कवि भूपाल, जसले चार दशकदेखि एक्लै यात्रा गरिरहे (भिडिओसहित)
काठमाडौं । किराँती समुदायमा अदुवाको ठूलो सांस्कृतिक महत्व छ । उनीहरु धामी वा नक्छुङमाथि विश्वास गर्छन् । नक्छुङहरुले कुलपूजामात्रै गर्दैनन्, शुभ/अशुभसमेत केलाउँछन् । जुन प्रक्रियामा अदुवा नभई हुन्न । उनीहरु अदुवाको कचुर काट्छन् र जोखना हेर्छन् । शुभ/अशुभ खुट्याउँछन् । जसलाई यारी पनि भनिन्छ ।
कवि भूपाल राईले भर्खरै कवितासंग्रह ल्याए, ‘यारी’ ।
भूपाल सुनाउँछन्, ‘धामीहरुले यारी गर्दा अदुवाको कचुर काट्छन् । मैले चाहिँ कविताको कचुर काटें ।’
‘कविता गाउँमै छ दाजै’, ‘आगोले जन्मोत्सव मनाउँदैन’ पछि भूपालको तेस्रो कविताकृति हो, ‘यारी’ । तर, यसपटकमा ‘यारी’ भन्ने शब्द आफूले अनाम प्रेमिकाको नाममा सम्बोधन गरेको भूपालको प्रष्टोक्ति छ । भूपालको भनाइ छ, ‘मान्छेको जीवनको महत्वपूर्ण पाटो हो प्रेम । मान्छेको चेतना बाँचुञ्जेल प्रेम त बाँचिरहन्छ ।’
किशोरकालमा होस् या युवाकाल वा वृद्धकाल, प्रेमको अनूभूति फरक नहुने उमेरले ६ दशक हिर्काइसकेका भूपालको कवित्वको आँकलन छ । उनी आध्यात्मिक प्रेममा उति साह्रो विश्वास गर्ने जमातमा गनिँदैनन् । बरु प्रेमलाई आशक्ति र प्राप्तिको विन्दुमा राखेर हेर्छन् । प्रेमलाई यदि भावना नै मान्ने हो भने त्यो दिमाग र चेतनाकै उपज ठान्छन् उनी ।
भूपालको भनाइ छ, ‘प्रेम हुन पहिला त आँखाले हेर्नुपर्यो नि ! जब देखिन्छ, तब मनपर्छ । विचार मनपर्छ होला । आदर्श हुँदैन प्रेममा । कसैका लागि निमिट्यान्न हुने भन्ने पनि हुँदैन ।’
अनेक क्षेत्रमा हात हाल्नु भनेको त्यसवेला आफूलाई आफैंले खोजी गरेको समय रहेछ । संघर्षको समयमा म चाहिँ को हुँ त भनेर अनेक माध्यमबाट खोजिँदोरहेछ । आफूलाई खोज्ने क्रममा धेरै काम गरियो । अन्ततः कवितामा आफूलाई पाएँ ।’
एक जमानामा भूपालले खुबै चिठीपत्र लेखे । प्रेमपत्र लेखे । अहिले पो सामाजिक सञ्जाल छ । सवालको जवाफ तत्कालै पाइन्छ । भूपालहरुको जमानामा महिनौं दिन कुर्नुपर्थ्यो । पत्र लेखेर पठाएपछि ठेगानामा पुग्न एक महिना लाग्ने । प्रत्युत्तर आउन अर्को एक महिना लाग्ने ।
‘दुई महिनाको प्रतीक्षाको चुडान्त अनुभूति अहिलेको प्रेममा छैन । त्यो प्रतीक्षामै हुन्थे गीत, कविताहरु । अहिले त मान्छेसँग सोच्नलाई समय नै छैन । त्यसवेला दुई महिनाको अन्तराल भावनात्मक रुपले यति धेरै ऊर्जावान हुन्छ कि चिठीमै गीत, कविता जन्मन्थे ।’
अहिले तिनै कविताहरुलाई ‘यारी’मा समेटेका छन् कवि भूपालले ।
अनि कवितामा मात्रै तल्लीन भए
२०३४ सालतिर काठमाडौं टेकेपछि भूपालले गीत लेखे । संगीत भरे । रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरे र गायक पनि बने । ‘पूर्वै जाने रेल’ नामको पूर्वेली लोकभाका त खूबै चल्यो पूर्वतिर । उनैले लेखेको ‘कतिञ्जेल धाउँछौ दाइ धरान धनकुटा’ गीत त अहिले पनि उत्तिकै सुनिन्छ ।
भूपालले डेढ दर्जन जति गीत गाए । तर, गायक बन्नतिर लागेनन् । गायकीलाई चटक्कै छाडेर कवि बन्नमै तल्लीन रहे । बरु गीतकार बने । गायकीको पाटोलाई चटक्कै भुलिदिए । भूपाल सुनाउँछन्, ‘पाँच दश वर्ष सौखका लागि रेडियोमा काम गरें । सौख र देखासिखीका लागि मात्रै गाएको हो । त्यही वेला गितार बजाउन सिकें । कम्पोजिसन बनाउन सिकें । पछिल्लो समय चाहिँ मैले आफैंलाई भनें, ‘तँ गायक होइनस्’ । अनि छाडिदिएँ ।’
गायकीको क्षेत्र विस्तारित हुँदै गयो । भूपालभन्दा राम्रा गायक, संगीतकार आए । त्यसपछि उनलाई लाग्यो, उनका लागि गायकीको क्षेत्र सौख सिवाय अर्थोक केही होइन । काठमाडौं पढ्न आएका थिए । तर, गायक, गीतकार, संगीतकार र कवि भए ।
भूपाल थप्छन्, ‘अनेक क्षेत्रमा हात हाल्नु भनेको त्यसवेला आफूलाई आफैंले खोजी गरेको समय रहेछ । संघर्षको समयमा म चाहिँ को हुँ त भनेर अनेक माध्यमबाट खोजिँदोरहेछ । आफूलाई खोज्ने क्रममा धेरै काम गरियो । अन्ततः कवितामा आफूलाई पाएँ ।’
कविता नै आफ्नो अभिव्यक्तिको अन्तिम माध्यम हुनुको पछाडि धेरै कारण छन् भूपालका । हरेक मान्छेले सुरुमा सौखले कुनै क्षेत्रमा हात हाल्छ । विस्तारै त्यही क्षेत्रमा तल्लीन भएपछि त्यो क्षेत्र कर्ममा बदलिन्छ । भूपाल रेडियो नेपालमा गीत गाउँदा सन्तुष्ट भएको अनुभूति नै गर्दैन थिए । अभिव्यक्तिको केही संकेत छुटेको छ, कमजोर भइरहेको छु भन्ने अनुभूति भइरहन्थ्यो उनलाई । अनि रेडियो नेपाल धाउन छाडे ।
भूपाल सुनाउँछन्, ‘एकतर्फी ढंगले गीत र कविता लेखनमा मात्रै लागें । अझै कविता किन बढी लेखियो भने मान्छेले व्यक्त गर्नुपर्ने अत्यन्तै सुन्दर र छोटो शब्दमा अथवा छोटो फ्रेममा व्यक्त गर्न सकिन्थ्यो ।’
‘आफूभन्दा अगाडिको मानिसलाई सुनाउनुपर्छ, भेट्नुपर्छ भन्ने मान्यताबाट धेरै अलग थिएँ म । जे गर्थें, एक्लै गर्थें । त्यसवेला मैले आफ्ना सृजनाहरु पनि खासै प्रकाशित गरिनँ । म पनि कवि हो भनेर कसैलाई भनिनँ ।’
एक्लै हिँडेर बनेको परिचय
भूपाल राईको कविता यात्रा एकल यात्रा हो । उनले चार दशकभन्दा बढी समयदेखि एक्लै लेखे । एक्लै हिँडे । एक्लै यात्रा गरे । एक्लै तमाम कविताहरु लेखे । उनीसित यत्तिका लामो समयमा कसैले सँगै यात्रा गर्यो भने त्यो उनी आफैंभित्रको अर्को भूपाल राई हो ।
उनी काठमाडौं टेक्दै गर्दा हरिभक्त कटुवाल यतै बागबजारतिर थिए । भूपि शेरचन एकेडेमीतिर थिए । केदारमान व्यथित थिए । मोहन कोइराला, वैरागी काइँला, ईश्वर बल्लभहरु यतै थिए । तर, कसैसित पनि भूपालको खास सम्बन्ध भएन । औपचारिक कार्यक्रमतिर भेटिनु, गफिनुबाहेक उनको अन्तरंग सम्बन्ध विकास भएन । न समकालीन कविहरुसँगै नजिकको सम्बन्ध बन्यो ।
आफ्नो स्वभावबारे भूपाल बताउँछन्, ‘आफूभन्दा अगाडिको मानिसलाई सुनाउनुपर्छ, भेट्नुपर्छ भन्ने मान्यताबाट धेरै अलग थिएँ म । जे गर्थें, एक्लै गर्थें । त्यसवेला मैले आफ्ना सृजनाहरु पनि खासै प्रकाशित गरिनँ । म पनि कवि हो भनेर कसैलाई भनिनँ ।’
प्रायः मान्छेहरु आफ्नो क्षेत्रका मान्छेसँग नजिक रहन्छन् । बहस छलफल गर्छन् । गफगाफ गर्छन् । घुलमिल हुन्छन् । आफ्नो कुरा सुनाउँछन् । अरुको कुरा सुन्छन् । भूपालको मत छ, ‘तर, मलाई त्यसरी नजिक हुन मेरो भित्री स्वभाव र चेतनाले डो¥याएन । कसैले वाह भनिदिएर कवि बन्छु जस्तो नै कहिल्यै लागेन वा मैले कसैलाई वाह भन्दैमा ऊ राम्रो कवि बन्छ भनेर कहिल्यै लागेन । समीक्षक, समालोचनाबाट समेत धेरै पर रहें म ।’
आफ्नो परिचय आफैंले गर्दा बनेकोमा विश्वस्त छन् भूपाल । सँगै खुशी पनि छन् एक्लो यात्राले आर्जेको परिचयसँग । उनलाई लाग्छ, अहिले उनले जे परिचय प्राप्त गरेका छन्, त्यो खोजेर बनेको होइन, लेख्दालेख्दै बनेको हो । आफैंले घिसारेर आएको हो आफ्नो परिचयलाई ।
उनी सुनाउँछन्, ‘मलाई कुनै पनि क्षेत्रको ढोंगी मान्छे मनपर्दैन । कोही कविले कविताभन्दा बढी ढोंग गर्छ, कुरा चपाउँछ भने मलाई त्यो मन पर्दैन । आफ्नो कर्मभन्दा बढी भाग खोज्ने, आफैंले मात्रै खानुपर्छ, सारा देश आफैंले चलाउनुपर्छ भन्नेहरुका ढोंगप्रति साह्रै वितृष्णा लाग्छ । सबै क्षेत्रका त्यस्ता मान्छेसँग मेरो सधैं विमति रहन्छ ।’
पहिचान लेखनको त्यो प्रारम्भिक काल
काठमाडौं आएदेखि अहिलेसम्म लामो समयसम्म खासै जागिर गरेका छैनन् उनले । बढीमा पाँच सात महिना गरे होलान् । बाँकी कविता लेखनमै अधिकांश ऊर्जाशील समय बिताए । बरु पहिचानको मुद्दामा बलियो गरी निरन्तर लेखिरहे । सँगै उत्पीडित, उपेक्षित, सीमान्तमा बाँचेकाहरुमा नियमित कलम चलाइरहे ।
भूपाललाई लाग्छ, पहिचानको मुद्दामाथिको लेखन श्रृंंखलाबद्ध रुपमा आएको विषय हो । यसैले सुरु गरेको भनेर दाबी गर्ने अधिकार कसैलाई छैन ।
कवितामा चाहिँ उनले कवि वैरागी काइँलाका कविताहरुमा पहिचानका संकेतहरु देखेका छन् । वैरागी काइँलाले कवितामा मुन्धुमको प्रसंग ल्याएका थिए । आदिवासी जनजातिको मिथक ल्याएका थिए । ४० को दशकपछि उत्पीडनमा परेका आदिवासी, जनजातिको मुक्तिको मुद्दा सतहमा आएपछि पहिचानमाथि प्रखर रुपमा लेख्न थालिएको अनुभूति हुन्छ उनलाई । त्यतिखेरै देखि आफूले पनि चैतनिक रुपले लेख्न थालेको बताउँछन् ।
भूपाल सुनाउँछन्, ‘वैरागी दाइले एक ढंगले संकेत दिनुभयो । तर, उहाँको कवितामा जातीय मुक्तिका लागि भनिँदैन थियो । तैपनि उहाँबाट प्रभावित भएर मैले पनि लेख्न थालेको हो ।’
अहिलेका युवाहरुले जे लेखिरहेका छन्, प्रारम्भिक कालमा मैले लेखेकोभन्दा झनै चोटिलो लेखिरहेका छन् । उनीहरुलाई भेट्दा बडो आनन्द आउँछ । मभन्दा अघिल्लो पुस्ताका कविताहरु हेर्दा त्यस्तो उत्साहित हुँदिनँ थिएँ । किनभने हामीले खोजिरहेका कविताहरु आइरहेका थिएनन् ।’
पछि त राजन मुकारुङ, हाङयुग अज्ञात, उपेन्द्र सुब्बाहरुले सृजनशील अराजकता नाम दिएर साहित्यिक आन्दोलन नै चलाए । जनयुद्धले धेरै मुद्दाहरुलाई राजनीतिक रुप दियो । राजनीतिक रुपमा बहसको विषय बन्न थाल्यो । २०६२/६३ को जनआन्दोलनपछि एक ढंगले पहिचान लेखक मूलधार जस्तो बनेर स्थापित भयो ।
भूपालको तर्क छ, ‘पहिचान लेखनको प्रारम्भिक कालमा लेख्न सुरु गरें । अहिले यसरी लेखिन थाल्यो कि मलाई एकदमै हलुको महसुस हुन्छ ।’
मुद्दाकै कारण भूपाल पछिल्लो पुस्ताका भाइ पुस्ताका कविहरुसँग ज्यादाजसो घुलमिल हुन्छन् । उनीहरुसित भेट्दा मनोवैज्ञानिक रुपमा ऊर्जावान भएको महसुस गर्छन् । सँगै वैचारिक रुपले त्यही धारमा आफूले भन्दा सशक्त कविताहरु भाइहरुले लेखिरहेको देख्दा लोभ लाग्छ उनलाई ।
‘अहिलेका युवाहरुले जे लेखिरहेका छन्, प्रारम्भिक कालमा मैले लेखेकोभन्दा झनै चोटिलो लेखिरहेका छन् । उनीहरुलाई भेट्दा बडो आनन्द आउँछ । मभन्दा अघिल्लो पुस्ताका कविताहरु हेर्दा त्यस्तो उत्साहित हुँदिनँ थिएँ । किनभने हामीले खोजिरहेका कविताहरु आइरहेका थिएनन् ।’
प्राज्ञ भनेको त ज्ञानको भण्डार हो
वैचारिक र राजनीतिक हिसाबले भूपाल माओवादी पार्टीसँग नजिक छन् ।
प्रचण्डको पहिलो प्रधानमन्त्रीत्वकालमा गोपाल किराँती संस्कृतिमन्त्री हुँदा छोटो समयका लागि नेपाल एकेडेमीमा उपकुलपति पनि भए । तर, सर्वोच्च अदालतले उक्त निर्णय अवैधानिक भनिदिएपछि पूर्ण कार्यकाल बिताउन पाएनन् ।
भूपाल बन्दुक नै बोकेर त जनयुद्धमा होमिएका थिएनन् ।
उनको भनाइ छ, ‘पछिल्लो कालमा माओवादी पार्टीसँग नजिक भएको चाहिँ मैले उठाइरहेको मुद्दा उसले अंगीकार गरेकाले हो । मैले जातीय मुक्तिका लागि प्रशस्त गीत लेखें । २०४० को दशकको प्रारम्भदेखि त्यत्रो कविता लेखें । मैले सृजनामार्फत् उठाइरहेको त्यही मुद्दालाई २०६० को दशकदेखि माओवादीले औपचारिक रुपमा स्वीकार गर्यो । जातीय मुक्तिमोर्चाहरु गठन गर्यो । मैले उठाएको मुद्दालाई उसले राजनीतिक हिसाबले उठाएपछि माओवादीसँग नजिक भएको हो ।’
अहिले एकेडेमी पुनर्गठन हुने प्रक्रियामा छ । कुलपति गंगाप्रसाद उप्रेतीको कार्यकाल गएको असोजमै सकिएको छ । अन्य प्राज्ञहरुको कार्यकाल अब सकिँदैन । यही छेकोमा कवि-लेखकहरु नेताहरुका घरघर पुगिरहेको खबरले बजारमा गर्मी थपेको छ ।
भूपालमात्रै होइन, एकेडेमीमा पार्टीको फेर समातेर नै तमाम स्रष्टाहरु प्राज्ञ हुन पुग्छन् । भूपाल पनि २०६५ सालमा त्यसैका निरन्तरता थिए । सत्ताको प्रतिपक्षमा बस्नुपर्ने भनिने लेखक, कविहरु प्रायः कुनै न कुनै पार्टीसँग आवद्ध छन् । ती पार्टीहरु सत्तामा पुग्दा उनीहरुको मुख्य तीर नै एकेडेमीहरु हुन्छन् । कतिपय अवस्थामा त राजनीतिक पार्टीका कार्यकर्ता भर्तीकेन्द्र जस्ता पनि देखिन्छन् एकेडेमीहरु ।
भूपाल पनि सहमत छन्, एकेडेमीको छवि ध्वस्त भएको छ । यसलाई पुनर्निर्माण नगरिकन हुँदै हुन्न । पञ्चायतकालमा राजालाई मन परेका स्रष्टाहरु एकेडेमीमा पुग्थे । अहिले कुनै अमूक पार्टी र नेताहरुका आसेपासेहरु एकेडेमी पुग्छन् ।
पछिल्लो समय एकेडेमी ध्वस्त हुनुको पछाडिको कारणबारे भूपाल भन्छन्, ‘प्राज्ञिकता, प्राज्ञ भनेको नै बुझिएन । प्राज्ञ भनेको त ज्ञानको अभ्यास गर्ने थलो हो । पछिल्लो काल दलका कार्यकर्ताको जागिर खाने थलो बनेको छ । शुद्ध काव्यको काम गर्नेहरु त्यहाँ जानबाट बञ्चित छन् । जो शक्तिमा छन्, उनीहरु जाने भए । एमालेको पालो आए एमाले जाने । माओवादीको पालो आए माओवादी जाने । ती सबै अभ्यास बेठीक हुन् ।’
उनी थप तर्क गर्छन्, ‘एकेडेमीमा जाँदै गर्दा पार्टीकै मान्छे गए पनि प्राज्ञको ओज थाम्ने, त्यसको गरिमालाई आत्मसात गर्न सक्ने मान्छे जानुप¥यो नि ! जसलाई अरु पार्टीका र सारा मान्छेले स्वीकार गरोस् ।’
एकेडेमीको छवि यसरी ध्वस्त हुनुमा कवि-लेखक पनि कारक देख्छन् भूपाल । कवि-लेखकले त्यहाँ जानु भनेको जागिर खानुमात्रै हो भन्ने सोच्नाले पनि एकेडेमी ध्वस्त भएको उनको विश्लेषण छ । त्यहाँ गएर अध्ययन, अनुसन्धान गर्छु भन्नेलाई त्यहाँ नपुर्याइनु नै एकेडेमीको छवि धमिलो हुँदै जानुको कारण देख्छन् ।
अहिले एकेडेमी पुनर्गठन हुने प्रक्रियामा छ । कुलपति गंगाप्रसाद उप्रेतीको कार्यकाल गएको असोजमै सकिएको छ । अन्य प्राज्ञहरुको कार्यकाल अब सकिँदैन । यही छेकोमा कवि-लेखकहरु नेताहरुका घरघर पुगिरहेको खबरले बजारमा गर्मी थपेको छ । आफूले पनि कवि-लेखकको घरदैलोबारे सुनेको बताउँछन् भूपाल ।
उनी सुनाउँछन्, ‘दौडधूप गरिरहेको सुनेको छु । आशा छ, प्राज्ञ हुन लायकका मान्छे त्यहाँ पुग्नेछन् । जो पुगोस्, हामीले बाहिरबाट सहयोग गर्न सकिने मान्छे पुगून् । कार्यकर्ता भर्तीकेन्द्रमात्रै नबनोस् एकेडेमी ।’