गगनको महत्वाकांक्षा रोक्न धनराजको प्रस्ताव- शेखरलाई भावी सभापति उम्मेदवार घोषणा गरौं – Nepal Press

गगनको महत्वाकांक्षा रोक्न धनराजको प्रस्ताव- शेखरलाई भावी सभापति उम्मेदवार घोषणा गरौं

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूहको नेता डा. शेखर कोइराला कि गगन थापा भन्ने प्रश्न उठिरहेका बेला सो समूहको बैठकमा उपसभापति धनराज गुरुङले नेताहरूको महत्वाकांक्षालाई बेलैमा लगाम लगाइनुपर्ने सुझाव दिएका छन् ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार भएको समीक्षा बैठकमा उपसभापति गुरुङले कांग्रेस रुपान्तरण र सुधार अभियानको नेतृत्व शेखर कोइरालाले गर्नुपर्ने भन्दै एउटै व्यक्तिलाई नेता मान्नुपर्ने बताएका हुन् ।

धनराजको भनाई उदृत गर्दै एक नेताले भने, ‘भोलि मेरो पनि महात्वाकांक्षा जाग्ला । गगन थापा अरुको पनि रुचि बढ्ला । त्यसैले अहिले नै कमिटमेन्ट गरौं, हामी सबैको नेता शेखर कोइराला हो । अब हाम्रो समूहबाट सभापतिको उम्मेदवार पनि शेखरलाई घोषणा गरेर जानुपर्छ ।’

सो समूहबाट गगन थापा दलको नेतामा उम्मेदवार बनेपछि समूहको नेता को भन्ने बहस चलिरहेको छ । पछिल्लो कार्य सम्पादन समिति बैठकमा गगन थापाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा नोट अफ डिसेन्ट लेख्दा शेखर र धनराज भने मौन बसेका थिए ।

संसदीय दलको नेताको चुनावमा पनि शेखर समूहकै केही जिम्मेवार नेताहरूले समेत गगनलाई भोट नदिएको आरोप लागिरहेको छ । गगनले समूहको नेता बन्न खोजेपछि शेखर समूहका सिनियर नेताहरू भड्किएको आरोप छ ।

शेखर-गगन समूहमै विभाजन विवाद र अविश्वासको वातावरण देखिएपछि गुरुङले महत्वाकांक्षा रोक्न शेखरलाई सभापति उम्मेदवार घोषणा गर्न प्रस्ताव राखेका हुन् । चुनावको टिकट वितरणदेखिकै विषयमा समीक्षा गर्ने भएकाले सो समूहको बैठक सोमबार पनि जारी रहने नेता चन्द्र भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर