धमाधम युरोपका सांसदहरु पक्राउ पार्ने के हो ‘कतारगेट’ प्रकरण ? – Nepal Press

धमाधम युरोपका सांसदहरु पक्राउ पार्ने के हो ‘कतारगेट’ प्रकरण ?

काठमाडौं । गत डिसेम्बर ९ (मंसिर २३) शुक्रबारका दिन बेल्जियम प्रहरीले युरोपेली संसदकी उपाध्यक्ष इभा काइलीसहित चार जनालाई पक्राउ गर्‍यो । फ्रान्सको विश्व च्यानल फ्रान्स २४ का अनुसार काइलीको पक्राउसँगै ६ लाख युरो मुद्रासमेत बरामद भएको थियो । पक्राउ परेको भोलिपल्टै उनलाई युरोपेली संसदको उपाध्यक्षबाट हटाइएको थियो ।

उनीसँगै पक्राउ परेका थिए इटालीका पूर्वयुरोपेली सांसद पियर इन्तोनियो पान्जेरी । ग्रिसको समाजवादी युरोपेली सांसद काइलीदेखि पूर्वसांसद पान्जेरीसम्मलाई पक्राउ गर्नुको एक प्रमुख कारण ‘कतारगेट’ प्रकरण हो ।

कतारगेट प्रकरणमा अहिले पक्राउ पर्नेहरुको संख्या बढ्दै छ । पैसा लिएर कतारको पक्षमा पैरवी गरेको भन्दै पक्राउ पर्ने युरोपेली सांसदहरुको संख्या बढ्दैछ । अनुसन्धान र पक्राउ सँगसँगै अगाडि बढिरहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसरी जन्मेको थियो कतारी आशंका

पूर्वटेलिभिजन प्रस्तोतासमेत रहेकी युरोपेली संसदकी उपाध्यक्ष इभा काइलीलाई कतारी पैसामा सदनको काम प्रभाव गरेको आशंका विश्वकप फुटबलसँगै गरिएको थियो । जर्मनीको विश्व च्यानल डीडब्लुका अनुसार कतार विश्वकप हुनुभन्दा केही दिन अगाडि काइलीले कतारी श्रममन्त्री अलि बिन समिख अलि मर्रीलाई भेटेकी थिइन् । भेटेर उनले कतारको श्रम व्यवस्थाको बारेमा सकारात्मक टिप्पणी गरेकी थिइन् ।

युरो न्युजका अनुसार युरोपेली सदनको पोडियमबाटै ४४ वर्षकी काइलीले भनेकी थिइन, ‘श्रम अधिकारका सवालमा कतार उदाहरणीय छ ।’

फ्रान्स २४ का अनुसार कतार भ्रमणका क्रममा कतारको सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको भिडियोमा काइलीले भनेकी थिइन, ‘मलाई विश्वास छ कि यो विश्वकप अरबीहरुको लागि राजनीतिक रुपान्तरण तथा सुधारको एक महान औजार हो ।’

युरोपेली सदनका १४ उपाध्यक्षमध्ये एकको रुपमा निजी भ्रमणमा कतार विश्वकपमा पुग्दा काइलीले अति विशिष्ट कक्ष पाएको न्यू योर्क टाइम्सले लेखेको छ ।

यस्तै पक्राउ परेका ६७ वर्षका पूर्वइटालीका युरोपेली सांसद पियर इन्तोनियो पान्जेरी भने उनको एनजीओको कारण शंकाको घेरामा परेका थिए । १५ वर्ष युरोपेली संसदमा सदस्य भएका उनी पछिल्लो समयमा फाइट इम्प्युनिटी नामक एनजीओ सञ्चालन गरिरहेका थिए । पान्जेरी र उनका परिवारहरुको अस्वाभाविक बैंक ब्यालेन्स र घरजग्गामा स्वामित्व देखिएपछि उनी थप शंकामा परेका थिए ।

१५ वर्ष युरोपेली संसदमा बसेको लिगेसीलाई दुरुपयोग गरेर कतारको पक्षमा पैरवी गरेको भन्दै उनी शंकामा तानिएको फ्रान्स २४ ले उल्लेख गरेको छ ।

विश्वभरबाट कतारको श्रम व्यवस्थाको खरो आलोचना भएको वेलामा उनले नरम बोली बोलेपछि उनी शंकाको घेरामा परेकी थिइन् । त्यसैले श्रृङ्खलाबद्ध आशंकापछि उनी पक्राउमा परेका हुन् । पक्राउ नगरिए पनि इटालीका युरोपेली सांसद आन्द्रेया कोजोलिनोदेखि बेल्जियमका युरोपेली सांसद मार्क ताराबेलासम्मको घरमा खानतलासी गरिएको छ । उनीहरुसँग सोधपुछ गरिएको छ ।

कतारगेट प्रकरणका मुख्य आरोपितहरुमा इभा काइलीका सहयोगी फ्रान्सेस्को जिओर्गी, इटालीको एनजीओ नो पिस विडाउट जस्टिसका प्रमुख निक्कोलो फिगा तालामान्का, इटालीको टे«ड युनियन नेता लुका भिसेन्तिनी आदि रहेका छन् । सांसद र पूर्वसांसदका अतिरिक्त एनजीओको मिलेमतोमा कतारी पैसा ल्याएर कतारी मुद्दामा पैरवी गरेकाले उनीहरु पक्राउ परेका हुन् ।

यो प्रकरणमा मोरोक्को पनि जोडिएको छ । तर, यसको नाम भने ‘कतारगेट’ नै दिइएको छ । कतारगेट प्रकरणसँगै ईयू-कतार फ्रेण्डसिप समूहलाई बन्द गरिएको थियो ।

सांसदहरु विदेशी एजेन्डामा ‘बिक्न’ थालेपछि कडाइ गर्दै युरोपेली संसद

युरोपली संसदका सदस्यहरुले विदेशी पैसामा तिनीहरुको मुद्दामा लबिङ गर्न थालेपछि लबिङका नियमहरुमा कडाइ थालिएको छ । पोलिटिकोसँग अन्तर्वार्ता दिँदै युरोपेली संसदकी ‘मापदण्ड प्रमुख’ इमिली ओ रेइलीले लबिङको नयाँ आचारसंहिताको आवश्यकताको बारेमा बोलेकी थिइन् । कतारगेट प्रकरण आएपछि युरोपेली संसदलाई पोल्याण्ड र हंगेरी जस्ता देशहरुसँग डिल गर्न गाह्रो हुने उनको तर्क थियो ।

युरोपेली सदनकी प्रमुख रोबेर्ता मेटसोलाले १४ बुँदे भ्रष्टाचारविरोधी योजना सार्वजनिक गरेकी थिइन् । युरोपेली सदनमा कतारगेट भाग दुई नआओस् भन्नलाई उनले यस्तो सन्देश ल्याएको विश्व मिडियाहरुले लेखेका छन् । उनको १४ बुँदे योजनामा पूर्वसांसदहरुले तत्काल कुनै एनजीओ खोल्न नपाउने, ईयू-कतार मैत्री समूह जस्ता विदेशीसँगको मित्रता देखाउने ग्रुपहरुमार्फत् युरोपेली सदनमा छिर्न नपाउनेलगायतका मुद्दा छन् ।

यस्तै युरोपेली सदनमा तेस्रो मुलुकको मानव अधिकारको सवालमा बोल्दा ५०० शब्दमै कुरा सक्नुपर्ने तर्क पनि उठेको छ । यसबारेमा भने ह्युमेन राइट्स वाचले आपत्ति जनाएको छ । वाचको वेबसाइटमा एक आलेख लेख्दै युरोपका अधिवक्ता क्लबाउडियो फ्रांकाभिल्लाले लेखेका छन्, ‘कतारगेट प्रकरणको गलत प्रतिक्रिया ।’


प्रतिक्रिया

2 thoughts on “धमाधम युरोपका सांसदहरु पक्राउ पार्ने के हो ‘कतारगेट’ प्रकरण ?

  1. कतारले विश्वकप आयोजना गर्ने भनेदेखि नै अमेरिका र युरोपका देशहरू डाहाले मरेका थिए । यी सामन्त लुटेराहरू अरूले उन्नति प्रगती गरेको देखिसक्दैनन । विश्ववमा दादागिरी देखाउँछन् । यि लुटेराहरूले सिकाएका तिनका साँसद पैसामा विक्ने नै भए नि । तर यो सब फण्डा कतारलाई बदनाम गर्न गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *