागेको थियो ।
नेपालको ४४औं प्रधानमन्त्रीको रुपमा प्रचण्डको आगमन हुनु धेरै नेपालीलाई जस्तै छिमेकी मुलुक चीन र भारतलाई पनि एउटा अनपेक्षित खबर नै थियो । तर, यसो भनिरहँदा प्रचण्ड भारत र चीनको लागि नितान्त नयाँ व्यक्ति भने होइनन् । आधिकारिक रुपमै पनि यी दुई राष्ट्रले प्रचण्डसँग ‘डिल’ गर्न थालेको एक दशकभन्दा बढी समय भइसकेको छ । तर, भारतको दृष्टिकोणबाट हेर्दा भारतले प्रचण्डलाई चीनपरस्त नेताको रुपमा लिन्छ भन्न सकिन्छ ।
प्रचण्डलाई एक व्यवहारिक र लचिलो नेताको रुपमा लिन सकिन्छ । यद्यपि उनको भरपर्दो नेताको छवि भने छैन । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका संकाय सदस्य तथा नेपाल नीति अनुसन्धान संस्थान (NIPORE) का सह-संस्थापक कूटनीतिज्ञ सन्तोष शर्मा पौडेलको भनाइमा चीनले नेपालको प्रधानमन्त्रीको रुपमा देख्न चाहेका दुई व्यक्तिमध्ये पहिलो नम्बरमा केपी ओली र दोस्रो नम्बरमा प्रचण्ड हुन् ।
‘चीनले अहिलेको नेपालको राजनीतिक हावा आफ्नो दिशामा बगिरहेको महसुस गरेको छ’, उनी भन्छन् ।
प्रचण्डले भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा आफू न चीनमुखी न त भारतमुखी रहेको दाबी गरेका छन् ।
‘सुरुदेखि नै मैले भनिरहेको छु, म प्रो-नेपालवाला लाइनमा छु । भारत, चीन र अरू जति पनि हाम्रा अन्तर्राष्ट्रिय मित्रहरूसँग राम्रो सम्बन्ध बनाउनु हाम्रो उद्देश्य हुनेछ’, उनको भनाइ छ ।
छिमेकी मुलुकसँग सन्तुलित र परस्पर सम्बन्ध राख्ने नेपालको घोषित परराष्ट्र नीति हो । तर, व्यवहारमा भने त्यस्तो पाइँदैन । जुनसुकै सरकारको ढल्काइ पनि अपवादमा बाहेक भारततिरै भएको पाइन्छ । भारतसँगको खुला सीमा र मिल्दोजुल्दो सामाजिक-साँस्कृतिक परिवेश यसका मुख्य कारण हुन् ।
पछिल्लो समय भारत र चीनमात्र नभई अमेरिका तथा अन्य मध्यपूर्वी राष्ट्रहरु पनि नेपालको रणनीतिक साझेदारको रुपमा देखापरेको अवस्थामा प्रचण्डले अन्तर्राष्ट्रिय समुदायबीच आफूलाई कुन रुपमा प्रस्तुत गर्नेछन् भन्ने विषय महत्वपूर्ण हो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चीनसँग भएका व्यापार तथा पूर्वाधारसम्बन्धी धेरै परियोजनाले प्रचण्डको कार्यकालमा गति लिने चीनको विश्वास छ । प्रचण्डले पदभार सम्हालेलगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नयाँ सरकारसँग बेल्ट एन्ड रोड क्षेत्रअन्तर्गत सहकार्य हुने र रणनीतिक साझेदारी विस्तार गरिने विश्वास प्रकट गर्नु यसको ज्वलन्त उदाहरण हो । प्रचण्डले पदभार ग्रहण गरेको भोलिपल्टै दुई देशबीच बेल्ट एण्ड रोड रेल लिंक निर्माणको सम्भाव्यता अध्ययनको काम सुरु गर्न ६ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आउनु, कोरोना महामारीदेखि बन्द रहेका नेपाल-चीन नाकाहरु खुल्दै जानु केबल संयोगमात्र हुन नसक्ने पनि केही जानकारहरु दाबी गर्छन् । वर्तमान सरकार देशका दुई मुख्य कम्युनिष्ट पार्टी मिलेर बनेको हुनाले चीनका लागि केही सहज देखिए तापनि यसभित्र पनि पूर्ण रुपले वैचारिक एकरुपता छैन भन्ने यथार्थबाट शक्ति राष्ट्रहरु बेखबर छैनन् ।
यसै सन्दर्भमा नेपालका लागि पूर्वभारतीय राजदूत तथा काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया-नेपाल सम्बन्धका लेखक रञ्जित राय भने केही फरक धारणा राख्छन् । हालैमात्र अन्तर्राष्ट्रिय मिडिया साउथ चाइना मर्निङ पोस्टका लागि दिएको एक अन्तर्वार्तामा रायले प्रचण्ड नेतृत्वको सरकारले भारत र नेपालबीचको सम्बन्धमा व्यापक परिवर्तन नआउने धारणा राखेका छन् ।
‘नयाँ दिल्लीसँग प्रचण्डको राम्रो सम्बन्ध छ, उनी भारतसँग गहिरो संलग्नता र सहयोग देखाउने व्यक्ति हुन्’, उनको भनाइ छ ।
यस्तै जवाहरलाल नेहरू विश्वविद्यालयकी इनर एसिया स्टडी सेन्टरकी प्राध्यापक संगीता थपलिया पनि भारतले वर्तमान समयमा नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगरी कनेक्टिभिटी लिंकदेखि विद्युत उत्पादनसम्मको पूर्वाधार जस्ता ठोस परिणामहरूमा धेरै ध्यान केन्द्रित गरिरहेको हुनाले नेपालमा जुनसुकै नेतृत्व आए पनि भारतसँग असहज परिस्थिति निर्माण नहुने विश्वास व्यक्त गर्छिन् ।
नेपालमा अन्तर्राष्ट्रिय लगानीको वातावरण मिलाउँदा होस् वा अन्य पूर्वाधार विकास गर्ने कुरामा होस्, नेपालको नेतृत्वले भारत, चीन वा अन्य कुनै मुलुकलाई बढी मान्यता दिने वा फरक व्यवहार गर्न नहुने कूटनीतिज्ञ पौडेलको मान्यता छ ।