मेरो भित्री दिलले राष्ट्रिय सहमतिको सरकार चाहिन्छ भन्दैछः रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमाथि विभिन्न खाले खतरा उत्पन्न भएको भन्दै राष्ट्रिय सहमतिको आह्वान गरेका छन् । उनले अझै पनि राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास गर्नुपर्नेमा जोड दिए ।
स्पिकर्स फोरम नेपालले आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै पौडेलले आफ्नो दिलले यस्तो बाटो देखाएको बताए ।
उनले भने, ‘यो देशलाई र डेमोक्रेसीलाई जोगाउनका लागि फेरि राष्ट्रिय सहमतिको खोजी गरौं । अहिले पनि राष्ट्रिय सहमतिको सरकारको प्रयत्न गर्नुपर्छ भन्ने लाग्छ । यो मलाई आफ्नो भित्री दिलले देखाएको बाटो हो ।’
पौडेलले एकातिर अर्थतन्त्र खतरनाक अवस्थामा रहेको र अर्कोतिर चीन र भारत हुँदै फेरि कोरोना नेपाल पस्न लागेको उल्लेख गरे । राजनीतिक तथा मानवीय समस्याले घेरिरहेका बेला देश जोगाउने एकमात्र उपाय राष्ट्रिय सहमति नै रहेको उनको दाबी छ ।
‘मैले आफू बाहिर परेँ भनेर यो कुरा निकालेको होइन । म एउटा नेपाली भएर भनिरहेको छु । नेपालीको स्वार्थमा, यो डेमोक्रेसीको स्वार्थमा, ७० वर्ष लडेर प्राप्त गरेको परिवर्तन तथा संविधानको स्वार्थमा फेरि राष्ट्रिय सहमति खोजौं । हामी बाँच्ने बाटो यही नै हो,’ उनले भने ।
अहिले कांग्रेस नेतृत्वको गठबन्धन भत्किनुलाई पार्टीको हातबाट सत्ता गयो भन्ने अर्थमा मात्रै आफूले नरहेको पौडेल बताउँछन् ।
‘मलाई फेरि पनि व्यवस्था र राष्ट्रको चिन्ता लागेको छ,’ उनले भने, ‘त्यसैले अब राष्ट्रिय सहमतिको बाटोमा अघि बढौं ।’
लाजको पसारो । जव जव कांग्रेस सत्ता बाहिर हुन्छ तव तव यिनलाई राष्ट्र र प्रजातन्त्र खतरा मा परेको भन्ने चिन्ता लाग्छ । लाग्छ यिनलाई बाहेक अरू कसैलाई देशको चिन्ता छैन ।