कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्ने – Nepal Press

कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मङ्गलवार बस्दैछ ।  १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान बैठक बस्न लागेको हो ।

त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्दैछ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निश्चित भए पनि प्रमुख प्रतिपक्ष भनिएको कांग्रेस अनिर्णीत छ ।

प्रधानमन्त्री प्रचण्ड सोमबार मात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका थिए । भेटमा प्रचण्डले विश्वासको मत माग्दा देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् । देउवाले विश्वासको मत दिने बचन दिए पनि आधिकारिक निर्णय भइसकेको छैन । त्यसका लागि देउवाले आज बिहान संसदीय दलको बैठक बोलाएका हुन् ।

कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ । खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर