सन्दीपका वकिल भन्छन्- टीमका सदस्य बिरामी भएका कारण पेशी स्थगित गर्नुपर्यो
काठमाडौं । क्रिकेटरहरुले सन्दीप लामिछानेमाथि लागेको आरोपको न्याय निरुपण चाँडो हुनुपर्ने माग उठाइरहेका बेला उनकै कानून व्यवसायीले बिहीबार पुनरावेदन सुनुवाईका लागि चढेको पेशी स्थगित गरेका छन् ।
पाटन उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलासमा तोकिएको पेशी स्थगित नभएको भए सुनुवाई हुन सक्ने अवस्था थियो । उक्त इजलासका लागि तोकिएको पेशी सूचीमा सन्दीपको सुनुवाई छैटौँ नम्बरमा सुनुवाई हुने तय थियो । उक्त इजलासमा बिहीबारका लागि १७ वटा पेशी तोकिएकोमा अहिले सातौँ नम्बरको सुनुवाई भइरहेको छ ।
सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले सन्दीपको पक्षबाट वकालत गर्ने टोलीका एक जना बिरामी परेका कारण स्थगित गर्नुपरेको बताए । ‘हामीले टिम छुट्याएर तयारी गरेका छौँ । त्यसैले एक जना नहुँदा पनि अप्ठेरो पर्ने भएकाले स्थगित गर्नुपरेको हो’, घिमिरेले भने । यसअघि दुईपटक पेशी स्थगित भइसकेको थियो ।
पहिलोपटक सन्दीपकै तर्फबाट स्थगित भएको थियो भने दोस्रोपटक हेर्न नभ्याइने सूचीमा परेपछि स्थगित हुन पुगेको थियो । घिमिरेले यसअघि नेपाल बार डे परेका कारण पेशी स्थगित गरेको बताए । इजलासमा रहने न्यायाधीशलाई हेरेर पनि पेशी स्थगित हुने गरेको छ । सामान्यतया मुद्दाको एक पक्षले बढीमा तीनपटकसम्म स्थगित गर्न सक्ने अभ्यास रहेको छ ।
घिमिरेले अर्को पेशी एक सातापछि अर्थात अर्को बिहीबारका लागि तोकिएको बताए । बलात्कार आरोपमा असोज २० गते पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीप लामिछाने हाल केन्द्रीय कारागारमा रहेका छन् ।