द पोयट आइडलको जज सुरक्षा पन्तको कविता ‘मोती’
कुनै क्षण, कुनै यात्रा
पवित्र यति लाग्छ कि
गाली कसैले गरे पनि
दु:ख चाहिँ नलाग्ने
कुनै मित्रता मीठो यति लाग्छ कि
‘समयको ऋण काट्न बाँकी छ’
यही कुरा पनि लय जस्तै लाग्ने
भोको प्राणीको ध्यान
अनुभव सँगाल्दै बुनेको ज्ञान
असली हुन्छन् ।
अझ तिख्खर,जुनेली रातसँग
ताराहरूले गाँसेको प्रीत
भुईँ छाडी मातेको हरियो पात
र त्यसमा टाँसिएको शीत
थोपा थोपाको पर्दा उधारी स्वाङ् पार्ने,
कर्णाली नै तरेजस्तो ठुलो कुरा गर्ने,
घाम !
‘मोती’ हो भनेर दिन काट्नुको मज्जा
बेग्लै यति लाग्छ कि
अत्यास पनि धुन जस्तो लाग्ने
‘फर्की न हो फर्की, घर फर्की’
‘विद्वानका पलेटी मुनि च्यापिएका मुनाहरू भोलिका कोसेली हुन्’
कुनै प्रयास व्यक्तिगत यति लाग्छ कि
सार्वजनिक हित नभएसम्म कामै नलाग्ने
कुनै अधुरो सपना पूर्ण यति लाग्छ कि
आँखा खुल्नासाथ आकाश मात्र देखिने
उड्ने हो ?