फेसबुकको उक्साहटमा विवादित बन्दै हर्क साम्पाङ
गएको मंसिर अन्तिम हप्ता राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङलाई कारबाहीको लागि सिफारिससहित गृह मन्त्रालयलाई पत्र लेख्यो । एउटा संवैधानिक निकायले जननिर्वाचित पदाधिकारीलाई कारबाहीको लागि सिफारिस गरेको सम्भवतः यो पहिलो घटना हो । यो घटना सेलाउन नपाउँदै विराटनगर उच्च अदालतले पौष पहिलो हप्ता मेयर साम्पाङले सुरु गरेको साबुन उद्योगको काम अघि नबढाउन अन्तरिम आदेश जारी गर्यो ।
एउटा लोकप्रिय र सेलिब्रेटी मेयरमाथि सरकारी निकायबाट किन व्यवधान खडा भयो भन्ने प्रश्नको उत्तर खोजी गर्न उल्लिखित दुई घटनाको थोरै पृष्ठभूमि केलाउन जरुरी छ ।
धरान ८ मा बन्न लागेको बसपार्कको विषय लिएर स्थानीय जनता मेयर साम्पाङलाई घेर्न गएका थिए । बसपार्कको कारण आफूहरु विस्थापित हुनुपर्ने भएकाले विकल्पको लागि पहल गरिदिन मेयर साम्पाङसँग उनीहरुको माग थियो । तर, मेयरले उनीहरुको मागको कुनै सुनुवाइ नहुने भन्दै उनीहरुलाई फिर्ता पठाइदिए । असन्तुष्ट स्थानीयहरु मेयर साम्पाङविरुद्ध नाराबाजी गर्दै फर्किए । त्यसको जवाफस्वरुप मेयर साम्पाङले बेलुकी एउटा फेसबुक स्टाटस लेखे- ‘बल होइन बुद्धि लगा चमारे बुद्धि ।’
यो स्टाटसले धरानका दलित समुदाय तरंगित भयो । बसपार्क निर्माणको समस्यासँग दलित समुदायको कुनै सम्बन्ध थिएन न मेयरलाई घेराउ गर्न जानेहरुमा दलित समुदायको संलग्नता नै थियो । आफूहरुसँग असम्बन्धित विषयमा आफ्नो जातीय स्वाभीमानमा आघात पुग्ने गरी ‘चमारे’ शब्द प्रयोग गरेकोमा उनीहरुले विरोध जनाए । चमारे शब्दले तराईमा बसोबास गर्ने चमार जातिको आत्मसम्मानमा ठेस पुगेको उनीहरुको गुनासो थियो ।
यो विषय धरानमा मात्र सीमित रहेन । यो विषयले राष्ट्रिय दलित आयोगको पनि ध्यानाकृष्ट भयो । मंसिर २८ गते एक प्रेस विज्ञप्ति निकाल्दै आयोगले मेयर साम्पाङलाई आफ्नो भनाइ सच्याउन अनुरोध गर्यो । त्यसपछि सामाजिक सञ्जालमा मेयरको पक्ष र विपक्षमा दोहोरी चल्न थाल्यो । मेयर साम्पाङले आयोगको अनुरोधलाई स्वीकार्नुको साटो एउटा संवैधानिक आयोगको नै मानमर्दन हुने गरी एउटा स्टाटस लेखे- ‘कुनै झ्यासझुस आयोग सायोगले मलाई जिताएको होइन । सार्वभौम धराने जनताले जिताएर आएको नगर प्रमुख हुँ । उसको कारबाहीको माग त उस्स ।’
उनी जतिसुकै लोकप्रिय भए पनि उनले गर्न चाहेको कामको लागि कार्यपालिकाको कम्तिमा बहुमत सदस्यको सहमति जरुरी हुन्छ । त्यसको लागि उनीसामु निर्वाचित वार्ड अध्यक्षहरुलाई आफ्नो एजेण्डामा सहमत गराउने ठूलो चुनौती रहँदै आएको छ ।
यतिमै मेयर साम्पाङ अडिनेवाला थिएनन् । उनले ‘राष्ट्रिय दलित आयोगले फोहोरी राजनीति गरेर समाज भाँडेको र आयोगविरुद्ध सम्पूर्ण न्यायप्रेमी नेपाली जनता एकजुट बनी उत्रनुपर्छ’ भन्दै आयोगमाथि गम्भीर लाञ्छना लगाउँदै अर्काे स्टाटस लेखे । आयोगको भूमिका र उद्देश्यमाथि नै ठाडो प्रहार गरेपछि आयोगले पनि मंसिर २८ गते मेयर साम्पाङलाई कानूनबमोजिम कारबाहीको लागि गृह मन्त्रालयलाई सिफारिससहित पत्र लेख्यो । यतिले साम्पाङ झुक्नेवाला थिएन । उनले एक हप्ताको अवधिमा यही विषयलाई लिएर दुई दर्जनभन्दा बढी फेसबुक स्टाटस लेखे । आफू सही र अरु गलत भएको जिकिर गरिरहे ।
यो विषयले सम्पूर्ण धरानकै प्रतिष्ठामा आँच आउने अवस्था आएपछि धरानमा क्रियाशील सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिए र मेयरलाई अराजक नबन्न आग्रह गर्दै विज्ञप्ति निकाले । त्यसपछि बल्ल पुस ३ गते मेयर साम्पाङले ‘आफूले ठट्यौली शैलीमा प्रयोग गरेको शब्दले दलित समुदायलाई दुःखी बनाएकोमा दुःख लागेको’ भन्दै क्षमा मागेको विज्ञप्ति निकाले ।
अर्काे घटना थियो, साबुन फ्याक्ट्री बन्द गर्ने उच्च अदालतको आदेश । मेयर साम्पाङले गत भदौ महिनामा नै महानगरले एउटा साबुन फ्याक्ट्री सञ्चालन गर्ने निर्णय कार्यापालिका बैठकमा गराएका थिए । सोहीअनुरुप ‘माया धराने’ नामको लुगा धुने साबुनको फ्याक्ट्री सञ्चालन गर्न धरान २० स्थित जलकन्या सामुदायिक वनको जग्गामा काम पनि सुरु गरे । डोजर लगाएर जग्गा सम्याइ भवन निर्माणको लागि श्रमदान जुटाउँदै थिए । तर, वन कार्यालयले उक्त जग्गा वनको क्षेत्राधिकारभित्र रहेकाले कानूनी प्रक्रिया पूरा गरेरमात्र काम अघि बढाउन मेयर साम्पाङलाई ताकेता गर्दै आइरहेको थियो ।
केही समयअघि श्रमदान भइरहेकै समयमा वन कार्यालयका कर्मचारी पुगेर कानूनी प्रक्रियाको बारेमा ध्यानाकर्षण गराएका थिए । तर, मेयर साम्पाङले वनका कर्मचारीहरुलाई आफ्नो काममा बाधा नगर्न भन्दै उल्टै थर्काएर पठाइदिए । ‘धरानभित्रको जग्गा नगरको हुन्छ, नगरले निर्णय गरेपछि सकियो । यहाँ तपाईंहरु बोल्ने कामै छैन । जानुस् तपाईंहरु’ भन्दै मेयरले वनका कर्मचारीको कुनै कुरा सुनेनन् । वनको क्षेत्राधिकारभित्रको जग्गामा कानूनी प्रक्रिया पूरा गरेरमात्र काम अघि बढाउनुस् भन्दै कर्मचारीहरु मेयरलाई सम्झाइरहेका थिए । तर, सयौंको संख्यामा उपस्थित मेयरका समर्थकहरुले मेयरका कुरामा होमा हो मिलाउँदै वनका कर्मचारीहरुलाई घुस्याहा, दलाल, भ्रष्टाचारी भनी गालीगलौज गर्दै हायलकायल पारिरहेका थिए । कर्मचारीहरु निरीह भएर त्यहाँबाट फर्किए । कुनै ट्युबरले खिचेको यो घटनाको भिडियो निकै भाइरल भएको थियो ।
उनी यसरी विवादमा परिरहनुमा उनको अपरिपक्वता र नेतृत्व क्षमताको अभाव नै हो । उनी मेयर बन्नुभन्दा अगाडि एक अभियन्ता थिए । अभियन्ता हुँदा धरानको सामाजिक समस्यालाई केन्द्रबिन्दु बनाएर उनी बोल्थे । तर, मेयर भएपछि समाधानलाई केन्द्रबिन्दु बनाएर बोल्नुपर्थ्यो ।
यो घटनापछि जिल्ला वन कार्यालय सुनसरीले वनको क्षेत्राधिकारभित्रको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी उद्योग खोल्न लागेकाले उत्प्रेषणको आदेशद्वारा काम रोक्न उच्च अदालत विराटनगरमा मंसिर २९ गते रिट दायर गरेको थियो । उच्च अदालतका न्यायाधीशद्वय रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले वनको जग्गामा अनुमति नलिएको र वातावरणीय प्रभाव मूल्यांकन नगरेको भनी साबुन फ्याक्ट्रीको काम अघि नबढाउन अन्तरिम आदेश जारी गर्यो ।
त्यसपछि मेयर साम्पाङले ‘यो देशको कानुन नै विकासको बाधक बनेको छ’ भन्ने स्टाटस लेखी अदालतको आदेशप्रति असन्तुष्टि जाहेर गरे । त्यतिमात्र होइन वन कार्यालय र राजनीतिक दलहरुलाई ‘साबुन फ्याक्ट्री रोक्न स्टे अर्डर जारी गर्न लगाइ धरानको उत्पादन र रोजगारी रोक्न खोजेको’ आक्षेप लगाउँदै अर्काे स्टाटस लेखे । उनको असन्तुष्टि यतिमा सीमित रहेन । धरान तीनकुनेस्थित निर्माणाधीन प्रदेश वन निर्देशानलय भवन नक्सा पास छ कि छैन भनेर आफूले जाँज्ने भन्दै वन कार्यालयलाई पनि चुनौती दिए । त्यसको ठीक १० दिनपछि उक्त भवनको नक्सा पास नभएको भनी एउटा सूचना टाँससमेत गरे । अन्तिम चरणमा रहेको उक्त भवनको निर्माण कार्य अविलम्ब रोकेर स्वीकृतिको प्रक्रियामा आउन चेतावनी दिँदै अन्यथा नियमानुसार भवन भत्काउन सकिने आसयको पत्र टाँसियो ।
त्यसयता मेयर साम्पाङले वन कार्यालय र अदालतसँग सम्बन्धित दर्जनौं स्टाटस फेसबुकमा लेखिसकेका छन् । उनको रातदिनको स्टाटस लेखाइ हेर्दा अदालत र नगरपालिकाको द्वन्द्व उत्कर्षमा रहेको आभाष हुन्छ । अदालतको आदेशले आफ्नै भूमि विदेशी भूमि जस्तो भएको भन्दै उनले एउटा ब्यानरसमेत बनाएर साबुन फ्याक्ट्री खोल्ने ठाउँमा झुण्डाएका छन् । उनको जिकिर भनेको नगरपालिकाभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिका मातहत हुन्छ र नगरपालिकाले इच्छाएअनुसार भोगचलन गर्न पाउँछ भन्ने हो ।
सम्मानित मेयर किन हुँदैछ आलोचित ?
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुमध्ये सबैभन्दा चर्चित लोकप्रिय व्यक्ति हुन हर्क साम्पाङ । उनको प्रशंसा र लोकप्रियताको बारेमा देश विदेशमा करीब ३-४ महिना चर्चा परिचर्चा भइरह्यो । उनको बारेमा छापा तथा अनलाइनका हरेक सञ्चारमाध्यमले केही न केही सामग्री प्रकाशन/प्रशारण गरेकै हुन्थे । सामाजिक सञ्जाल उनकै प्रशंसाले भरिएको हुन्थ्यो ।
उनले कुनै विषयको विशेषज्ञ सल्लाहकार नियुक्त गरेका छैनन् । हरेक विषयमा आफैं नै सबै जानकार जस्तो बोलिदिन्छन् । जसले गर्दा उनी विवादमा फस्नेमात्र होइन कानूनी झमेलामा पनि फस्छन् ।
तर, धरानको वास्तविकता त्यस्तो थिएन । बाहिर उनी जति लोकप्रिय थिए, त्यति लोकप्रिय धरानभित्र थिएनन् । करीब १ लाख मतदातामध्ये उनले २० हजार ८२१ मत ल्याएका थिए । उनको निकटम प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १६ हजार ५९ मत र तेस्रो स्थानको एमालेकी मञ्जु भण्डारीले १२ हजार ६२५ मत ल्याएका थिए । यसरी हेर्दा उनको विपक्षमा बहुमत जनता थिए । अर्काे गम्भीर पक्ष के थियो भने स्वतन्त्र मेयर भएकाले सत्ता पक्षमा उनी एक्लै थिए, बाँकी सबै कार्यापालिका सदस्यहरु प्रतिपक्ष जस्ता थिए । जम्मा २० वटा वार्डमध्ये नेकपा एमालेले १०, नेपाली कांग्रेसले ७, राप्रपा, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले १-१ वटा वार्डमा जीत हासिल गरेका थिए ।
उनी जतिसुकै लोकप्रिय भए पनि उनले गर्न चाहेको कामको लागि कार्यपालिकाको कम्तिमा बहुमत सदस्यको सहमति जरुरी हुन्छ । त्यसको लागि उनीसामु निर्वाचित वार्ड अध्यक्षहरुलाई आफ्नो एजेण्डामा सहमत गराउने ठूलो चुनौती रहँदै आएको छ । तर, अवस्था त्यस्तो भएन । दलबाट निर्वाचित प्रतिनिधि भनेको दलाल, माफिया, भ्रष्ट र अनैतिक हुन्छ भन्ने उनको आधारभूत धारणामा कुनै परिवर्तन आएन । पहिलो कार्यपालिका बैठकमै खोला ठेक्का लगाउने विषयमा वार्ड अध्यक्षहरुसँग उनको मत नमिल्दा द्वन्द्व सिर्जाना भयो । वार्ड अध्यक्षहरु खोला ठेक्का लगाउने पक्षमा थिए । मेयर साम्पाङ भने दलालहरुले नदी बेच्न लागेको भन्दै विपक्षमा उभिए ।
साउन अन्तिम हप्तातिर बराह सहकारीको विवादमा मेयर साङपाङ अनाहक मुछिए । धरानस्थित बराह सहकारीले सर्वसाधरणको करीब पाँच अर्ब रकम डुबाएको भनी संघर्ष समिति बनाइएको थियो । उक्त सहकारीले सर्वसाधारणबाट जम्मा गरेको निक्षेप फिर्ता गर्न नसकेपछि निक्षेपकर्ताहरुले संघर्ष समिति बनाएका थिए । उनीहरुले मेयर साम्पाङसँग सहयोगको लागि गुहार माग्न कार्यालयमै ज्ञापनपत्र लिएर पुगेका थिए । तर, ‘मलाई सोधेर रकम राखेका थियौ’ भन्ने ठाडो जवाफ मेयरले । यसबाट क्रुद्ध बराह पीडित सर्वसाधारणले मेयरविरुद्ध नाराबाजीमात्र गरेनन्, उनको कार्यकक्षमा समेत तोडफोड गरिदिए । केही दिनसम्म मेयर र बराह पीडितको द्वन्द्व चलिरह्यो ।
त्यसको लगत्तै भदौको पहिलो हप्ता एमाले नेत्री मञ्जु भण्डारीसँग एउटा फेक फेसबुक स्टाटसको विषयमा विवादमा मुछिए । मञ्जु भण्डारीको नाममा आएको एउटा फेक फेसबुक आईडीलाई मेयर साम्पाङले वास्तविक सम्झी आफ्नो फेसबुक पेजमा शेयर गर्दै भण्डारीसँग फेसबुक जुहारी खेल्न थाले । यो विषय साइबर क्राइममा मुद्दा हालाहालसम्मको स्थितिमा पुग्यो । एमालेका कार्यकर्ताहरु राजनीतिक रुपमै मेयर साम्पाङको विरुद्धमा उत्रिए । कार्यपालिकामा बहुमत सदस्यहरु एमालेकै भएको हुनाले मेयर साम्पाङलाई यसले प्रतिकूल असर अवश्य पार्यो ।
मेयर साम्पाङले श्रमदान जुटाएरै धरानमा खानेपानी ल्याउन सफल भए । सर्दु, खर्दु, पुकुवा, निशाने र भालु खोलाबाट १० इन्चे पाइपमा पानी ल्याएर विभिन्न वार्डमा वितरण गरेका छन् । यसको लागि चन्दाबाट मात्र डेढ करोडभन्दा बढी रकम र अपार जनश्रमदान जुटाएका थिए ।
त्यसपछि अहिले साबुन फ्याक्ट्री खोल्ने विषयमा मेयर र वन कार्यालयबीच द्वन्द्व चलिरहेको छ । उनले यस मामलामा अदालतसमेतलाई मतियार जस्तो बनाइरहेका छन् । वन कार्यालय र अदालतविरुद्ध एक न एक स्टाटस प्रत्येक दिन लेख्छन् । उनले वन कार्यालयलाई सबैभन्दा काम नभएको कार्यालयको चित्रण गरेका छन् भने अदालतलाई विकासविरोधी संस्थाको रुपमा उल्लेख गर्छन् । उनले ‘सरकारी जग्गा अरे ?? म चाहिँ को त ?? सरकार होइन ??’ भन्ने स्टाटस लेखेर आफै सरकार भएको दाबीसमेत गरेका छन् ।
उनी यसरी विवादमा परिरहनुमा उनको अपरिपक्वता र नेतृत्व क्षमताको अभाव नै हो । उनी मेयर बन्नुभन्दा अगाडि एक अभियन्ता थिए । अभियन्ता हुँदा धरानको सामाजिक समस्यालाई केन्द्रबिन्दु बनाएर उनी बोल्थे । तर, मेयर भएपछि समाधानलाई केन्द्रबिन्दु बनाएर बोल्नुपर्थ्यो । जे पायो त्यही बोल्ने उनको बानीले समाधन केन्द्रित नेतृत्व क्षमता उनीमा देखिएन । बरु आफूले जे बोले पनि कानून हुने र जे गरे पनि जायज हुने भन्ने घमण्ड बढ्न थाल्यो । उनले कुनै विषयको विशेषज्ञ सल्लाहकार नियुक्त गरेका छैनन् । हरेक विषयमा आफैं नै सबै जानकार जस्तो बोलिदिन्छन् । जसले गर्दा उनी विवादमा फस्नेमात्र होइन कानूनी झमेलामा पनि फस्छन् ।
फेसबुकको उक्साहट
मेयर साम्पाङलाई विवादित र आलोचित बनाइरहने मुख्य कारण फेसबुकको अधिक प्रयोग हो । उनी औसत फेसबुक प्रयोगकर्ताको दाँजोमा अत्यधिक फेसबुक चलाउँछन् । उनको ‘हर्क साम्पाङ अ रिभुलुसन’ नामक फेसबुक पेज छ । उनले आफ्ना सम्पूर्ण विचार, भनाइ र गतिविधि यही पेजमार्फत सार्वजनिक गर्छन् । उनी पहिला अभियन्ता हुँदा करिब डेढ लाखको हाराहारीमा फलोअर्स थिए । अहिले मेयर भएपछि पाँच लाख फलोअर्स नाघेका छन् ।
फेसबुकमा मनलाग्दी लेख्ने उनको बानीले उनका धेरै शुभचिन्तकहरु निराश हुन थालेका छन् । उनले दिनमा कम्तिमा २० भन्दा बढी नै स्टाटस लेख्छन् । उनी बिहान ३ बजेदेखि राति ११ बजेसम्म पनि स्टाटस लेखिरहेकै हुन्छन् । उनले आफ्नो दैनिकीदेखि विरोधीलाई गालीसम्म फेसबुकमै लेख्छन् । यतिमात्र होइन दिनभरि जति जनासँग विवाद हुन्छ, बेलुकी लाइभमा बसेर उनीहरुलाई चित्तबुझ्दो गाली गर्ने काम पनि फेसबुकमै गर्छन् ।
मेयर साम्पाङको सबैभन्दा ठूलो कमजोरी भनेको फेसबुकमा आउने कमेन्टको उक्साहटमा लाग्नु हो । उनले लेखेको एउटा स्टाटसमा हजार/पन्ध्र सयसम्म कमेन्ट आएका हुन्छन् । अधिकांशले उनलाई सही सल्लाह सुझाव दिनेभन्दा पनि उक्साउने र उत्तेजित पार्ने कमेन्टहरु लेखेका हुन्छन् । उनलाई देवत्वकरण गरिएका कमेन्टहरु देखेर उनी मख्ख पर्छन् । त्यसैले उनीमा के भ्रम छ भने आफूले गरेका सबै काम जायज छन् र बोलेका सबै कुरा न्यायोचित छन् । यही कारण उनी चरम विवादमा फस्ने गरेका छन् ।
मेयर साम्पाङका समर्थक र शुभचिन्तकहरुले फेसबुकमार्फत नै उनलाई साथ दिइरहेको देखिन्छ । तर, उनलाई जायज/नाजायजबारे सल्लाह दिनेभन्दा पनि ‘ठोक्नुस्, हान्नुस्, बजाउनुस्’ भन्ने कमेन्ट लेखेर उत्तेजित पारिरहेको देखिन्छ । यसबाट उनी उत्साहित भई झन बढी आक्रामक स्टाटस लेख्ने गर्छन् । यतिमात्र होइन उनी जहाँ जान्छन्, त्यहाँ युट्युबरहरुको लर्काे लाग्छ । क्यामेराको अघि उभिएपछि उनले केही बाँकी नराखी आफ्ना उत्तेजित र कडा भनाइ राखिहाल्छन् ।
स्वास्थ्य, शिक्षा, रोजगार जस्ता सामाजिक समस्यामात्र होइन सडक, विद्युत, खानेपानी जस्ता भौतिक संरचनाको समस्या विशाल चाङ नै छ । सुशासन र जिविकाको समस्या पनि उत्तिकै महत्त्वपूर्ण छ । तर, मेयर साम्पाङ भने यी समस्याको स्थानीय तहबाट गर्न सकिने नीतिगत समाधानको उपाय खोज्नुको साटो एकोहोरो श्रमदानको रटानमात्र लगाउँछन् ।
श्रमदानको एकोहोरो रटान
मेयर साम्पाङले श्रमदान जुटाएरै धरानमा खानेपानी ल्याउन सफल भए । सर्दु, खर्दु, पुकुवा, निशाने र भालु खोलाबाट १० इन्चे पाइपमा पानी ल्याएर विभिन्न वार्डमा वितरण गरेका छन् । यसको लागि चन्दाबाट मात्र डेढ करोडभन्दा बढी रकम र अपार जनश्रमदान जुटाएका थिए । यसले धरानको खानेपानीको समस्या अल्पकालीन रुपमा समाधन गर्न ठूलो मद्दत पुग्यो । यतिमात्र होइन, आफ्नो कार्यकालमा एक करोड विरुवा रोप्ने लक्ष्यका साथ श्रमदान जुटाएर वृक्षरोपण पनि गरिरहेका छन् । अहिलेसम्म उनले ६ लाख विरुवा रोपिसकेको दाबी गरेका छन् । मेयर साम्पाङको यही दुई वटा कामको प्रशंसा देश विदेशसम्म भएको हो ।
यहीबाट हौसिएर उनले श्रमदानको एकोहोरो रटान लगाउन थालेका छन् । धरानलाई श्रम पर्यटन स्थल बनाउने उनको लक्ष्य छ । उनले प्रधानमन्त्रीसमेतलाई श्रमदानको लागि धरान आउन आह्वान गर्न पछि पर्दैनन् । तर, उनको श्रमदानको एकोहोरो रटानले धराने जनता भने वाक्क मान्न थालेका छन् । यही कारण उनको श्रम शिविरमा पहिला जस्तो अधिक संख्यामा श्रमदाताहरु जुट्न छाडेका छन् । अहिले संख्यात्मक हिसाबले निकै कममात्र श्रमदाताहरु श्रमदान गर्न आउने गरेका छन् ।
धरान बहुआयामिक समस्याबाट गुज्रिरहेको रहर हो । स्वास्थ्य, शिक्षा, रोजगार जस्ता सामाजिक समस्यामात्र होइन सडक, विद्युत, खानेपानी जस्ता भौतिक संरचनाको समस्या विशाल चाङ नै छ । सुशासन र जिविकाको समस्या पनि उत्तिकै महत्त्वपूर्ण छ । तर, मेयर साम्पाङ भने यी समस्याको स्थानीय तहबाट गर्न सकिने नीतिगत समाधानको उपाय खोज्नुको साटो एकोहोरो श्रमदानको रटानमात्र लगाउँछन् । गिटी कुट्नु नै विकासको एकमात्र आधार हो भन्ने उनको मूल मन्त्र रहेको छ । त्यसैले धराने जनता मेयर साम्पाङको पाँच वर्षे कार्यकाल गिटी कुटेरै जाने भो भन्ने चिन्तामा पर्न थालेका छन् ।
एक कार्यकारी प्रतिनिधिको हैसियतमा उनले विशेष काम गर्न सकेका छैनन् । कार्यपालिका बैठकको लाइभ प्रसारण हुने हुँदा बैठकको गतिविधि सबै प्रत्यक्ष हेर्न पाइन्छ । तर, प्रत्येक बैठकमा वार्ड अध्यक्षहरुसँग मेयरको झगडामात्र परिरहेको देखिन्छ । मेयर भनेको नगरको अभिभावकसमेत भएको हुनाले असन्तुष्ट सदस्यहरुलाई मिलाएर लैजाने पहिलो दायित्व मेयरको नै हो । तर, मेयर साम्पाङमा आफ्नो मतसँग बाझिने प्रस्ताव आएमा ठाडै जाइलाग्ने स्वभाव देखिन्छ । जसले गर्दा उनी कार्यपालिकाभित्र र बाहिर सधैं विवाद र आलोचनाको घेराबन्दीमा देखिन्छन् । यसले गर्दा उनको लोकप्रियता पनि दिनदिनै खस्किएको छ ।