प्रकृति र क्रान्तिप्रेमी कवि युद्धप्रसाद मिश्र – Nepal Press
सन्दर्भः कवि मिश्रको ११६औं जन्म जयन्ती

प्रकृति र क्रान्तिप्रेमी कवि युद्धप्रसाद मिश्र

संयोग नै मान्नुपर्ला कवि युद्धप्रसाद मिश्रको जन्म महिनामै नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘युद्धप्रसाद मिश्र प्रतिनिधि कविता’ नामक कविता कृति प्रकाशित भएको छ । यस कृतिको सम्पादक वासुदेव अधिकारी हुन् । यसले नेपाली कविता साहित्यको आधुनिक कालका पहिलो पुस्ताका अब्बल कवि मिश्रलाई नेपाल प्रज्ञा प्रतिष्ठानले सम्मानको डबलीमा राखेको देखाउँछ । कवि युद्धप्रसाद मिश्रको जन्म विक्रम संवत् १९६४ पुस २७ गते भक्तपुरको सिरुटारस्थित सोमलिङटारमा भएको थियो ।

नेपाली प्रगतिवादी कविता साहित्यका विशिष्ट अग्रज कवि मिश्रको सिङ्गो कविता यात्रालाई उद्घाटित गर्ने यस संग्रहमा नै यो लेख केन्द्रित हुनेछ । यस संग्रहमा जम्मा ९२ वटा छन्द र छन्दमुक्त कविता संग्रहित छन् । संग्रहमा प्रकट विभागीय मन्तव्य र सम्पादकीयले कवि मिश्रको जीवनीलाई संक्षिप्त रूपमा व्यक्त गरेको छ । यी दुई लेखाइमा उनको जीवनमा आइपरेका अप्ठ्यारा र सजिला दिनहरू र लेखाइमा देखिएका उतारचढावहरू पनि उल्लेख भएका छन् ।

कवि मिश्रको कविता सिर्जनामा प्रवृत्तिगत विविधता देख्न सकिन्छ । आफू बाँचेको समय, परिवेश र परिस्थितिले उनको लेखनमा विविधता ल्याउन सहयोग पुर्‍याएको पाइन्छ । बाल्यकालको पारिवारिक वातावरण र शिक्षाको कारण, साथीसंगति र प्रकृति, संस्कृतिसँगको सामिप्यता, राजनीतिक पार्टीसँगको आबद्धता, मुलुकको राजनीतिक अवस्था, परिवर्तन, जनताको जीवन अवस्था, आफ्नो विद्रोही, स्वाभीमानी स्वभाव आदिले मिश्रको काव्य साधनमा प्रवृत्तिगत विविधताका लागि प्रभाव पारेको पाइन्छ । प्रस्तुत संग्रह समेटिएका कवितामा पनि यिनै कुराहरू प्रकट भएका देखिन्छन् ।

प्रारम्भमा बुवाको पेसाका कारण दरबारमा समेत आइजाइ हुने गरेका मिश्रमा त्यहाँको वातावरण र चालचलन बुझ्ने मौका मिलेको थियो । घरैमा व्यवस्था गरिएका शिक्षकद्वारा संस्कृत भाषाको ज्ञान प्राप्त गरी संस्कृत साहित्यको अध्ययन गरेका मिश्रले किशोर उमेरमा बनारस गएर पनि संस्कृत शिक्षाको अध्ययन गरेका थिए । औपचारिक शिक्षाबाट महत्वपूर्ण उपलब्धि लिन नसके पनि मिश्रले आफ्नो रुचिअनुसार स्वअध्ययन गरेर काव्य जगतको एक उत्कृष्ट साधक बन्न सक्ने क्षमता निर्माण गरेका हुन् । प्रकृति र मानव प्रेमको उत्कट चाहले नै मिश्रलाई कविता साधनामा उत्प्रेरित गरेको पाइन्छ ।

उनका कविताले उनलाई मानव जीवनका आवश्यकताहरू महसुस गर्न सक्ने, प्रकृतिको रङ र लालित्यलाई बुझ्ने, समय र त्यो समयले चाहेको परिवर्तनलाई देख्न सक्ने, युवाहरूको धडकन छाम्नसक्ने कविका रूपमा प्रस्तुत गरेका छन् ।

विक्रम संवत् १९८६ मा ‘अहिंसा प्रार्थना’ काव्य लेखेर काव्ययात्रा आरम्भ गरेका मिश्रको यो काव्य भने राणाहरूले आफ्नाविरुद्ध लेखेको भनी जलाएर नष्ट गरिदिएका थिए । त्यसपछि विक्रम संवत् १९८८ मा गोर्खापत्रमा ‘विद्यार्थी शिक्षा’ कविता प्रकाशित गरेर कवि मिश्रले आफ्नो कविता यात्रा आरम्भ गरेका थिए । मिश्रको काव्य साधनाको अन्त्य लहर पत्रिकामा २०४७ पुसमा ‘सही बाटो’ कविता छापिएर भएको देखिन्छ ।

‘युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता’ कविता संग्रहमा जम्मा ९२ वटा कविता संग्रहित छन् । यस कविता संग्रहमा कवि मिश्र प्रकृतिप्रेमी, परिवर्तनप्रेमी क्रान्तिकारी, मानवतावादी, सबै वर्गका बालकदेखि वृद्धसम्मका पाठकहरूलाई आवाज दिने काव्य साधकका रूपमा देखिएका छन् । उनका कविताले उनलाई मानव जीवनका आवश्यकताहरू महसुस गर्न सक्ने, प्रकृतिको रङ र लालित्यलाई बुझ्ने, समय र त्यो समयले चाहेको परिवर्तनलाई देख्न सक्ने, युवाहरूको धडकन छाम्नसक्ने कविका रूपमा प्रस्तुत गरेका छन् ।

कवि युद्धप्रसाद मिश्रले स्वच्छन्दतावादी हुँदै क्रमशः एक विशिष्ट श्रेणीको जनपक्षीय कविका रूपमा काव्य साधना गरेका छन् । उनी युवाहरूलाई जागरुकताको ऊर्जा प्रदान गर्ने, गरिब, दुःखिया, मजदुर, किसान र शोषण-उत्पीडनमा परेका निमुखाहरूलाई चेतना र आवाज दिने, बालबालिकाका लागि स्नेह र आशाका किरणहरू छर्ने कविका रूपमा देखिन्छन् । कवितामा मिश्र प्रकृति, संस्कृति र राजनीति तिनै चिन्तनका अग्रदूत भएर प्रकट भएका छन् । स्वदेशको स्वतन्त्र जीवनमा, जागिरे जीवनमा र प्रवासको वैचारिक पहिचान निर्क्योल र निर्माण गर्दाको जीवनमा कवि मिश्र आफ्नो जुनसुकै प्रवृत्तिका कवितामा पनि स्वाभीमान र विद्रोह व्यक्त गर्न पछि परेका छैनन् ।

आफ्नो परिचय दिने लयात्मक ‘परिचय’ कविताबाट आरम्भ भएको यो कविता संग्रह अर्को लयात्मक बाल कविता ‘मनमनले क ख भन्छु’ मा गएर अन्त्य भएको छ ।

कवितामा मिश्र प्रकृति, संस्कृति र राजनीति तिनै चिन्तनका अग्रदूत भएर प्रकट भएका छन् । स्वदेशको स्वतन्त्र जीवनमा, जागिरे जीवनमा र प्रवासको वैचारिक पहिचान निर्क्योल र निर्माण गर्दाको जीवनमा कवि मिश्र आफ्नो जुनसुकै प्रवृत्तिका कवितामा पनि स्वाभीमान र विद्रोह व्यक्त गर्न पछि परेका छैनन् ।

प्रकृतिसँग अत्यन्तै निकट रहेर प्रकृतिलाई मनैले बुझेर प्रकृतिको प्रेमले छताछुल्ल हुँदै स्वच्छन्द भावमा कविता लेखेका छन् मिश्रले ।

लहलह पल्लव हरित लताको
छायाँ स्वर्गिक शीतल र रुखको
कुञ्ज छ मन्दिर चिनियाँहरूको
कलकल गान छ निर्मल जलको
(चरखण्डीको खोंच पृ. २)

प्रकृतिको सौन्दर्यमा मोहित भएर त्यसको विराटतालाई आत्मसात गरी, आफ्नो जीवनसँग तादम्य गरेर स्वच्छन्द भावमा प्रस्फुटित भएका छन् मिश्रका कविताहरू । कवि मिश्र महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठले झैं प्रकृतिलाई मानवीकरण गर्दै कतै त कतै प्रकृतिलाई सर्वोच्च ठान्दै उसको विराट सत्तालाई स्वीकार गर्दै स्वच्छन्दवादी धाराका उत्कृष्ट रचना दिने कविहरूको अग्रपंक्तिमा उभिएका देखिन्छन् ।

उनले प्रकृतिमा सौन्दर्य, आकर्षण र आनन्दमात्र भेटेका छैनन्, प्रकृतिको वेदना र पीडा पनि अनुभूत गरेका छन् । उनी प्रकृतिका रूपहरूभित्रै राष्ट्रप्रेम, धर्तीप्रेम, संस्कृतिप्रेम भेट्छन् ।

