जीवित शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट – Nepal Press

जीवित शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा जीवित एक नवजात शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट गरिएको छ । मोरङ जहदा-३ भातिगञ्जका दीलिप मुखियाको १८ दिनकी शिशुलाई कोसी अस्पतालका डा. अनिल यादवले मृत घोषणा गरेका थिए ।

डाक्टरले मृत्यु भइसकेको भनिएकी शिशुको अहिले गोल्डेन अस्पतालमा एनआइसीयू कक्षमा उपचार भइरहेको छ ।

कोसीमा मृत घोषणा गरेपछि गोल्डेन अस्पतालमा लैजाँदा शिशु जीवित भएको त्यहाँका डाक्टरले बताएपछि आक्रोशित परिवार र आफन्तले डाक्टर यादवमाथि कुटपीट गरेका हुन् ।

श्वासप्रश्वासमा समस्या भएपछि मुखिया परिवारले आज बिहान शिशुलाई उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । राम्रोसँग परीक्षण नै नगरी यादवले मृत घोषणा गरेको परिवारले जनाएको छ ।

दिलिपकी पत्नी उमाले पुस १७ मा छोरीलाई जन्म दिएकी थिइन् । जन्मताका शिशुको तौल १ किलो ४ सय ग्राम थियो । हस्पिटलमा केही दिनको बसाईपछि डिस्चार्ज गरिएको थियो ।

घटनाका बारेमा बाबु दीलिपले भने, ‘आकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले छोरीको स्वास्थ्य जाँच गरेका थिए । त्यसपछि हामीलाई डा. आकाश यादवले भने- छोरीको सास छैन । घर लैजानू ।’

उनका अनुसार डाक्टरले मृत घोषणा गरेपछि बाहिर निकालिएकी शिशुले हातखुट्टा हल्लाइन् ।

दीलिपले भने, ‘बिरामीको उपचारमा लापरबाही गर्ने यस्तो चिकित्सकलाई कडा कारबाही हुनुपर्दछ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनाको विषयमा छानबिन भइरहेको बताए ।

उनले भने, के भएको हो यस बारेमा हामीले छानबिन गरिरहेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *