राज्यको अनुहारमा कालो पोत्दै एक नागरिकको मृत्युवरण – Nepal Press

राज्यको अनुहारमा कालो पोत्दै एक नागरिकको मृत्युवरण

काठमाडौं । इलामका प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा आगो सल्काएर मृत्युवरण गरेका छन्, त्यो पनि प्रधानमन्त्रीलाई नै साक्षी राखेर । यो एउटा नागरिकको क्षति भएको मामुली घटना होइन, राज्यको अनुहारमा सजिलै नमेटिने गरेर लागेको कालो धब्बा हो ।

बानेश्वरस्थित संसद भवनभित्र यतिवेला नवनिर्वाचित सांसदहरुको उत्साहपूर्ण चहलपहल छ । केही आशालाग्दा अनुहारहरु देश बदल्ने चेष्टा बोकेर नीति निर्माणको यस थलोमा प्रवेश गरेका छन् । उनीहरु सबैलाई झस्काउँदै संसद भवनकै अगाडि आचार्यले आफूलाई डढाउन पुगे ।

विवरणमा ‘आत्मदाह’ तर अन्तर्य यो एउटा ‘शहादत’ हो । यसकारण कि उनले आफू मरेर सिंगै देशलाई झक्झकाउन खोजेका छन् । देशको सत्तापलटका लागि १७ हजारको ज्यान जाने गरी भएको जनयुद्धभन्दा देश ब्युँझाउन प्रेमप्रसादले अरु कसैलाई नोक्सानी नपुर्‍याइकन एक्लैले दिएको यो ‘शहादत’ लाई म महान ठान्छु । राज्य एउटा चिहान होइन भने, सरकार एउटा लाश होइन भने प्रेमप्रसादले उठाएका प्रत्येक प्रश्नको जवाफ खोजिनुपर्छ । सरकार हाँक्नेहरुले फेसबुकमा श्रद्धाञ्जली दिएर वा शोक मनाउन सार्वजनिक बिदा दिएर यो दारुण घटनालाई राफसाफ गर्नसक्ने छैनन् ।

प्रेमप्रसादले आत्मदाहपूर्व फेसबुकमा हालेको करिब ६ हजार शब्दको ‘बकपत्र’ ले यतिवेला सम्पूर्ण देशवासीलाई तरंगित र भावविह्वल बनाइरहेको छ । यो फगत एउटा ‘सुसाइड नोट’ होइन, हाम्रो देशको व्यवसायिक वातावरण कति दूषित छ र काम गरेर खान कति गाह्रो छ भन्ने उदांगो पार्ने ऐतिहासिक दस्तावेज हो ।

हो, जनयुद्धको बलमा देशको शासन व्यवस्था फेरियो । शासकहरु फेरिए । तर, जनताले के पाए ? एउटा सानो झुण्डले मज्जाले ‘उपलब्धि’को तर मारिरहेको छ । हिजो चप्पल पड्काएर हिँड्नेहरु आज प्राडोमा सवार छन् । उनीहरुको झोला बोक्नेहरु पनि फाइदामै छन् । अनि आसेपासे/दलालहरुलाई पनि फलिफाप भएको छ ।

देश बदल्ने सपना देखाएर माओवादीले १० वर्ष लामो जनयुद्ध गरेको थियो । आज त्यही जनयुद्धका कमाण्डर प्रचण्ड देशको सबैभन्दा शक्तिशाली पदमा आसिन छन् । उनी बारम्बार भन्ने गर्छन्- जनयुद्धले नै देशमा ‘यत्रो उपलब्धि’ हासिल भएको छ । उनीसहितका नेताहरुले देशमा भएका राजनीतिक परिवर्तनहरुलाई उनले उपलब्धिका रुपमा चर्चा गर्ने गर्छन् ।

हो, जनयुद्धको बलमा देशको शासन व्यवस्था फेरियो । शासकहरु फेरिए । तर, जनताले के पाए ? एउटा सानो झुण्डले मज्जाले ‘उपलब्धि’को तर मारिरहेको छ । हिजो चप्पल पड्काएर हिँड्नेहरु आज प्राडोमा सवार छन् । उनीहरुको झोला बोक्नेहरु पनि फाइदामै छन् । अनि आसेपासे/दलालहरुलाई पनि फलिफाप भएको छ । तर, बाँकी जनताको हालखबर के छ ? प्रेमप्रसादको बकपत्रले भन्छ- यो देश लुटिखानेहरुका लागि स्वर्ग र गरिखानेहरुका लागि नर्क बनिरहेको छ ।

प्रेमप्रसादले रोजेको बाटो प्रेरणादायी अवश्य छैन । कुनै पनि बहानामा आफैंलाई सिध्याउने निर्णय लिनु दुर्भाग्यपूर्ण हो र यस्तो कार्यलाई प्रोत्साहन गर्नु पनि हुँदैन । तर, आफ्नो निर्णय पछाडिको जुन पृष्ठभूमि उनले सार्वजनिक गरेका छन्, त्यो पढिसकेपश्चात भन्न कर लाग्छ- यहाँ गरिखान सजिलो छैन । देशमै उद्यम गरेर बाँच्न खोज्नेहरुले पाइला–पाइलामा हण्डर खानुपर्छ । विभिन्न भेषमा रहेका लुटेराहरुबाट निमोठिनुपर्छ । गरिखाने वर्गको संरक्षण गर्नुपर्ने सरकारले हो । तर, सरकार स्वयं सबैभन्दा ठूलो लुटेराका रुपमा उभिएको छ । फलतः प्रेमप्रसादले कुनै उपाय देखेनन् र एउटा कठोर निर्णय लिए ।

उनले त्यतिवेला आफ्नो शरीरमा आगो सल्काए, जतिवेला प्रधानमन्त्री प्रचण्ड ‘सवारी’ को लावालस्करसहित संसद भवनबाट निस्किँदै थिए । प्रधानमन्त्रीकै गाडीबाट केही फिट दूरीमा प्रेमप्रसादको जलिरहेको शरीर ढल्यो । तर, उनको सवारीलाई त्यसले केही फरक पारेन । जलिरहेका प्रेमप्रसादलाई हेर्दै नहेरी कार्गेड अगाडि बढ्यो । सडकमा मानिस जलिरहँदा प्रधानमन्त्रीको सवारी निर्वाध चलिरहेको दृश्य गणतन्त्रको एउटा कुरुप बिम्ब हो । यत्रो बलिदानीका साथ देशमा आएको गणतन्त्रका शासकहरु हिजोका ‘राजा’ भन्दा कुन अर्थमा फरक रहेछन् त ?

प्रेमप्रसादले आफ्नो बकपत्रमा व्यक्तिगत जीवनका हण्डर-ठक्कर र दुःखका फेहरिस्तमात्र प्रस्तुत गरेका छैनन्, सरकारलाई देशको व्यवसायिक वातावरण सुधार्न २५ बुँदामा सुझाव दिएका छन् । उनी अर्थशास्त्रका विज्ञ नहोलान् । तर, एउटा भुक्तभोगीका रुपमा, एउटा व्यवसायीका रुपमा उनले दिएका सुझावहरु साँच्चै मननयोग्य छन् ।

आफ्नो बकपत्रमा उनै प्रचण्डलाई सम्बोधन गर्दै प्रेमप्रसादले यस्तो लेखेका छन् :

प्रचण्ड तिमीले १७ हजार मार्ने गरी जनयुद्ध गरेउ। देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्याएउ। संविधानसभामार्फत देशमा नयाँ संविधान जारी गरेउ । तर म जस्ता केही गर्छु भन्ने युवालाइ देशमा केही गर्नै नसक्ने बनायौ। तिमीलाई थाहा छ ? यदि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान जस्ता देशहरुले सजिलै नेपालीलाई भिसा दिने भए यो देशमा कोही रहनेछैन। तिम्रो देश खाली हुनेछ। अनि रित्तो देशको प्रधानमन्त्री बन्नु। र, ती १७ हजार सहिदलाई शासन गरेर बस्नु ।

प्रेमप्रसादका यी पंक्तिहरु कठोर सुनिन्छन् । तर, सत्यको अत्यन्तै नजिक छन् । देशको वास्तविक अवस्था नै यही हो । पटक-पटक क्रान्ति भए, ठूल्ठूला परिवर्तन आए । शासन गर्नेहरु फेरिए । टोल-टोलमा सिंहदरबार पुगेको भनियो । तर, जनताले के पाए ? लुटेर खाने मुठ्ठीभरका लागि देश स्वर्ग भयो । तर, गरिखानेका लागि नर्क । आज एसएलसी पास गरेको हरेक युवा पासपोर्ट बनाउन हतारिन्छ । हुनेखानेहरु युरोप-अमेरिकामा सेटल हुन खोज्छन् । कमजोरहरु खाडीमा पसिना बगाउन । देशभित्र रोजगारी छैन भने स्वरोजगार हुन झनै कठिन छ । नागरिकको आत्मसम्मान रसातलमा पुगेको छ । तर, नेताहरु देशमा यत्रो परिवर्तन ल्यायौं भन्दै जुँगामा ताउ लगाइरहेका छन् ।

प्रेमप्रसादले आफ्नो बकपत्रमा व्यक्तिगत जीवनका हण्डर-ठक्कर र दुःखका फेहरिस्तमात्र प्रस्तुत गरेका छैनन्, सरकारलाई देशको व्यवसायिक वातावरण सुधार्न २५ बुँदामा सुझाव दिएका छन् । उनी अर्थशास्त्रका विज्ञ नहोलान् । तर, एउटा भुक्तभोगीका रुपमा, एउटा व्यवसायीका रुपमा उनले दिएका सुझावहरु साँच्चै मननयोग्य छन् । यी बुँदाहरु कम्तिमा सरकारका नीति-निर्माताहरुबीच छलफलको विषय बन्नुपर्छ ।

अब हेर्नुछ, सरकारले प्रेमप्रसादको ‘शहादत’लाई कसरी रेस्पोन्स गर्छ । कम्तिमा उनका बालबच्चालाई संरक्षण तथा उनले आफ्नो बकपत्रमा आरोपित गरेका व्यक्तिहरुमाथि छानबिन गरी कसुर भेटिएमा कारबाही गर्ने काम गरियो भने पनि प्रेमप्रसादलाई आंशिक न्याय मिल्नेछ । गृहमन्त्री रवि लामिछानेले फेसबुकमा भावुक स्टाटस लेख्दै प्रेमप्रसादको मृत्युमा आफू पनि जिम्मेवार रहेको बताएका छन् ।

प्रेमप्रसादले भने जस्तै उत्पादक वा उद्यमीलाई प्रोत्साहन दिनुपर्ने नीति अहिलेको राष्ट्रिय आवश्यकता हो । तर, यहाँ व्यापारीलाई प्रोत्साहन गरिन्छ । विदेशबाट सामान आयात गरेर टन्न मुनाफा खाएर बेच्नेहरु मालामाल छन् । आफैं उत्पादन गरेर देशभित्र रोजगारी सिर्जना गर्छु भन्नेहरुलाई राज्यबाट कुनै पनि संरक्षण छैन ।

जातीय आरक्षण अन्त्य गरी गरिब किसानलाई पहिचानको परिचयपत्रका आधारमा आरक्षण दिनुपर्ने प्रेमप्रसादको माग अत्यन्त सान्दर्भिक र मननयोग्य छ । भारतसँगको खुला सीमा बन्द गरेर अन-अराइभल भिसा लागू गर्नुपर्नेदेखि गाँजा खेतीलाई वैधानिकता दिएर विश्व बजारमा निर्यातको पहल गर्नुपर्नेसम्मका कुराहरु उनले उठाएका छन् ।

अब हेर्नुछ, सरकारले प्रेमप्रसादको ‘शहादत’लाई कसरी रेस्पोन्स गर्छ । कम्तिमा उनका बालबच्चालाई संरक्षण तथा उनले आफ्नो बकपत्रमा आरोपित गरेका व्यक्तिहरुमाथि छानबिन गरी कसुर भेटिएमा कारबाही गर्ने काम गरियो भने पनि प्रेमप्रसादलाई आंशिक न्याय मिल्नेछ । गृहमन्त्री रवि लामिछानेले फेसबुकमा भावुक स्टाटस लेख्दै प्रेमप्रसादको मृत्युमा आफू पनि जिम्मेवार रहेको बताएका छन् । यदि आफूलाई जिम्मेवार मान्छन् भने अब उनलाई न्याय दिलाउन पहल गर्ने जिम्मेवारी पनि उनले बहन गर्नुपर्छ । काठमाडौंका मेयर बालेन्द्र शाहले प्रेमप्रसादको मृत्युलाई विद्रोहको संज्ञा दिँदै यसको सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन् । यो राज्यको असफलताको संकेत भएको उनको टिप्पणी छ । तर, प्रेमप्रसाद जस्तै आफ्नै इलम गरेर खान खोज्ने मानिसहरुलाई महानगर प्रमुखका रुपमा उनले प्रोत्साहित गरेका छन् कि प्रताडित गरिरहेका छन् ? एकपटक ऐनामा आफ्नो अनुहार हेरुन् ।

सबैभन्दा जिम्मेवार त प्रधानमन्त्री प्रचण्ड हुन्, जसको सामुन्नेमा प्रेमप्रसादले आत्मदाह गरेका थिए । उनले मन्त्रिपरिषद बैठक नै राखेर यो घटनाको समीक्षा गर्नु आवश्यक छ । यस घटनाबारे प्रधानमन्त्रीले सार्वजनिक जवाफ दिर्नुपर्छ । चाहे संसदबाट होस् वा प्रत्यक्ष सम्बोधनबाट ।

प्रेमप्रसादले आफ्नो ऋणबाट भाग्नमात्रै मृत्युवरण रोजेका थिएनन् । उनले जिम्मेवार निकायहरुलाई झक्झकाउन पनि आफ्नो प्राण आहुति दिएका हुन् । उनको ‘शहादत’ यत्तिकै खेर नजाओस् । फेरि कुनै नागरिकले प्रेमप्रसादको नियति भोग्नु नपरोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *