सुस्ता बचाउ अभियानका संयोजक गुरुङको उपचारमा समस्या – Nepal Press

सुस्ता बचाउ अभियानका संयोजक गुरुङको उपचारमा समस्या

रुपन्देही । भारतले मिचेको नेपाली भूभाग अतिक्रमणको विरुद्धमा दुई दशकदेखि नवलपरासीको सुस्तामा अभियान चलाउँदै आएका अभियन्ता गोपाल गुरुङ केही दिनअघि लागेको गम्भीर रोगका उपचारका लागि अस्पतालको बेडमा छटपटाइरहेका छन् ।

ब्रेन हेमरेज पुष्टि भएका गुरुङको उपचारमा आर्थिक अभाव भएको आफन्तहरूको दुखेसो छ । उनको टाउकोको शल्यक्रिया गरी आइसियुमा उपचार भइरहेको छ । उनको उपचारमा आर्थिक अभाव भएको अभियानका उपाध्यक्ष आदम खाले भने । ‘यसका लागि आर्थिक जुटाउन थालेका छौ’, उनले भने । तीन हप्ता बढी समयदेखि उपचारमा रहेका गुरुङको स्वास्थ्यमा सुधार आउन नसकेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

दुई हप्ताअघि अचानक घरमा उनी बेहोस भएका थिए । परिवार र सुस्तावासीहरूले थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा ल्याएका हुन् । आइसियुमा उपचार भइरहेको उनको स्वास्थ्य अवस्थामा समस्या आइरहेको उनले बताए ।

सुस्ता बचाउ युवा अभियानको अध्यक्ष योगेन्द्र गौतमले नेपाली भूभाग बचाउने अभियानका संयोजकमाथि एक्कासि गम्भीर अवस्थामा उपचार गराउनुपरेको र आर्थिक समस्याले समस्या भएको बताए ।

‘सधैँभर देशको रक्षाका लागि लड्नुभयो, आम्दानी केही छैन, गाउँका मान्छेले उठाएर खर्च चलाउनुपरेको छ । उपचार खर्च धेरै महँगो छ, अझै धेरै खर्च हुने अवस्था छ, कसरी चलाउने भन्ने चुनौती बढेको छ ।’ उनले भने । देशप्रेमीहरुले उनको उपचारका लागि सहयोग गर्नुपर्ने समय आएको र सरकारलाई पनि ध्यानाकर्षण गराउनुपर्ने गौतमले बताए ।

अस्पतालको बेडमा रहेका ५९ वर्षीय अभियन्ता गुरुङ सुस्तामा भारतीयबाट अतिक्रमण बढाएपछि ‘सुस्ता बचाउ अभियान’ नारासहित वि.सं. २०६२ सालदेखि आधिकारिक रूपमा अगुवाइ गर्दै आएका थिए । अभियानका उपाध्यक्ष आदम खाले एउटा योद्धा अभियन्ता अस्पतालको बेडमा पर्दा आफूहरू दुःखी भएको बताए । ‘हामी उहाँको स्वास्थ्यका कारण धेरै चिन्तित छौ’ उनले भने । राष्ट्रिय धरोहरका रूपमा रहेका गुरुङ निस्वार्थ रूपमा देशका लागि लड्दै आएको उनले बताए । देशका लागि योगदान दिएका गुरुङको उपचारमा आर्थिक अभाव भएको भन्दै यसमा सरकारबाट सहयोग जरुरी रहेको उनले बताए । आर्थिक अवस्था कमजोर रहेका गुरुङका श्रीमती, एक छोरा र दुई छोरीहरूले रेखदेख गरिरहेका छन् ।

अभियानका कोषाध्यक्ष लैला वेगमले सहयोगका लागि अपिल गरी बैंकमा खातामार्फत सहयोग गर्ने बताइन् । हालसम्म परिवार र गाउँवासीहरूबाट थोरै थोरै रकम संकलन गरी उपचार भइरहेको उनले बताएकी छन् ।

अभियानमार्फत गुरुङले दबाब दिएर सरकारलाई प्राविधिक टोली खटाई सुस्ताको नापनक्सा गर्ने, भोगाधिकार ल्याउने, आवतजावतमा सहजता ल्याउने, झोलुङे पुल निर्माणको काम अघि बढाउने, सौर्य ऊर्जाको कामलाई जोड दिनेजस्ता कामहरू गरेको उनले स्मरण गरे ।

पुल निर्माणका धेरै लामो समयमा वायरिङ सकेर डोरी जोड्ने कामहरू भइरहेको छ । सुस्तामा रहेको ४० हजार ९ सय ८० हेक्टर मध्ये १४ हजार हेक्टर जमिन भारतले अतिक्रमण गरेको उनको तर्क छ । यहाँ रहेको १९ हजार ५ सय विवादित जग्गा रहेको छ । नेपालीहरूले ७ हजार हेक्टर जोतभोग गरिरहेको तथ्यांकमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *