टुँडिखेलमा ल्होछार : तामाङ पोशाकमा ठाँटिए प्रचण्ड (तस्बिरहरू) – Nepal Press

टुँडिखेलमा ल्होछार : तामाङ पोशाकमा ठाँटिए प्रचण्ड (तस्बिरहरू)

काठमाडौं । तामाङ समुदायको नयाँ वर्ष राष्ट्रिय सोनाम ल्होछार मनाइएको छ । टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी २८५९ औं मञ्जुश्री संवत् एवम् ल्होछार मनाइएको हो । नेपाल तामाङ ताम्बा घेदुङले माघ ७, ८ र ९ गतेसम्म तीन दिन विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

समारोहका प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि तामाङ समुदायको जातीय पोशाकमा सजिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताए ।
प्रधानमन्त्रीले भने, ‘आजबाट सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व-२८५९ ह्योई-तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँ बसोबास गर्ने सबै जाति जातजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो ।’

प्रधानमन्त्रीले थपे, ‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो। यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो । यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होछार पनि भन्दछन् ।’

‘ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यो परम्परामा विभिन्न बाह्र वटा पशुपंछीको नामबाट १२ ल्होको नाम राखिएको हुन्छ र बाह्र बर्षको चक्र बनाइन्छ’ उनले भने, ‘बाह्र ल्होमध्ये प्रत्येक वर्ष एक-एकवटा ल्हो फेरिन्छ । ल्हो (वर्ष) सँग खाम (पाँच तत्व)हरू- आगो, पानी, माटो, फलाम, काठसँग जोडिएका हुन्छन् । यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन् ।

तामाङहरुले मान्ने ल्होछार (नयाँ वर्ष) तामाङ मञ्जुश्री पात्रोको पहिलो महिनाको पहिलो दिन हो ।

हिजो ताक् ल्हो (बाघ वर्ष)लाई विदा गरियो । आजबाट ह्योई (खरायो वर्ष) ल्हो सुरु भयो । यसैले यो तामाङ सभ्यताले मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन पनि हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ । तामाङ जीवन र संस्कृतिको यही ल्हो परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ भन्ने मैले बुझेको छु ।’

‘नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, भियतनाम, लाओस, थाइल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल-चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ । आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघ/संस्थाहरुले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ। यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ’ प्रधानमन्त्रीले भने ।

तस्बिरहरुः     

 

 

 

तस्बिरः रासस प्रदीपराज वन्त


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर