विश्वप्रकाशको दाबी- कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नुहुनेछ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसद्वारा प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने दाबी गरेका छन् । उनले आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो दाबी गरेका हुन् ।
वर्तमान सत्तारुढ गठबन्धनबीच राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजोको सर्वदलीय बैठकमा संवैधानिक पदहरूमा सबै दलहरूबीच सहमति कायम गर्ने प्रस्ताव गरेका थिए । महामन्त्री शर्माले कुनै व्याख्या नगरी कांग्रेसद्वारा प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने बताएका हुन् ।
‘राष्ट्रपति नेपाली कांग्रेस पार्टीले प्रस्ताव गरे बमोजिमको बन्नुहुनेछ,’ शर्माले भने ।
प्रचण्डले यस विषयमा सकारात्मक जवाफ दिनुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा शर्माले जवाफ दिए, ‘अहिलेलाई यतिमात्रै कुरा गरौं । धेरै टिप्पणी गर्नु उचित हुँदैन । किनभने अहिले हामी सभामुखको चरणमा छौं । सभामुखको चरण सकिएपछि राष्ट्रपतिको चरण जब आउँछ, त्यसपछि थाहा हुन्छ । यसका लागि समय लाग्छ ।’
उनले थपे, ‘शीतल निवासमा नेपाली कांग्रेसले प्रस्तावित गरेको व्यक्तित्व राष्ट्रपतिको रूपमा तपाईंहरूले देख्नुहुनेछ ।’