पोखरा हवाईजहाज दुर्घटनाले पार्ने पाँच असर
काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको एटीआर-७२ जहाज दुर्घटनाको समाचार विश्वभर फैलिएको छ । विश्वभरका मिडियाहरुले यसको समाचार बनाएका छन् । नेपालबाहेकका भारत, रुस, कोरिया, अर्जेन्टिना, फ्रान्स, आयरल्याण्डदेखि अस्ट्रेलियासम्मका यात्रुको ज्यान गएकाले आइतबारको शोक नेपालको मात्रै होइन, ती देशहरुको पनि हो । पोखराको हवाईजहाज दुर्घटनाले नेपाललाई देखिने पाँच प्रत्यक्ष प्रभाव पारेको छ ।
१. उद्धारको नेपाली दक्षतामा प्रश्न
आइतबारको हवाईजहाज दुर्घटना कुनै अनकन्टार क्षेत्रमा थिएन । गण्डकी प्रदेशको राजधानी तथा अन्तर्राष्ट्रिय विमानस्थलको सेरोफेरोमै दुर्घटना भएको थियो । तर, नेपाली उद्धारकर्ताले ज्यादै ढिलाइ गरे । दुर्घटनाको दोस्रो दिन लाग्दा पनि पूरा उद्धार हुन सकेन । यसले नेपालमा व्यापक आलोचना भयो ।
नेपालमा मात्रै होइन विश्वभरमा यसको खराब सन्देश पुगेको छ । नेपालको एकदम सुगम क्षेत्रमा भएको हवाईजहाज दुर्घटनाको उद्धारमा व्यापक विलम्ब भएको कुराले नेपालका दूरदराजमा हुने उद्धारमा झनै समस्या हुने सन्देश पुगेको छ । देशको महानगर क्षेत्रमा भएको दुर्घटनाको अत्यन्तै धिमा गतिको उद्धारले सबैलाई झस्काएको छ । नेपालको विपत उद्धारको दक्षतामै गम्भीर प्रश्न खडा भएको छ । यसका प्रभाव दीर्घकालीन हुनेछन् ।
२. नेपाली हवाई सुरक्षाको थप खराब प्रचार
केही समय अगाडि चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका नेपाल प्रमुख चाउ सेङपिङले नेपालका पर्यटन क्षेत्रमा बढी दुर्घटना हुने गरेका कारण चिनियाँ पर्यटक कम आएको उल्लेख गरेका छन् । सन् २०१२ को सेप्टेम्बर २८ मा सीता एयरको दुर्घटनामा मृत्यु भएका पाँच चिनियाँ पर्यटकदेखि सन् २०१३ अक्टोबर १३ मा पोखरामा अल्ट्रालाइट दुर्घटनामा मृत्यु भएका एक चिनियाँ पर्यटकको उदाहरण दिँदै उनले यस्ता खबर चीनमा मात्रै नभएर विश्वभर व्यापक पुग्नाले चिनियाँ पर्यटकले नेपाल असुरक्षित ठानेको लेखेका छन् ।
यस्तै खराब प्रचार आइतबारको दुुर्घटनाले विभिन्न देशहरुमा पार्ने जोखिम छ । दुर्घटनामा ज्यान गुमाएका पाँच भारतीय, चार रुसी, दुई कोरियाली छन् । यस्तै, अर्जेन्टिना, फ्रान्स, आयरल्याण्ड र अस्ट्रेलियाका एक/एक जना यात्रुले समेत ज्यान गुमाएका छन् । यो खबरले ती देशका आमसञ्चार र आम मान्छे दुवैमा नेपाली आकाश असुरक्षित भएको सन्देश प्रभाव भएको छ । यसले नेपाली हवाई सुरक्षा कमजोर भएको विदेशीहरुले पटकपटक भन्दै आएको गुनासोलाई थप बल पुग्ने देखिन्छ ।
३. ईयुको कालोसूचीको समयसीमा लम्बिने जोखिम
सन् २०१३ को डिसेम्बरबाट युरोपियन युनियनले नेपाली हवाईजहाजहरुलाई कालोसूचीमा राख्यो । युरोपियन आयोगले हालसालै सार्वजनिक गरेको सूचीमा पनि नेपाली हवाईजहाजहरु कालोसूचीमै राखिएका छन् । सन् २०२२ नोभेम्बर २३ मा अपडेट भएको नयाँ सूचीको ४१ औं अद्यावधिकअनुसार ११८ हवाईजहाजहरुलाई युरोपेली आकाशमा प्रतिबन्ध लगाइएको छ ।
अफगानिस्तानपछि दक्षिण एसियाबाट युरोपेली आकाशमा कालोसूचीमा राखिएको देशमा नेपालमात्रै छ । युरोपेली आयोगले सार्वजनिक गरेको सूचीअनुसार एयर डाइनास्टी, एल्टिच्युट एयर, बुद्ध एयर, फिस्टेल एयर, समिट एयर, हेली एभरेष्ट, हिमालयन एयरलाइन्स, कैलाश हेलिकप्टर, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टरलाई कालोसूचीमा राखेको छ ।
यस्तै प्रभु हेलिकप्टर, नेपाल एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्सलाई युरोपेली युनियनले कालोसूचीमा राखेको छ । आइतबारको पोखरा दुर्घटनासँगै नेपाललाई यो सूचीबाट आउट गर्ने नेपाली चाहनाले थप समय कुनुपर्ने देखिन्छ ।
४. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक सफलतामा प्रश्न
अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन । आन्तरिक उडानबाटै भएको उद्घाटनको तीन हप्ना पुग्दानपुग्दै आन्तरिक उडानको अहिलेसम्मकै सबैभन्दा विशाल दुर्घटना भएको छ । भारतीय मिडियाहरुले चीनले बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे अनर्गल प्रचार गरिरहेको अवस्थामा सोही विमानस्थलको सेरोफेरोमा भएको दुर्घटनाले उनीहरुको प्रोपोगाण्डालाई थप बलियो बनाएको छ । उनीहरुले त्यो खालका प्रचारलाई तीव्र पारेका छन् ।
नेपाल जस्तो सानो मुलुकले भारतीय मिडियाको हुइँयालाई काउन्टर गर्न सक्ने अवस्था हुन्न । यत्तिमात्रै होइन, टर्किस एयरलाइन्सका जीएम अब्दुल्लाहले बाइड बडी चल्ने विमानस्थल नभएकाले पोखरामा अन्तर्राष्ट्रिय उडान नाफा हुने शंका सात महिना अगाडि नै गरेका थिए ।
नेपाल पर्यटन बोर्डका सीईओले बोर्डको २४औं वार्षिकेत्सवको अवसरमा बोल्दै विमानस्थलको नाफामा शंका गरेका थिए । विज्ञहरुका यस्ता शंका, भारतीय मिडियाका प्रोपोगाण्डाका बीचमा भएको दुर्घटनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक सफलतामा गम्भीर प्रश्न खडा गरेको छ । अझ चिनियाँ ऋण र चिनियाँ ठेकेदारको पैसामा बनेको विमानस्थल भएकाले विश्व शक्ति समीकरणका देखिने नदेखिने असरहरुसमेत पर्नसक्ने देखिन्छ ।
५. पर्यटन दशकको खराब इनिङ
नेपाल सरकारले सन् २०२३ देखि २०३२ सम्म पर्यटन दशकको कार्यक्रम ल्याएको छ । पर्यटन दशकलाई नेपालले लक्षित गरेको सपना भेट्न पोखराको दुर्घटना एक बाधक बन्नसक्छ । नेपालको हिमाली र साहसिक पर्यटन क्षेत्रका बहुसंख्यक पर्यटकहरुको यात्रा हवाईमा हुने भएकाले उनीहरुको आगमनमा असर परेर नेपाल पर्यटन दशकको लक्ष्य भेट्न असहज हुनसक्छ ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठ हुँदा सार्वजनिक भएको ७३ पृष्ठको योजनाअनुसार सन् २०३२ मा ३५ लाख पर्यटक ल्याउने र थप दश लाख रोजगारी सिर्जना गर्ने जस्ता पर्यटन दशकलाई पोखराको दुर्घटनाले देखिने प्रभाव पार्नसक्छ ।