चोर समात्नेलाई पालिकाको दश हजार पुरस्कार, नयाँ मान्छेलाई गाउँ छिर्न निषेध
रुपन्देही । चोरीका घटना बढ्दै गएपछि प्यूठानको गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार पुरस्कारको घोषणा गरेको छ । पुस २५ गतेदेखि जिल्ला तथा पालिकाका विभिन्न ठाउँमा पेशेवर लुटेराहकै शैलीमा लुटपाटका घटनाहरु बढ्दै गएपछि स्थानीयलाई सचेत रहन आग्रह गर्दै गाउँटोलमा परिचय नखुलेका व्यक्तिहरु आउँदा ध्यान दिन गाउँपालिकाले सबैलाई आग्रह गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले सूचना जारी गरेर पालिकामा परिचय नखुलेका आउने घुमन्ते व्यापारीलाई प्रवेश निषेध गरेको जनाएका छन् । घर्तीले शंकास्पद व्यक्ति देखेमा तत्काल जनप्रतिनिधि, प्रहरीलाई खबर गर्न आग्रह गर्दै समूहमा चोरहरुको निगरानी गरी पक्रन सके १० हजार नगद पुरस्कार राखेको जनाएका छन् ।
गाउँटोलको सुरक्षा राख्न सबै क्षेत्रमा गठन भएका संघसंस्था, क्लब, आमा समूह र दलका प्रतिनिधिहरुलाई सकृय रहन पालिकाले आग्रह गरेको छ ।