एक रंगकर्मी, जसले मुम्बईको असफलतामा पनि जीवनको रङ देखे (भिडिओ)
काठमाडौं । कुनै समय थियो, जो अहिले अतित बनिसक्यो । कुनै पल थियो, जो बम्बई (हाल मुम्बई)को गल्लीतिरै छुटिसक्यो । कुनै सपना थियो, जो बम्बई पुगेका करोडौं सपनामुनि पुरिइसक्यो । त्यो बलिउड, त्यो चमकधमक अनि त्यो रवाफ !
सबै-सबैथोक बम्बईमै छाडेर नाट्यकर्मी अनुप बराल नेपाल फिरेको वर्षौं भइसक्यो ।
सपनाको गह्रौं भारी बोकेर बम्बई पुगेका बरालले ती सपनालाई उतै थन्काइदिए र नेपाल आउँदा एक मन्त्र लिएर फिरे, ‘जेसुकै होस्, सपना देख्न चाहिँ छाड्नुहुन्न । जस्तोसुकै परिस्थितिमा नै किन नहोस्, सपनाले मानिसलाई खाली हात हुन कहिल्यै दिँदैन ।’
बम्बईमा बरालका एक साथी थिए । न तिनले काम पाएका थिए न त गाउँ फर्किन नै सक्थे । तिनको साथमा कुनै विकल्प थिए । तिनी बराललाई भन्थे, ‘गावँ जाउँ भि कै से ? हिरो बन्ने के लिए आया था । नाकमें काले पोत के जाउँ ?’
बरालसित भने विकल्प टन्नै थियो । जाने ठाउँ प्रशस्त थियो । काठमाडौंको रंगमञ्चले कुरिरहेको थियो । पोखराको पुरानो प्रतिविम्ब थिएटरले पनि माकुराको जालोसँग पर्खिरहेको थियो ।
बरालको अनुभूति छ, ‘भाग्ने ठाउँ भएपछि अलि सहज हुने रहेछ मान्छेलाई ।’
बराल गोरखपुरबाट ट्रेन समातेर बम्बई हान्निएका थिए । भारतकै एनएसडीबाट पासआउट भएर आउँदा धेरैले भन्थे, ‘नेपालमा नाटक मर्यो । रंगमञ्च छैन ।’ नाटकमै काम गरिरहेका कलाकार पनि एनजीओ, आईएनजीओका प्रोजेक्टमा अलमलिएका थिए । त्यहाँबाट अलिअलि पैसा आउने, दालभातको जोहो हुने । कोठाभाडा तिरिने, स्टोभका लागि मट्टीतेल किन्न सकिने ।
सबैले बराललाई सुझाव दिए, ‘हिरोजस्तै छौ । बम्बई गएर संघर्ष गर ।’
बराललाई पनि लाग्यो, एकपटक गई हेरौं न त ! बहाना पनि तयार गरे, फिल्म कलेज पुनामा फिल्म एप्रिसियसन कोर्स गर्ने । बम्बईमा कोसिस पनि गरी हेर्ने । फिल्म एप्रिसियसन कोर्समै नै बरालले आकिरा कुरुसावा, ओजु, फेड्रिको फेलिनी, माइकल एन्जोलो जस्ता मास्टर मेकरहरुको काम हेरे । जसले बरालको बुझाइको क्यानभास झनै फराकिलो पारिदियो ।
हरेक शहरको आफ्नै परिचय हुन्छ । जस्तो बम्बईको छ । जसका लागि बराल त्यहाँ पुगे । बम्बईबारे बहुचर्चित कथन हो, उक्त शहर सपनाहरुको स्टेशन हो । जहाँ हरेक दिन हजारौं सपनाहरु पुग्छन् र उत्ति नै संख्यामा हजारौं सपनाहरु थिलथिलो हुने गरी गलेर फिर्छन् ।
आपको तो ले लेते हैं यहाँ के लोग
काठमाडौं मन्दिरको शहर । धरान लाहुरेको शहर । बम्बई सपनाको शहर ।
हरेक शहरको आफ्नै परिचय हुन्छ । जस्तो बम्बईको छ । जसका लागि बराल त्यहाँ पुगे । बम्बईबारे बहुचर्चित कथन हो, उक्त शहर सपनाहरुको स्टेशन हो । जहाँ हरेक दिन हजारौं सपनाहरु पुग्छन् र उत्ति नै संख्यामा हजारौं सपनाहरु थिलथिलो हुने गरी गलेर फिर्छन् ।
तर, बराल भने झनै मजबुत सपना लिएर फिरे । जसका लागि उनको स्वभावले पनि टेवा दियो । उनको स्वभाव हो, ‘जीवनले जे दिन्छ, जे भोगाउँछ, त्यसैमा खुशी भइदिने । जीवनले जे अफर गर्छ, त्यसैलाई स्वीकार गरिदिने ।’
बराल सुनाउँछन्, ‘बम्बई जान्छु भनेर कहिल्यै सोचेको थिइनँ । तर, गएँ । त्यहाँ पुगेपछि नेपाल फिर्छु भनेर पनि सोचेको थिइनँ । तर, फिरें । मत जमिनमा घिस्रिरहने खाले मान्छे । जहाँ गएँ, त्यहाँको जमिनलाई सरिसृपले झैं छाडिनँ ।’
बम्बईमै रहन्थे पनि होलान् ! तर, त्यहाँको गतिसँग तालमेल मिलाउनै सकेनन् । त्यहाँको रेलभन्दा चाँडो गतिमा दौडने जीवनशैली । बराल बसेको फ्ल्याटको पारिपट्टिको अपार्टमेन्टमा नवाजुद्दिन सिद्दिकी, राजपाल यादवहरु बस्थे । सिद्दिकी एनएसडीकै प्रशिक्षार्थी थिए । बरालभन्दा जुनियर ब्याची थिए ।
फिल्मको सुटिङ भइरहने । फिल्म प्रदर्शन भइरहने । हिट-फ्लप भइरहने । फिल्मको अडिसन पनि भइरहने । तर, संघर्ष गरिरहेका कसैले पनि आफूले थाहा पाएको अडिसन हुँदै गरेको ठाउँबारे नभन्ने । आफूले पाउने भूमिका अर्कोले पाउला कि भनेर कुरा खोल्दै नखोल्ने ।
बरालका अनुसार उनी भने आफूले थाहा पाएका अडिसनबारे सबैलाई बताउँथे ।
लोकल ट्रेनमा यात्रा गर्नुपर्ने, त्यो पनि थर्ड क्लासमा । चिटिक्क परेर ट्रेनभित्र छिर्यो । ट्रेनबाट ओर्लंदा लुगा कच्याककुचुक भइसकेको हुन्थ्यो । ठेलमठेल, भीडभाडमा बल्लतल्ल सास फेरेर ओर्लियो । अनि अडिसनको लोकेसनतिर लाग्यो ।
लुगा कच्याककुचुक हुने भएकाले झोलामै एक जोर थप लुगा बोक्थे बराल । सुलभ शौचालय हुन्थ्यो । बिजुलीको बल्ब हाल्न बनाइएका प्लकहरु हुन्थे । सानो आइरन पनि बोक्थे । त्यही आइरन लगाउँथे र अडिसनमा लाग्थे ।
बम्बईको गतिसँग आफ्नो तालमेल नमिल्नुमा बरालको निष्कर्ष छ, ‘म त ठूलो शहरदेखि आतंकित हुने रहेछु, यता सानो शहरबाट गएको । त्यहाँ एकदमै रसेस । मान्छे पनि कीरा हिँडे झैं देखिने । एकपछि अर्को मान्छे अगाडि बढ्न कोसिस गरिरहेको छ । अहो ! म त निसास्सिएँ ।’
एकपटक अडिसन दिन लाइनमा खडा थिए । बम्बईमा एनएसडीको भनेपछि सिनेमा क्षेत्रका मान्छेको नजरिया खराब थिएन । गार्डहरुले पनि सहजै भित्र छिर्न दिन्थे ।
त्यसैवेला सन्तोष शिवम्ले ‘अशोका’ फिल्म शाहरुख खान र करिना कपुरसित बनाउँदै थिए । एक जना साथीका कारण अडिसनमा पुगे बराल । निर्देशक शिवमसँग कुराकानी पनि गरे । बराल सुनाउँछन्, ‘मेरो लुक्सहरु मन परायो । म तिमीलाई कास्ट गर्छु, बडी बना, कपाल चाहिँ नकाट भन्यो ।’
लामो करिडोरमा एकजना ह्याण्डसम मान्छे छेउमै उभिएका थिए बराल । अलि बूढो भइसकेका थिए ती मान्छे । बरालको हातमा पोर्टफोलियो थियो । ती ह्याण्डसमले बराललाई तलदेखि माथिसम्म हेरे । सोधे, ‘आप एनएसडी से हैं ?’
‘हाँ सर ।’
‘आपको तो हो जायगा । आपको तो ले लेते हैं यहाँ के लोग ।’
‘पता नही, देखते है ।’
‘हो जायगा आपका । देखिय, हम बीस साल से यही पर हैं । जब हम आए थे, आप के जैसे बाल था । आप देखिए’, भने । अनि कपालमा लगाएको टोपी निकाले । तिनको टाउको तक्लु भइसकेको थियो ।
बरालले गम खाए, ‘मेरो भविष्य पनि यस्तै हुने हो कि क्या हो !’
बराल भन्छन्, ‘बम्बई लक बाई चान्सको ठाउँ हो । थोर कम प्रतिभाशाली कलाकारले प्रतिभाशालीले भन्दा धेरै काम पाएका छन् । कहिलेकाहीँ समय र आफूले गर्ने क्रियाको तालमेल मिलेन भने जीवनको मोड नै अर्कै बाटो लिएर जाँदोरहेछ ।’
०००
‘पाँच साल चाहिए बम्बईको’
काठमाडौंबाट बम्बई जाँदा पचास हजार रुपैयाँ लिएर गएका थिए बराल ।
सस्तो सरकारी फ्ल्याट खोजेर बसे । ‘वान रुम फ्ल्याट’ भनिने फ्ल्याटमै किचन, त्यही बेडरुम र त्यही ट्वाइलेट । नवाजुद्दिनहरु त तीनचार जनै बस्थे ।
पचास हजार त मिलिकमै सकियो । पाँच महिना पनि टिक्न नसक्ने अवस्था बन्यो उनको । जय हनुमान टेलिसिरियलको असिस्टेन्ट डाइरेक्टर थिए बरालका एक साथी । उनलाई भने, ‘बम्बईले पुग्यो, अब जानुपर्यो यार ।’
ती साथीले भने, ‘पाँच साल चाहिए बम्बईको । अभी जाने सोच रहे है साले !’
‘क्या करे, तो बोल ना ।’
ती साथीले जय हनुमानमा काम लगाइदिने भए । काम भने पछाडि बसेर भीडमा देखिनु थियो । बरालले भने, ‘कहाँ त्यस्तो रोल गर्ने ?’
‘कुछ मत कहो । एनएसडी से आया किसीको मत बोल । मे डाडी छिप्कादुंगा, मुछे बनादुंगा । भीडमे कोही पहचाने नही । सिर्फ दुई चार महिनाके लिए पैसा आ जायगा ।’
जय हनुमानमा काम गरे । तर, बराल सन्तुष्ट भएनन् ।
त्यसैवेला सन्तोष शिवम्ले ‘अशोका’ फिल्म शाहरुख खान र करिना कपुरसित बनाउँदै थिए । एक जना साथीका कारण अडिसनमा पुगे बराल । निर्देशक शिवमसँग कुराकानी पनि गरे । बराल सुनाउँछन्, ‘मेरो लुक्सहरु मन परायो । म तिमीलाई कास्ट गर्छु, बडी बना, कपाल चाहिँ नकाट भन्यो ।’
त्यही वेला बराल घरायसी कामले पेजरको नम्बर लिएर फिरे । ममी बिरामी थिइन् । केही समय अलमलिए । ६ महिनापछि फेरि बम्बई हान्निए । तर, अशोकामा अर्को पात्र कास्ट भइसकेको रहेछ ।
शिवमले बराललाई भने, ‘देअर इज नो सेकेण्ड चान्स इन आवर इन्डस्ट्री ।’
बराल भन्छन्, ‘लागिपर्ने कुराले बचाउँदो रहेछ मान्छेलाई । जीवन त के नै हो र ! रातारात कहाँबाट कहाँ पुगिन्छ । रातारात माथि पुगिन्छ, तल झरिन्छ । तर, रातारात बन्ने चिज होइन रहेछ जीवन ।’
बराल थप्छन्, ‘हामी धेरै स्केपिस्ट छौं । लड्न डराउँदा रहेछौं । हामी आफ्नो दुःख सम्झेर वर्तमानलाई दुःखी बनाउन चाहँदैनौं । तर, कलाकर्मको सार दुःखमै लुकेजस्तो लाग्छ । भौतिक सुखमा पुगेपछि मान्छेले राम्रो कला सृजना गर्न सकेका छैनन् । दुःखमा बस्दामात्रै हामीले जीवनको अनेक रंग देख्न पाउँछौं ।’
वर्तमानलाई बदल्न सक्ने क्षमता राख्नुपर्छ
कुनै समय बराल पोखरामै प्रतिविम्ब थिएटरमा नाटक गर्थे । कल्पना सिनेमा हलमा लुकीलुकी फिल्म हेर्थे । पिता तथा कलाकार वात्सायनको आर्ट ग्यालरीमा घण्टौं बस्थे । एक पूर्ण पेन्टिङलाई नियाल्थे । आफैं पनि पेन्टिङ बनाउँथे । अहिले पनि बनाउँछन् । आफ्नो नाटकको पोस्टर आफैं डिजाइन गर्छन् ।
कुनै समय बराल पोखरामै कविता लेख्थे, वाचन गर्थे । सरुभक्त, तीर्थ श्रेष्ठ, विजय बजिमयलगायतको संगतमा डुल्थे । वात्सायनको लाइब्रेरीमा भएका पुस्तकहरु पढ्थे । अन्य लेखक, साहित्यकारले दिएका पुस्तक पनि छिचोल्थे ।
कविता र पेन्टिङलाई लिएर बरालको निष्कर्ष छ, ‘त्यसवेला सायद म आफूलाई अभिव्यक्त गर्ने कुनै बाटो खोजिरहेको थिएँ । त्यस हिसाबले भेटेका अलग-अलग बिसौनीहरु हुन् कविता र पेन्टिङ ।’
पोखरामा विस्तारै बरालको पखेटा पलाउन थाल्यो । काठमाडौं हान्निए । काठमाडौंबाट बम्बई हान्निए । बम्बईबाट काठमाडौं फिरे । काठमाडौंतिरै अलमलिए ।
अहिले झण्डै चार दशकपछि पोखराको त्यो माहोल हेर्दा बराललाई कस्तो लाग्ला ? अहिले बाँचिरहेको चेतनाले यहाँबाट त्यो प्रतिविम्ब थिएटर, कल्पना सिनेमा हल, कविता, पेन्टिङ हेर्दा कस्तो लाग्छ ?
निकैबेर सोचेर बोल्छन् बराल, ‘निकै लामो बाटो पो हिँडिएछ ।’
अनुप बराल भन्ने मान्छे बम्बई पुग्यो । एनएसडी पुग्यो । पुना पुग्यो । काठमाडौं पुग्यो । त्यतै स्थापित भयो । तर, यी सबै यात्रा त सानो शहर पोखराकै गल्लीबाट सुरु गरेका थिए । यति लामो यात्रा निस्कँदा केही त जरुर छुट्यो होला !
‘त्योवेला म एकदमै अज्ञानी थिएँ । जिज्ञासु थिएँ । स्वभावको हिसाबले अहिले पनि त्यस्तै छु जस्तो लाग्छ । केही भ्याकुम छुट्यो कि जस्तो लाग्छ । पोखरामै बसेको भए पूरा गर्थें कि’, बराल स्मृतिमा पुग्छन्, ‘म त धागो जस्तो रहेछु । चंगा जति नै माथि पुगे पनि लट्टाइ त हातमै हुन्छ नि !’
बराल साथीभाइको संगत मिस गर्छन्, बुवाआमाको साथ मिस गर्छन् । पोखरामा खास छुटेको त उनको बाल्यकालका स्मृतिहरु हुन् । छुटेका, पाएका सबैथोकलाई एक ठाउँमा राखेर आफैंलाई हेर्दा आफ्नो अनुहार बराललाई कस्तो लाग्छ ?
‘स्मृतिहरुमा बाँचिरहने तर वर्तमानलाई बदल्न चाहने मान्छे लाग्छ । मलाई स्मृति पुरानो घरजस्तो लाग्छ । पुरानो भत्किए पनि माया त लाग्छ नि ! मलाई अहिले अवस्थाको बराल स्मृतिले नै बनाएको हो । अक्सर मान्छेहरु स्मृतिलाई नेगलेट गर्नु भन्छन् । अतितमा नबाँच्नु, वर्तमानमा बाँच्नु भन्छन् । त्यसो भए अतितलाई बिर्सिदिने ?’, बराल थप्छन्, ‘हामी धेरै स्केपिस्ट छौं । लड्न डराउँदा रहेछौं । हामी आफ्नो दुःख सम्झेर वर्तमानलाई दुःखी बनाउन चाहँदैनौं । तर, कलाकर्मको सार दुःखमै लुकेजस्तो लाग्छ । भौतिक सुखमा पुगेपछि मान्छेले राम्रो कला सृजना गर्न सकेका छैनन् । दुःखमा बस्दामात्रै हामीले जीवनको अनेक रंग देख्न पाउँछौं ।’
बराललाई लाग्छ, मान्छेसँग निरन्तर हिँडिरहने नै दुःख हो । त्यही दुःखबाट भाग्न खोज्नु स्वाभाविक हो मान्छेले । तर, दुःखले नै मान्छेलाई खास मान्छे बनाउने हो ।
तर, दुःख त स्मृतिमा पुगेपछि सुन्दर हुने हो । वर्तमानमा मान्छेले सबैभन्दा बढी दुःखेसो दुःखसँगै गर्छ ।
काठमाडौंमा संघर्ष गर्दा बराल बिजुलीबजारको सानो र साँघुरो कोठामा बस्थे । एउटा स्टोभ थियो । दुई हजार तलब थियो । अहिले सम्झँदा उनैलाई पनि ‘वाह !’ लाग्छ ।
बराल त्यो समय मिस गर्छन्, ‘अहिले त म त्यो समय खोजेर पनि पाउँदिनँ । खोजेर पनि भेट्दिनँ त्यो ठाउँ । त्यसको कुनै मूल्य छैन । हामी त त्यसैलाई गुनासो गरेर बाँच्दा रहेछौं । अतितलाई त माया गर्नुपर्ने रहेछ । वर्तमानलाई चाहिँ बदल्न सक्ने क्षमता राख्नुपर्छ ।’
खेल क्षेत्रमा मान्छेहरु प्रशिक्षण गर्न, रिटायर्ड लाइफ बिताउनतिर लाग्छन् । तर, कला कर्ममा लागेका हामीसँग त्यो छुट छैन । जुन दिन नाटक, सिनेमा खेल्न छाडिदिन्छु, मलाई उपियाँले टोक्न थाल्छ ।
कलाहरु भत्किँदै जान्छन्
अहिले एउटा नाटकको तयारीमा छन् बराल । सम्भवतः आउँदो चैतमा मञ्चन हुनेछ ।
बरालकै प्रशिक्षणमा पखेटा फटफटाउन सिकेका दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, मिन भामहरु वर्तमान नेपाली सिनेमाका चीरपरिचित अनुहारहरु हुन् । अभिनय, लेखन, निर्देशनमा वर्तमान नेपाली सिनेमा एक हिसाबले हाँकिरहेका छन् ।
अब त पुगेन र बराललाई ?
उनको मत छ, ‘एक हिसाबले हेर्दा त्यस्तो लाग्छ । खेल क्षेत्रमा मान्छेहरु प्रशिक्षण गर्न, रिटायर्ड लाइफ बिताउनतिर लाग्छन् । तर, कला कर्ममा लागेका हामीसँग त्यो छुट छैन । जुन दिन नाटक, सिनेमा खेल्न छाडिदिन्छु, मलाई उपियाँले टोक्न थाल्छ । हामी सृजनामार्फत् जे भन्न खोजिरहेका हुन्छौं, त्यो पेन किलरजस्तो लाग्छ । त्यो भएन भने बाँच्नै सक्दैनौं जस्तो लाग्छ ।’
आफैंले प्रशिक्षण दिएका प्रशिक्षार्थीहरुसँग समकालीन हिसाबले काम गर्दा बराल खुशी हुन्छन्, भेटेको वेला सल्लाह पनि दिइहाल्छन् । उनीहरु पनि सुन्छन् । तर, बराल स्वयं भने खासै सल्लाह पाउँदैनन् ।
बराल सुनाउँछन्, ‘म त्यो सल्लाह चाहिँ मिस गर्छु । गुरु-चेलाको सम्बन्ध भएकाले संकोच पनि हुन्छ होला उनीहरुलाई ।’
गुरुको रुपमा अहिले पनि क्लास दिइरहेका छन् बराल । समकालीन जस्तो भएर काम पनि गरिरहेका छन् । मान्छेहरु सृजना कर्मको पनि निश्चित उर्बर समय हुन्छ भन्छन् । तर, उनी निरन्तर लागिपरेका छन् । खासमा सृजना कर्म चाहिँ के रहेछ ?
‘कला कर्ममा लागेको मान्छेको निश्चित दृष्टिकोण एउटा समयमा हुन्छ । कलाहरु भत्किँदै जान्छन् । कलाहरु सधैं प्रतिरोधी हुन्छन् । हिजो थिएटर थियो, फिल्मको आविस्कार भएपछि संकट पैदा भयो । पेन्टिङ गरिरहँदा फोटोग्राफीले संकट निम्त्यायो । तर, मान्छेले त्यसैबाट बाटो बनाए’, सृजना कर्मबारे बराल सुनाउँछन्, ‘कला कर्मको सौन्दर्य भनेको बाटो भत्काउँदै जाने रहेछ । सिक्दै जाने र बनाउने । अनि आफैंले भत्काउने । बाटो बनाएर त्यही बसिरहनुभयो भने त्यसले आफूलाई कतै जान दिँदैन ।’