राजनीतिमा नैतिक आदर्श र राष्ट्रसेवकको दायित्व
नेपालको राज्य सञ्चालन तथा सार्वजनिक सेवा प्रवाहमा आवद्ध विभिन्न व्यक्ति तथा पदाधिकारीहरुका विषयमा वेलाबखत नैतिक आदर्श तथा व्यवहारका विषयमा प्रश्न उठाइने तथा आलोचना गर्ने गरेको पाइन्छ । यस्ता काममा संलग्न व्यक्ति तथा पदाधिकारीको आचरण र व्यवहार अनुशरण गर्न योग्य होस् भन्ने आम जनभावना रहेको पाइन्छ । नैतिकको शाब्दिक अर्थ असल आचरण र आदर्शको अर्थ गुण र विचारको अनुशरण गर्न सुहाउँदो व्यक्ति भनी उल्लेख भएको पाइन्छ ।
मानिसले गर्ने हरेक क्रियाकलापले ऊप्रतिको धारणा बन्ने गर्दछ । उसको सोच, बानी व्यहोरा, काम गराई तथा अरुसँग गर्ने व्यवहारले त्यो व्यक्ति के कस्तो छ भन्ने देखाउँछ । यो नै उसलाई जाँच्ने वा मूल्यांकन गर्ने कसी पनि हो । हरेक काम गर्दा असल नियत राखेर गर्ने, सधैं अरुको भलाइ हुने काम गर्ने, खराब काम गर्नबाट आफूलाई अलग्ग राख्ने र के गलत हो र के खराब हो भन्ने छुट्याएरमात्र काम गर्ने बानी नै मानिसको उत्तम गुण हो । यो अन्तरआत्माले सही ठहर्याएर काम गर्ने वैयक्तिक शैली नै आदर्शवादी गुण हो । जसका माध्यमबाट अन्य व्यक्ति वा समूहले ऊप्रतिको धारणा बनाएका हुन्छन् । यो नै नैतिक आदर्शको पहिचान हो ।
सबै नेपाली नागरिक समग्र रुपमा राष्ट्रका सेवक हुन । तर, व्यक्तिलाई तोकिएको जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्वका आधारमा नागरिकलाई राष्ट्रसेवक र गैरराष्ट्रसेवक भनी कानूनले परिभाषा गरेको छ । यसअनुसार कानुनमा तोकिएको प्रक्रिया र पद्धतिअनुसार नियुक्ति, मनोनयन वा निर्वाचित कुनै पनि पदमा बहाल रहेका पदाधिकारीहरु राष्ट्रसेवक र अन्य सबै नेपाली नागरिकहरु गैरराष्ट्रसेवक हुन भनिएको छ ।
मानिस जति पद, शक्ति र जिम्मेवारीमा रहन्छ उति नै ऊ नैतिकता र आदर्शवादी गुणले भरिपूर्ण हुनुपर्छ । पदीय हैसियत भएका र शक्तिको प्रयोग र पालना गर्नुपर्नेहरुको काममा थोरै पनि असावधानीले त्यसबाट उत्पन्न हुने प्रभाव र परिणामले नकारात्मक असर पर्ने हुन्छ ।
राज्यको कानूनद्वारा अधिकार प्रदत्त व्यक्तिहरुको कामकारबाहीले देश र जनताको दैनिक जनजीवनमा ठूलो महत्व राख्ने र यस्ता कामको प्रभाव र असर दूरगामी हुने गर्दछ । यी पदाधिकारीका लागि कानूनबाटै अधिकार, दायित्व तथा काम कर्तव्य के हुन् भनी तोकिएको हुन्छ । तर, को कसको नैतिकता र आदर्श के हुने र यिनको पालना के कसरी गर्ने र व्यवहारमा कसरी प्रयोग गर्ने भनी न तोकिएको हुन्छ न त कसैले गर्न नै लगाउँछ । यो व्यक्तिको निजात्मक गुण हो । उसको अन्तरआत्माले प्रयोग र पालना गर्न निर्देशन गरिरहेको हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने मानिस जति पद, शक्ति र जिम्मेवारीमा रहन्छ उति नै ऊ नैतिकता र आदर्शवादी गुणले भरिपूर्ण हुनुपर्छ । पदीय हैसियत भएका र शक्तिको प्रयोग र पालना गर्नुपर्नेहरुको काममा थोरै पनि असावधानीले त्यसबाट उत्पन्न हुने प्रभाव र परिणामले नकारात्मक असर पर्ने हुन्छ ।
हाम्रो देशमा अहिले पनि सार्वजनिक सेवा प्रवाह प्रभावकारी र गुणस्तरीय नभएको, सेवा प्रवाहमा रहने कतिपय पदाधिकारीले मोलाहिजा गर्ने गरेको तथा सदाचारमा समेत वेलाबखत प्रश्न उठ्ने गरेको पाइन्छ । विकास निर्माणका कामहरु समयमै पूरा नभएका तथा गुणस्तरसमेत कायम गर्न नसकेका गुनासाहरु सुन्न पाइन्छ । व्यक्तिले जब आफू र आफ्नाको स्वार्थमा लोभिन्छ तब ऊ आलोचनाको पात्र हुन पुग्छ । क्षणिक स्वार्थ र लोभलालचले मानिसलाई नैतिक आदर्शबाट विचलित गराउँछ । यसबाट कामको गुणस्तर, जिम्मेवारी र उत्तरदायित्वमा कमी कमजोरी हुनजान्छ ।
व्युरोक्रेटिक प्रणालीमा रहेका पदाधिकारीहरुले कतिपय समयमा आफूले चाहेर पनि सोचेअनुसार काम गर्न पाउँदैनन् । उनीहरुले अमुक शक्ति, व्यक्ति र निकाय एवं समूहको दबाब र प्रभाव झेल्नुपर्ने हुन्छ । मूलतः राजनीतिक पदाधिकारीका निकटत्तम भएर काम गर्नुपर्ने पदाधिकारीहरुले यस्तो दबाब र प्रभाव भोग्नुपरेका दृष्टान्त हाम्रो सार्वजनिक सेवामा पाइन्छ । यस्ता पदाधिकारीहरु जो जसले दबाब र प्रभाव थेग्न सके उनीहरुले आफ्नो नैतिक आदर्श उच्चा बनाएका छन् भने जो थेग्न नसकेर लतारिए उनीहरु आलोचनाका पात्र बनेका छन् । यसबाट के देखिन्छ भने लोभलालच, दबाब र प्रभावले सार्वजनिक सेवाका राष्ट्रसेवकको नैतिक आदर्शमा विचलन ल्याउने गरेको छ ।
कर्मचारीतन्त्र स्थायी सरकार पनि हो । यसर्थ पनि उनीहरुले क्षणिक स्वार्थका लागि आफ्नो नैतिक आदर्श बिर्सन मिल्दैन । उनीहरु कानून, नीति नियम तथा अवस्था र परिस्थितिको समेत जानकार हुन्छन् । सार्वजनिक सेवाका यस्ता जिम्मेवार पदाधिकारीहरुले जबरजस्त कानूनविपरीत हुने तथा अनुचित देखिने काम हुन र गर्नबाट रोक्न सक्नु पर्दछ ।
राजनीतिक नेतृत्व एवं नीति निर्माताहरु जनताप्रति उत्तरदायी हुन्छन् । उनीहरु निश्चित समयका लागि निर्वाचित वा मनोनयन भएका हुन्छन् । उनीहरु निहित स्वार्थ तथा लोकप्रियताका लागि कानून तोडमोड गर्न र मिच्नसमेत हिचकिचाउँदैनन् । जनताको हितका नाममा कहिलेकाहीं उनीहरु अर्को चुनावका लागि आधारसमेत तयार गर्न लाग्छन् । तर, सार्वजनिक सेवामा नियुक्त पदाधिकारीहरु कानूनबमोजिम तोकिएको अवधिसम्म आफ्नो सेवामा कायम नै रहन्छन । समग्र कर्मचारीतन्त्र स्थायी सरकार पनि हो । यसर्थ पनि उनीहरुले क्षणिक स्वार्थका लागि आफ्नो नैतिक आदर्श बिर्सन मिल्दैन । उनीहरु कानून, नीति नियम तथा अवस्था र परिस्थितिको समेत जानकार हुन्छन् । सार्वजनिक सेवाका यस्ता जिम्मेवार पदाधिकारीहरुले जबरजस्त कानूनविपरीत हुने तथा अनुचित देखिने काम हुन र गर्नबाट रोक्न सक्नु पर्दछ । उनीहरुबाट यस्तो काम हुने त कल्पनासम्म गरिँदैन ।
राजनीतिको राज्य सञ्चालनमा मूल जिम्मेवारी र दायित्व हुन्छ । यसले नै अन्य सबै नीति, विधि र पद्धतिलाई पथप्रदर्शन गरिरहेको हुन्छ । यसमा उच्च नैतिकता, विश्वास, संस्कार र पद्धति हुने गर्दछ । आमजनताले सबै राजनीतिज्ञ राजनेता बनून् र उनीहरुको काम कारबाही तथा आदर्श र व्यवहारको अनुशरण हाम्रा भावी पुस्ता अंगीकार गरुन् र यसलाई निरन्तर अंगाल्दै अगाडि बढून् भन्ने चाहना राख्ने गर्दछन् । तर, हाम्रो राजनीतिले जनताको यो उत्कट आकांक्षालाई मनन गरेको देखिँदैन । हाम्रो राजनीतिमा नैतिक आदर्शको खडेरी नै परेको महसुस हुन्छ ।
राजनीति अहिले निहित स्वार्थमा रुमलिएको छ । यसले नीति, सिद्धान्त र विधि विधानलाई प्रधानता दिनुको सट्टा क्षणिक स्वार्थलाई महत्व दिएर अगाडि बढेको देखिन्छ । सानोतिनो आन्तरिक विवादका कारण आफ्नै पार्टी विभाजन गर्नु, आफू जस्तै अर्को शक्तिलाई कमजोर बनाउन अनायसै अध्यादेश ल्याउनु र आफ्नो स्वार्थ पूरा भएपछि आफैले फिर्ता लिनु, क्षणिक जीतहारका लागि आफ्नो सिद्धान्तबाट विचलित हुँदै गठजोड गरी जनतालाई स्वतन्त्र रुपमा आफ्नो मनपरेको प्रतिनिधि छान्ने अधिकारमा बाधा पुर्याउनु, न्याय सम्पादनमा नै प्रवाहित हुने गरी अध्यादेश जारीको प्रयास हुनु तथा एउटाको भोट र अर्कोको सहयोगमा सत्तारोहण हुनु यसका ज्वलन्त उदारणका रुपमा लिन सकिन्छ । यी र यस्ता व्यवहारबाट हाम्रा राजनीतिक नेतृत्व राजनेताको सिढीमा उक्लन सकेको देखिँदैन ।
राजनीतिक नेतृत्व र कर्मचारीको काम, कर्तव्य र अधिकारको कानूनमै स्पष्ट सीमारेखा कोरिएको हुन्छ । राजनीतिक नेतृत्वले नीति नियम र पद्धति तयार गर्ने, निर्देशन र समन्वय गर्ने र कर्मचारी वर्गले त्यसको कार्यान्वयन गर्नुपर्दछ ।
राजनीतिक नेतृत्व र कर्मचारीको काम, कर्तव्य र अधिकारको कानूनमै स्पष्ट सीमारेखा कोरिएको हुन्छ । राजनीतिक नेतृत्वले नीति नियम र पद्धति तयार गर्ने, निर्देशन र समन्वय गर्ने र कर्मचारी वर्गले त्यसको कार्यान्वयन गर्नुपर्दछ । राजनीतिक नेतृत्व आफ्नो कार्य सम्पादनमा प्रायः स्वतन्त्र हुन्छन् । उनीहरुले आफूले सम्पादन गर्ने काममा बाधकका रुपमा देखिएका ऐन-नियम तथा नीति र विधानलाई परिवर्तन गरी गराई काम गर्न गराउन सक्छन् ।
तर, यसो नगरी बलपूर्वक काम गर्नु एवं गराउन दबाब प्रभाव पुर्याउनु आदर्शवादी व्यवहार होइन । सार्वजनिक सेवाका कर्मचारीहरुले विद्यमान व्यवस्थाको परिधिभित्र रही कार्य सम्पादन गर्नुपर्छ । यसबाट कार्यसम्पादनमा उनीहरुलाई कुनै लचकता हुँदैन । उनीहरुले कुनै समयमा दबाब र प्रभावमा पर्नुपर्ने हुन्छ । यसका साथै व्यक्तिको वैयक्तिक प्रवृत्तिका कारण स्वार्थ उत्पन्न हुन सक्छ । यसबाट उनीहरुले आफ्नो नैतिक आदर्शमा सम्झौता गर्न पुग्छन् । यसो गरिनु राम्रो काम होइन जसले भावी जीवनपथलाई आघात पुर्याउँछ ।
वास्तवमा नैतिक आदर्श व्यक्तिको व्यवहारिक आचरणको ऐना नै हो । राष्ट्रसेवामा लागेका राष्ट्रसेवक तथा राज्यका सबै नागरिकले परिपालना गरुन्, देश विकास र जनताको सेवामा सदैव निःस्वार्थ भावले काम गरुन् र आफ्नो नैतिक आदर्श उच्च राखून् भन्ने सबैले आशा एवं विश्वास गरेका हुन्छन् ।