उल्लेखित सन्दर्भहरूलाई ‘चरखण्डीको खोंच’, ‘जाबीको चरा’, ‘पागल २’ , ‘जलन १’, ‘चराको बोल’, ‘धोबिनीको संगीत’, ‘काफल पाक्यो चरा’, व्याध गान क, ख’, ‘कवि २’, ‘सूर्यघाट’, वनकालीमा’ आदि कविताले पुष्टि गर्दछन् । उल्लेखितलगायतका कविताहरूले प्रकृतिसँग गाँसिएर प्रकृतिको अकाट्य सत्ता, प्रकृतिमा स्पन्दित आनन्द, प्रकृतिमा मानवीकरण हुने गुण, प्रकृतिले महसुस गर्ने समयको वेदना, प्रकृतिमा भेटिने शान्ति र मुक्तिभाव, प्रकृतिमा विस्तारित राष्ट्रिय भावनालाई उजागर गरेका छन् । यी भावनाहरू स्वच्छन्दवादी धाराका कलम चलाउने कविहरूबाट मात्र प्रकट हुन सक्छन्, जसलाई कवि मिश्रले उत्कृष्ट रूपमा कवितामार्फत प्रस्तुत गरेका छन् । केही उदाहरणहरू यसरी हेर्न सकिन्छ ।

कवि मिश्र महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठले झैं प्रकृतिलाई मानवीकरण गर्दै कतै त कतै प्रकृतिलाई सर्वोच्च ठान्दै उसको विराट सत्तालाई स्वीकार गर्दै स्वच्छन्दवादी धाराका उत्कृष्ट रचना दिने कविहरूको अग्रपंक्तिमा उभिएका देखिन्छन् ।

शान्तिको कामना गर्दै कवि भन्छन्ः

हरियो तरु नै छ निर्जन
भरदो रवको झरना झनझन
मानसलाई शीतलकी पारी
बहँदै जा है निर्मल वारी (चराको बोल, पृ. १३)

समयको वेदना, दुःख यसरी व्यक्त हुन्छ:

जलिरहेछ रवि पनि पागल
जलिरहेछ सबै वन पागल
जलिरहेछ हिया पनि पागल
समय सुन्दर जल्दछ पागल (वनकालीमा, पृ. ३१)

कवि प्रकृतिलाई मानवीकरण यसरी गर्छन्ः

क्षण क्षण आशा साँध परेको
उरमा खुकुरी चक्कु भिरेको
गरनु छ के कुन साधना तेरो ? (सीम बकुल्लो, पृ. १७)

कवि प्रकृतिबाट आनन्दानुभूति यसरी गर्छन्ः

प्रियहवा कतिको प्रिय मादक
दुःख उडाउँछ हृत्तलको सब
भवन कुञ्ज छ सिमसिम वारिष
चच गरी उर उड्छ चरासित (वनसित, पृ. ३२)

कवि युद्धप्रसाद मिश्रका कविता व्यक्तिवाद, अन्धविश्वास, रुढीवाद, सामन्तवाद, पूँजीवाद र बौद्धिक दासताविरुद्ध ज्याला बनेका छन् । उनका सामाजिक यथार्थ, मानवता, वर्गीयप्रेम, सामाजिक चेतना, राष्ट्रप्रेम, शान्ति र मुक्तिको खोज, वैचारिक स्पष्टता र प्रतिबद्धता, विद्रोह र क्रान्ति चेतनाका द्योतक बनेका छन् ।

स्वच्छन्दवादी धारामा प्रवाहित कवि मिश्रका कविताहरू क्रमशः जनताको बोली, देशको दुःखको बोली, समयको मागको बोली, विद्रोहको बोली र मुक्तिको बोलीमा परिवर्तित हुँदै जान्छन् । उनका कविताले जनता र राष्ट्रको भलो, दमन उत्पीडन र अव्यवस्थाबाट मुक्तिको खरो चाहना, जनप्रेमलाई सशक्त रूपमा प्रकट गर्दै प्रगतिशील/प्रगतिवादी कविता साहित्यको क्षेत्रका अग्लो धरोहरका रूपमा कवि मिश्रलाई स्थापित गराउँछन् । यही प्रगतिशील/प्रगतिवादी पहिचान नै कवि मिश्रको नेपाली काव्य जगतको वास्तविक परिचय बनेको छ । उनका कविताले अन्यायी, अत्याचारी, उत्पीडक शासकीय व्यवस्थालाई ध्वस्त पार्न र जनपक्षीय सामाजिक व्यवस्था स्थापना गर्न आह्वान गर्दछन् । मार्क्सवादी विचारलाई मार्गदर्शन मानेर लेखिएका उनका कविताले दारुण सामाजिक परिवेश उजागर गर्दै त्यसबाट मुक्तिको शंखघोष गर्दछन् । युवाहरूमा क्रान्तिको जोश भर्छन्, महिला, मजदुर, किसान सबै कामजीवी वर्गका आवाज बन्छन् उनका कविता ।

कवि युद्धप्रसाद मिश्रका कविता व्यक्तिवाद, अन्धविश्वास, रुढीवाद, सामन्तवाद, पूँजीवाद र बौद्धिक दासताविरुद्ध ज्याला बनेका छन् । उनका सामाजिक यथार्थ, मानवता, वर्गीयप्रेम, सामाजिक चेतना, राष्ट्रप्रेम, शान्ति र मुक्तिको खोज, वैचारिक स्पष्टता र प्रतिबद्धता, विद्रोह र क्रान्ति चेतनाका द्योतक बनेका छन् । यिनै कविताले कवि मिश्रलाई प्रगतिवादी कविका रूपमा स्थापित गराएका छन् । वास्तविक सामाजिक न्याय खोज्ने अभियन्ताका रूपमा देखिएका छन् कवि मिश्र आफ्ना कवितामार्फत । कवि मिश्रले बालबालिकाप्रति स्नेह, प्रेम र आशाका किरण छर्दै उनीहरूका लागि सुन्दर कविता सृजना गरेका छन् । जसले उनलाई समाजको सबै पक्षलाई देख्न सक्ने कविका रूपमा हेर्न सकिन्छ ।

सामाजिक यथार्थ, जनप्रेम, राष्ट्रप्रेम, मार्क्सवादी वैचारिक सशक्तता, मुक्तिको अभिलाषाप्रति स्पष्ट दृष्टिकोणले शक्तिशाली बनेका कवि मिश्रका केही कविताका नमुना यसरी हेर्न सकिन्छ । जुन कविताहरूले उनलाई एक शीर्षस्थ प्रगतिवादी कविका रुपमा परिचित गराएका छन् ।

‘युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता’ कविता संग्रहमा संग्रहित कविताहरूले मिश्रको काव्य साधनाको समग्र पक्षलाई प्रतिनिधित्व गर्ने प्रयास गरेको छ । सबै वर्ग, पेशा र तह, उमेर समूहका जनहरूको आवाज मुखरित भएको पाइन्छ ।

१) हेर्‍यो यहाँ जन, परिश्रम नाश हुन्छ
मानिसका रगतको उपहास हुन्छ
प्रशाद‌ भग्न म पुनः कसरी सजाऊँ
यो, छिन्नभिन्न उरले कुन गीत गाऊँ ?
(कुन गीत गाऊँ ? पृ.४७)

२) जमीनको बुभुक्षू, किसान हूँ किसान हूँ
दरिद्र छु परन्तु यो स्वदेशको म शान हूँ
(किसान हूँ, पृ.४६)

३) झल्केको होस् सबैको असह हृदयमा एक पाञीन तातो
नाघेको दुर्ग तोडी द्रुत सतत क्रियाशील भै ढिकी जाँतो
भाइभाइहरूका जनम धरतीमा पाइला हुन् अगाडि
ढल्दै जाऊन् किनारा अभिनव युगको आइ उर्लेर बाढी ।
(युग-महोत्सवको गीत, पृ. ५३)

४) रक्तक्रान्तिको ज्वालामुखीमा
आज उठेको यो बलिदान
श्री नढलेका युवायुवतीको
हृदय हृदयको स्वाभीमान । (बलिदान उठ्यो, पृ. ९०)

‘युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता’ कविता संग्रहमा संग्रहित कविताहरूले मिश्रको काव्य साधनाको समग्र पक्षलाई प्रतिनिधित्व गर्ने प्रयास गरेको छ । सबै वर्ग, पेशा र तह, उमेर समूहका जनहरूको आवाज मुखरित भएको पाइन्छ । प्रकृति, माटो, सामाजिक परिपाटी, बेतिथि र विसङ्‌गतिविरुद्धको व्यंग्य, आक्रोश र विद्रोह, मुक्तिको आकांक्षा आदि विषयवस्तुलाई यस संग्रहभित्रका कविताहरूले समेटेका छन् । यति हुँदाहुँदै पनि मिश्रले आफ्नो काव्य साधनामा नछुटाएको यथार्थ महिलाको चेतना र यथार्थ कुरा उल्लेख गरिएको सिङ्गो कविता भने छुटेको छ । ‘नारी घोषणा’ कविताले संग्रहित हुने अवसर पाएको भए यो संग्रह अझ वजनदार हुने थियो ।

कवि युद्धप्रसाद मिश्रप्रति उनको ११६औं जन्म जयन्तीको अवसरमा सम्मान एवम् हार्दिक श्रदाञ्जली !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *