आर्थिक आतंकले ट्युनिसियाका युवकले आत्मदाह गर्दा ‘अरब स्प्रिङ्ग’ भयो, नेपालमा के होला ?
काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवारीको लावालस्कर ‘कार्गेड’कै अगाडि इलामका युवा प्रेमप्रसाद आचार्यले आत्मदाह गरे । एक युवा आफ्नै अगाडि आत्मदाहमा हुँदा प्रधानमन्त्रीलाई कार्गेडको प्रोटोकलले रोकिन दिएन । कार्गेडको प्रोटोकलले जस्तै आगोको ‘प्रोटोकल’ले पनि आचार्यले शरीरमा आलो फैलिनबाट रोक्न सकेन । उनको शरीरमा ८० प्रतिशत आगो लागेको अवस्थामा मात्रै उनलाई अस्पताल पुर्याइयो । अस्पताल पुर्याएको २४ घण्टा नपुग्दै आचार्यको ज्यान गयो ।
नेपालमा तिब्बती शरणार्थीको आन्दोलनमा आत्मदाहका प्रयासहरु भएका थिए । २०७० साउन २२ गते मंगलबार एक शरणार्थीको आत्मदाहले ज्यान गएको थियो । चीनको तिब्बतमाथिको कदमको विरोध गरेर शरणार्थीले आत्मदाह गरेका थिए ।
अन्य थप आत्मदाह प्रयासलाई प्रहरीले नियन्त्रण गरेको थियो । मंगलबार देशकै प्रधानमन्त्रीको सवारी लस्कर नजिकै आत्मदाह गरेका आचार्यलाई भने प्रहरीले जोगाउन सकेन । यसले मूलतः दुई कुरा सतहमा ल्याएको छ । एक, नेपालको प्रधामन्त्रीको सुरक्षा प्रोटोकल यति निर्दयी छ कि कुनै नागरिकको ज्यानै जान लाग्दा पनि उसलाई बचाउनभन्दा प्रधानमन्त्रीलाई सवारीमा कुदाउन उद्यत छ । दुई, नेपालमा आर्थिक तनाव मान्छेको ज्यानै लिने स्तरमा पुगेको छ । प्रधानमन्त्री हुनासाथ सरकारले गरेको पहिलो आर्थिक निर्णयहरुले मात्रै हैन मंगलबारको आत्मदाह प्रकरणले पनि देशमा आर्थिक अवस्था विकराल भएको देखाउँछ । मान्छेले आर्थिक पीडाको आगोले जल्नुभन्दा साँच्चिकै आगोले जल्न सजिलो ठान्न थालेका छन् ।
प्रधानमन्त्री हुनासाथ सरकारले गरेको पहिलो आर्थिक निर्णयहरुले मात्रै हैन मंगलबारको आत्मदाह प्रकरणले पनि देशमा आर्थिक अवस्था विकराल भएको देखाउँछ । मान्छेले आर्थिक पीडाको आगोले जल्नुभन्दा साँच्चिकै आगोले जल्न सजिलो ठान्न थालेका छन् ।
आचार्यले सार्वजनिक गरेको आत्मदाह अगाडिको आत्मलापको एक एक अक्षर हेर्दा उनको मृत्युको मुख्य कारण आर्थिक समस्या हो । आर्थिक मन्दी हो । सरकारदेखि कर्मचारीतन्त्रसम्मको आर्थिक पक्षमा भएको खराब कदम र व्यवस्थाको उपज हो । उनले आत्मदाह हुँदै गर्दा कार्गेडबाट आनन्दले यात्रा गरेका प्रधानमन्त्री प्रचण्डलाई समेत सम्बोधन गरेर आफ्नो आत्मलाप लेखेका छन् । उनले भनेका छन्, ‘प्रचण्ड, तिमीले १७ हजार मार्ने गरी जनयुद्ध गर्यौ । देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्यायौ । संविधानसभामार्फत देशमा नयाँ संविधान जारी ग¥यौ । तर, मजस्ता केही गर्छु भन्ने युवालाई देशमा केही गर्नै नसक्ने बनायौं । तिमीलाई थाहा छ ? यदि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापानजस्ता देशहरूले सजिलै नेपालीलाई भिसा दिने भए यो देशमा कोही रहनेछैन । तिम्रो देश खाली हुनेछ । अनि रित्तो देशको प्रधानमन्त्री बन्नू । र, ती १७ हजार सहिदलाई शासन गरेर बस्नु ।’
प्रधानमन्त्री प्रचण्डलाई मात्रै होइन उनले देशका नयाँ पुराना दलका नेताहरुको नामै लिएर आफ्नो आर्थिक तनावले आफैंले ज्यान लिनु परेको कथन सुनाएका छन् । रवि लामिछाने, राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाही, सोविता गौतम, गगन थापा, विश्वप्रकाश शर्मा, योगेश भट्टराई, तोसिमा कार्कीको नामै किटेर भनेका छन्, ‘सरकार बनाउने, मन्त्री हुनेमात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, जनतालाई पिल्साएका मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस्, समाधान गर्नुहोस्’ ।
प्रधानमन्त्री देशी देशका स्थापित अनुहारहरुको नाम लिएर आर्थिक कारणले आत्मदाह गरेका आचार्यका शब्द-शब्दमा यो देशको आर्थिक आतंक कुन तहमा पुगेको छ भन्ने अनुमान गर्न सकिन्छ । तीन महिनाको एड्भान्स तलब दिन सक्ने संस्थाहरुले दुई तीन महिना ढिलो तलब दिनु, समयमै घरभाडा आउनेलाई केही महिना विलम्ब हुनु आर्थिक मन्दीले जनस्तरमा देखिने प्रभाव गरेका केही उदाहरण हुन् । बैंकले सबै प्रक्रिया पूरा गरेर पनि पैसा दिन नसक्नु, देशमै केही गर्न खोज्दा वातावरण र व्यूरोक्रेसीको तनाव हुनु यसका थप प्रमाण हुन् । विदेशमा जान पनि ठाउँठाउँमा हन्डर खानु, संविधानले रोजगारको हक दिए पनि नेपालमा लाखौं बेरोजगार हुनुका कैयौं दुःखहरु सबै आर्थिक कारणकै दुःखहरु हुन् । कसैले धेरै यातना सहेरै जेनतेन जिन्दगी धानिरहेका छन् । कसैले नसकेर आचार्यले जस्तै जिन्दगीलाई अन्त्य गरेका छन् । के थाहा देशको बढ्दो आत्महत्या आँकडामा आचार्यले जस्तै आर्थिक कारणले पो हो कि ? आचार्यले त लेखेर आफ्नो कुरा भने । त्यस्तो भन्न नसकेर आत्महत्या गरेकाहरुका बारेमा कसले खोज्यो? कसले सम्बोधन गर्यो ?
जनता जोडिने अड्डाअदालतमा भ्रष्टाचार, ढिलासुस्तीले जनता गाँजिएका छन् । सोर्सफोर्स र दलको दलबल हुनेहरुले अवसरैअवसर पाएका छन् । आम मान्छेले केही पाएका छैनन् । यो आक्रोश घरघरमा छ । जनजनमा छ । कुनै राम्रो नेतृत्वको एक झिल्कोमात्रै पाएमा यो आन्दोलनको रुपमा आउन सक्छ । यसलाई सत्ताधारीहरुले समयमै उचित सम्बोधन गर्न आवश्यक छ ।
ट्युनिसियामा उठेको आन्दोलन नेपालमा उठ्ला ?
ट्युनिसियाका एक सडक किनारका व्यापारी युवाले प्रहरीबाट पटकपटक दुःख दिएको र भ्रष्टाचार मौलाएको भन्दै सन् २०१० डिसेम्बर १७ (२०६७ पुस २) मा आत्मदाह गरे । आत्मदाह उनले बिहानको साढे एघार बजे गरेका थिए । उनी बिहानै सडक किनारमा दोकान थापिरहेका थिए । नगरपालिकाका अधिकारी आएर उनका सामान खोसेर प्रहरीलाई बुझाए । फाइदा हाम्दी नामका अधिकारीले त उनलाई झापड हाने । उनले तारकातार प्रहरी कार्यालयमा पुगेर अनुनयविनय गर्दा पनि प्रहरीले लगेको सामान दिएन । त्यही आवेगमा आएर उनले प्रज्ज्वलनशील पदार्थ आफ्नो ज्यानमा खन्याएर आत्मदाह गरे । प्रहरी कार्यालय अगाडि नै उनले आत्मदह गरेका थिए ।
मोहमद बौआजिजि नामका ती युवाको आर्थिक कारणको आत्मदाहले ट्युनिसिया आन्दोलनमा होमियो । ट्युनिसियाका राष्ट्रपति बेन अलिले सुरुका केही दिन आन्दोलन दबाउन प्रहरी परिचालन गरे । तर, जनताको आक्रोशसँग उनको कुनै जोरजुलुम चलेन । उनी सपरिवार साउदी अरेबियामा भाग्न बाध्य भए ।
२६ वर्षका युवाको त्यो कदमले अरब र उत्तरी अफ्रिकाका सत्ताका खम्बाहरु हल्लिए । इजिप्ट, बहराइन, यमन, लिवियादेखि सिरियासम्म आन्दोलनहरु भए । कतिपय सत्ताहरु ढले । अरबमा आएको उक्त दशकको आन्दोलन श्रृङ्खला ‘अरब स्प्रिङ्ग’ आउनुमा धेरैले उनै आत्मदाह गर्ने युवालाई जस दिने गर्छन् । २६ वर्षका युवाले आर्थिक आतंकको हद नाघेपछि गरेको आत्मदाहले त्यस्तो आर्थिक अवस्थामा पुर्याउने अरबी र अफ्रिकी सत्ताका हेभिवेटहरु धमाधम ढल्न थाले । अहिले इरानमा भएको आन्दोलनलाई पनि त्यही अरब स्प्रिङ्गको पराकम्प मान्न सकिन्छ ।
नेपालमा पनि बेरोजगार, महँगीदेखि आर्थिक तनावसम्मका विषयमा घरघरमा गुनासाहरु छन् । चोकचोकमा त्यसका गन्थनमन्थनहरु छन् । तर, आर्थिक मुद्दा राजनीतिको अत्यन्तै महत्वपूर्ण मुद्दा बन्न सकेको छैन । आज आम मान्छेले भान्साको भरथेग गर्ने आम्दानी गर्न संघर्ष गर्नुपरेको छ । दक्ष र शिक्षित जनशक्तिले समेत बेरोजगार हुनुपरेको छ । महँगी बढेको बढेयै छ । महँगी अनुपातको आम्दानी बढेको छैन । संघीय संसदमा सांसद ज्ञानेन्द्र शाहीले भने जस्तै ठूलाठालुको मात्रै देश जस्तो भएको छ । जनता जोडिने अड्डाअदालतमा भ्रष्टाचार, ढिलासुस्तीले जनता गाँजिएका छन् । सोर्सफोर्स र दलको दलबल हुनेहरुले अवसरैअवसर पाएका छन् । आम मान्छेले केही पाएका छैनन् । यो आक्रोश घरघरमा छ । जनजनमा छ । कुनै राम्रो नेतृत्वको एक झिल्कोमात्रै पाएमा यो आन्दोलनको रुपमा आउन सक्छ । यसलाई सत्ताधारीहरुले समयमै उचित सम्बोधन गर्न आवश्यक छ । सत्ता गठबन्धनदेखि प्रमुख प्रतिपक्षी दलसम्म सबै सत्ताधारी भएकोले कथं त्यो आक्रोश आइहालेमा डढेलोले सबैलाई छुनेछ ।