पोखरा जहाज दुर्घटनाको खबर विश्व मिडियामा : कसले के लेखे ?
काठमाडौं । बिहान ११ः१० हाराहारीमा दुर्घटना भएको यती एयर दुर्घटनाको समाचार विश्वभरका मिडियाहरुमा आएको छ । विश्वका विभिन्न मिडियाले यसको समाचार प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।
बीबीसी अनलाइनले मुख्य समाचार बनाउँदै पर्यटकीय नगर पोखराको विमानस्थलमा जहाज अवतरण हुने क्रममा दुर्घटना भएर आगो सल्किएको लेखेको छ । जहाजमा ६८ नेपाली र १५ विदेशी भएको बीबीसीले उल्लेख गरेको छ । १५ विदेशीमा पाँच भारतीय, चार रसियन र दुई कोरियाली भएको बीबीसीले उल्लेख गरेको छ । सेती नदी क्षेत्रमा नेपाली सेनाका २०० जवान खटिएको बीबीसीले लेखेको छ ।
अमेरिकी विश्व समाचार च्यानल सीएनएनले पनि नेपालको जहाज दुर्घटनाको समाचारलाई ‘ब्रेकिङ’ भन्दै प्रकाशन गरेको छ । सीएनएनले लेखेको समाचारमा राइजिङ नेपालको समाचारलाई साभार गर्दै यती एयरलाइन्सको एटीआर-७२ जहाज दुर्घटना भएको लेखेको छ । राजधानी काठमाडौंभन्दा १२९ किलोमिटर पश्चिम क्षेत्रमा जहाज दुर्घटना भएको सीएनएनले लेखेको छ । गत वर्षको मेमा तारा एयरको १४ हजार ५०० मिटर फिटमा दुर्घटना हुँदा २२ को मृत्यु भएको भन्दै सीएनएनले नेपालको यो दुर्घटना पछिल्लो दश वर्षमा भएको दशौं दुर्घटना भएको लेखेको छ ।
कतारको विश्व समाचार च्यानल अलजजिराले नेपालको दुर्घटना समाचारलाई प्रमुखताका साथ प्रकाशन गरेको छ । अलजजिराले प्रधानमन्त्री पुष्पकमल दाहालले आपतकालीन बैठक बोलाएको भन्दै नेपालमा योभन्दा अगाडि सन् २०१८ मा यूएस बङ्लाको जहाज दुर्घटनामा ४९ र गत मेमा भएको तारा एयरको दुर्घटनामा २२ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
जमर्न विश्व च्यानल डचेभेलेले नेपालको हवाई दुर्घटनाको समाचार प्राथमिकतासाथ प्रकाशन गरेको छ । समाचारमा नेपालमा मौसम पूर्वानुमानको अत्याधुनिक पूर्वाधार नभएको तथा फेफ्टी स्टान्डर्ड पालन नहुने भन्दै जोखिम भएको लेख्दै युरोपेली आकाशमा नेपाली जहाज उड्न प्रतिबन्ध लगाइएको लेखेको छ ।
चीनको विश्व समाचार च्यानल सीजीटीएनले नेपालको हवाई दुर्घटनाको समाचार उत्तिकै प्राथमिकतामा राखेको छ । उचित तालिम र मर्मतसम्भारको अभावले नेपालको हवाई सुरक्षा कमजोर भएको सीजीटीएनले उल्लेख गरेको छ ।
रुसी विश्व च्यानल आरटीले नेपालको जहाज दुर्घटनाको समाचार प्राथमिकताका साथ प्रकाशन गरेको छ । भिडियो सामग्रीसहित प्रकाशन गरिएको समाचारमा कम्तीमा ४० जनाको मृत्यु भएको उल्लेख गर्दै आरटीले उद्दार टोली खटिएको तथा नेपालका प्रधानमन्त्री दाहालले आपतकालीन बैठक बोलाएकोसमेत उल्लेख गरेको छ ।
यस्तै टर्कीको विश्व च्यानल टीआरटी वर्ल्डले पनि नेपालको जहाज दुर्घटनाको समाचार प्राथमिकताका साथ प्रकाशन गरेको छ । सन् १९९२ मा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको जहाज दुर्घटनामा १६७ को ज्यान गएको, त्योभन्दा दुई महिना अगाडि थाई एयरको दुर्घटनामा ११३ को ज्यान गएको भन्दै टीआरटी वर्ल्डले सन् २०१८ मा भएको यूएस बंगला विमानको दुर्घटनामा पनि ५१ जनाको ज्यान गएको तथ्यांक प्रस्तुत गरेर नेपालमा जहाज दुर्घटना धेरै हुने लेखेको छ ।
नेपालको उड्डयन क्षेत्र किन अविश्वसनीय र असुरक्षीत छ ?
निर्मम समिक्षा गरिनुपर्छ र दीर्घकालीन समाधानको बाटोमा जानुपर्छ ।
यतिबेलाको नागरिक उड्डयनमन्त्री को हो ? पोखरा विमान दुर्घटनाको कमजोरी पत्ता लगाएर भावी सतर्कता अपनाउनु पर्यो ।
यति एयरलाइन्सको काठमाडौं-पोखरा विमान दुर्घटनामा परि ज्यान गुमाउने समस्त यात्रुहरूमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना !!