बालयौन दुर्व्यवहार र मानव बेचबिखनमा मनोज पाण्डे दोषी ठहर, ८ वर्षपछि पीडितले उप्काएकी थिइन् घटना
काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजक मनोज पाण्डे बाल यौन दुर्व्यवहार र मानव बेचबिखनमा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले मंगलबार उक्त फैसला गरेको हो ।
बाल यौन दुर्व्यवहारमा पाण्डेलाई ६ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ती तिर्नुपर्ने सजाय तोकिएको छ । त्यस्तै मानव बेचबिखनको सजाय निर्धारण भने माघ २३ गते हुनेछ ।
काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले तीन वर्षभन्दा बढी सजाय हुने कसुर भएकाले मानव बेचबिखनमा मंगलबार सजाय निर्धारण नभएको बताए ।
पाण्डेले आयोजना गर्ने सुन्दरी प्रतियोगितामा सहभागी युवतीले गत जेठमा सामाजिक सन्जालमार्फत उनिविरुद्ध बोलेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।