स्वाथ्यमन्त्री गिरीले गरे बाँकेको दादुरा प्रकोप क्षेत्रको अवलोकन – Nepal Press

स्वाथ्यमन्त्री गिरीले गरे बाँकेको दादुरा प्रकोप क्षेत्रको अवलोकन

भेरी अस्पतालमा डायलाइसिस सेवा विस्तार

रुपन्देही । केही सातायता दादुरा प्रकोप फैलिएको बाँकेको नेपालगन्ज क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले अवलोकन गरेका छन् ।

मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलसहितको टोलीले बाँके पुगेर नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रको अवलोकन गरेको हो ।

उनीहरु विभिन्न स्वास्थ्य सस्थामा पुगेर दादुरा विरुद्धको जारी खोप अभियानको पनि अवलोकन गरेका छन् । साउन १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारीलक्षित खोप कार्यक्रम तीव्र पारिएको छ । बाँकेबाट फैलिएको दादुरा हाल सुर्खेतमा समेत पुगेको छ ।

समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि दादुरा-रूबेलाविरूद्धको खोप अभियान सुरु गरिएको छ । हाल नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्र बनाइ ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई तीव्र रूपमा खोप लगाइएको छ ।

यसैबीच बाँकेको भेरी अस्पताल नेपालगञ्जमा रहेको डायलाइसिस सेवालाई थप बिस्तार गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरीले भेरी अस्पतालमा रहेको डायलाइसिस कक्षको उद्घाटन गरेपछि बिरामीलाई डायलाइसिस गर्न सहज हुने भएको छ ।

यहाँ रहेको डायलाइसिस कक्ष ६ बाट १० वेड पुर्याइएको छ । योसँगै अस्पतालको डायलाइसिस सेवा चार सय गुणाले वृद्धि भएको अस्पतालले जनाएको छ ।

सो अवसरमा स्वास्थ्यमन्त्री गिरीले सरकार गुणस्तरीय सेवाको पहुँच वृद्धि गर्न लागि परेको उल्लेख गर्दै स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन लागेको र ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

मन्त्री गिरीले सबै नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच स्थापित गर्न र कुनै पनि नागरिक उपचार अभावमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न चाहेको धारणा राखे ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले सरकारले संघीय अस्पतालको सेवा गुणस्तरीय बनाउन जनशक्ति व्यवस्थापनसँगै भौतिक संरचना सुधारको काम गर्दै आएको बताउँदै संघीय अस्पतालहरुलाई प्रबिधिमैत्री बनाउन सरकार प्रयासरत रहेको पनि उल्लेख गरे ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईंले अस्पतालको हालको अवस्था, अस्पतालले सेवा प्रवाह समस्या र भावी योजनाबारे जानकारी गराए ।

उनले हेपाटाइटिस बी, हेपाटाइटिस सी, एचआइभीजस्ता सङ्क्रामक रोगका बिरामीका लागि पनि आवश्यक पर्ने डायलाइसिस मेशिन छुटटै व्यवस्थापन गर्न लागिएको बताए ।

उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल र नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बाँकेमा फैलिएको दादुरा महामारीको अबस्था र रोकथामबारे भैरहेको प्रयासबारे जानकारी गराएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर